सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हरायो

बुधबार, १६ फागुन २०८०, २२ : ३६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधवार खेलिएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपाललाई अन्तिम बलमा जितका लागि चार रन आवश्यक थियो । तर, नेपालले एक रन मात्र बनाउन सक्यो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८२ रन मात्र बनाउन सक्यो ।

खेलको अन्त्यतिर दीपेन्द्रसिंह ऐरीले नेपाललाई जितको नजिक पु-याएका थिए । तर, २०औँ ओभरको तेस्रो र चौथो बलमा नेपालले क्रमशः करण केसी र दीपेन्द्रलाई गुमाएपछि नेपाल हारतर्फ उन्मुख भएको थियो । अन्तिम ओभर फाल्न आएका डच बलर रेलोफ भान डर मर्वेले आक्रामक बलिङ गर्दै नेपाललाई जितसम्म पुग्न दिएनन् ।

नेपालका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्रले अर्धशतकीय पाली खेले । उनले ३४ बलमा तीन छक्का र ६ चोकाको मद्दतले ६३ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो आठौँ अर्धशतक हो ।

कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका थिए । उनले ३६ बलमा दुई छक्का र ६ चौका प्रहार गरे । ओपनर आसिफ शेखले पनि टोलीको खातामा ३४ रन थपे । नेदरल्यान्ड्सका बलर मर्वे र साइब्रान्डले दुई–दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लिभेटले अर्धशतकीय पाली खेलेका थिए । उनले ५४ रन बनाएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि टोलीको खातामा अविजित ४९ रन थपेका थिए । उनले केवल ३८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

नेदरल्यान्ड्सले अतिरिक्त रूपमा १३ रन पायो । कप्तान स्कट एडवार्डसले ३३ रन बटुले । तेजा निदामानुरुले पनि टोलीको खातामा ३१ रन थपे । नेपाली टोलीका बलर करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।

नेपालले आफ्नो पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई पहिलो ओभरको चौथो बलमा नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले विकेटकिपर एडवार्डसद्वारा क्याच गराएका थिए ।

नेपालले दोस्रो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ३४ रन बनाउँदै आउट भएका हुन् । पेभेलियन फर्किनुअघि उनले केवल २३ बलमा एक छक्का र चार चौका प्रहार गरेका थिए । उनलाई डच बलर रेलोफ भान डर मर्वेले विकेटकिपर एडवार्डसद्वारा स्टम्पिङ गराएका थिए । ८.१ ओभरमा उनी आउट हुँदा नेपालले ६५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनी सात बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई डच बलर साइब्रान्डले निदामानुरुमार्फत क्याच गराएका थिए । ११.२ ओभरमा उनी आउट हुँदा नेपालले ९७ रन बनाएको थियो ।

नेपाली टोलीले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी अर्धशतक बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भएका थिए । उनलाई साइब्रान्डले विकेटकिपर एडवार्डसद्वारा क्याच गराएका थिए । १२औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले एक सय रन बनाएको थियो । त्यतिबेला नेपाललाई जितका लागि ४८ बलमा ८५ रन आवश्यक थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी आठ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई डच बलर टिम भान डर गगटेनले एलबीडब्लूको धरापमा पारेका थिए । १५औँ ओभरको अन्तिम बलमा सन्दीप आउट हुँदा नेपालले एक सय २५ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । सातौँ नम्बरमा क्रिज समाल्न आएका सोमपाल पहिलो बलमै आउट भएका थिए । उनलाई डच बलर आर्यन दत्तले वेस्ली बारेसीद्वारा क्याच गराएका थिए । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २६ रन बनाएको थियो । सोमपाल आउट भएपछि नेपाली टोली दबाबमा परेको थियो ।

नेपालले सातौँ विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । उनी सात बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनी रन आउट भएका थिए । १९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।

यसैगरी नेपालले आठौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी ६३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई मर्वेले बोल्ड गरेका थिए । १९.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।  

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले पहिलो विकेटका रूपमा ओपनर म्याक्स ओ’डडलाई चार रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट नेपाली बलर करण केसीले लिएका थिए । करणले उनलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । २.१ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले १५ रन बनाएको थियो ।

नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाएका थिए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रूपमा स्कट एडवार्डसलाई गुमाएको थियो । टोलीको कप्तानसमेत रहेका स्कट १६ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले उपलब्ध गराएको बलमा उनलाई विकेटकिपर आसिफ शेखले रन आउट गराएका थिए । १३औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेदरल्यान्डले एक सय २३ रन बनाएको थियो ।  

नेदरल्यान्ड्सले चौथो विकेटका रूपमा तेजा निदामानुरुलाई गुमाएको थियो । उनी रन आउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले केवल २४ बलमा तीन चौकाको मद्दतले ३१ रन बनाएका थिए । उनलाई सन्दीप जोराखले उपलब्ध गराएको बलमा विकेटकिपर आसिफ शेखले रन आउट गरेका थिए । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप