बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीको बेहडाबाबामा आज पुष्प वर्षासहित सवा दुई करोड दीप प्रज्वलन गरिने

शुक्रबार, २५ फागुन २०८०, ११ : ११
शुक्रबार, २५ फागुन २०८०

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज पुष्प वर्षासहित सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ । बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिले महाशिवरात्रिको अवसरमा हेलिकप्टरमार्फत पुष्प वर्षा गरिने बताएको छ ।

बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले पुष्प वर्षासहित दीप प्रज्वलनको तयारी पूरा भएको जनाएको छ । अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिक स्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको बताए ।

अहिले बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड दीप प्रज्वलन गरिने जोशीले बताए । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिसकेको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्विन्टलटल फूलका लागि  दुई लाखसहित जम्मा  १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभन्डारासमेत चलाउने र उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिने बताइएको छ । 

के छ बेहडाबाबाको विशेषता ?

बेहडा बाबा मन्दिर सुदूरपश्चिमको मात्रै नभई मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । जहाँ विभिन्न मनोकांक्षा बोकेर तिर्थालुहरु आउने गरेको स्थानीय बताउँछन् । 

स्थानीय बुद्धिजीवीहरुका अनुसार मन्दिर भएको स्थान घना जङ्गल रहेको स्थान हो । परापूर्वकालमा शिव लिङ्ग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पुजारी तथा बयोबृद्धहरुको भनाइ छ । रामपुर गाउँस्थित जंगलकिनारमा अवस्थित सो मन्दिरमा भएको शिव लिङ्ग परिवर्तनशील देखिएको छ ।

उहिले भारतीयहरूको सो क्षेत्रमा दबदबा थियो । जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाए बापत प्राप्त भएपछि नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भूभागमा उहिलेदेखि भारतीयहरू नै आवतजावत गर्ने गर्थे । त्यस ठाउँमा बाक्लो वन जङ्गल भएका कारण त्यहाँ मानिसहरूको त्यति बसोबास थिएन । मन्दिर नजिक यहाँका आदिवासीहरू बस्दै आएका थिए । भारतीयहरू यहाँ घुम्न आएका बेला सो लिङ्ग फेला पारेका थिए । भारतीयहरू शिव लिङ्गमा डोरीले बाँधेर कयौँ पटक उखेल्न प्रयास गरेको बताइन्छ । तर उनीहरूको प्रयास असफल भएपछि फलामको घनले हिर्काएको बताइन्छ । घनले हिर्काएको छाप अहिले पनि लिङ्गको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । उनीहरू लिङ्गलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत)मा लग्ने लाख प्रयास गर्दा पनि लिङ्ग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।

बेहडा बाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चौकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप