शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डविरुद्ध भारतको उत्कृष्ट ब्याटिङ : रोहित शर्मा र सुभमन गिलको शतक

शुक्रबार, २५ फागुन २०८०, १२ : ०४
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले पालीको गतिलो सुरुआत गरेको छ । पहिलो पालीमा इङ्ल्यान्डलाई सस्तैमा समेटेको भारतले दोस्रो दिन शुक्रबारको खाना समयसम्म केवल एक विकेट गुमाएर दुई सय ६४ रन बनाइसकेको छ ।

भारतका लागि कप्तान रोहित शर्मा र तेस्रो नम्बरका ब्याट्सम्यान सुभमन गिलले खाना समयअघि नै शतक बनाएका छन् । कप्तान रोहित एक सय दुई रन बनाउँदै क्रिजमा छन् । उनले एक सय ६० बलको सामना गरी तीन छक्का र १३ चौका हिर्काएका छन् ।

३७औँ वर्ष प्रवेशको सँघारमा रहेका रोहितले टेस्ट क्रिकेटमा बनाएको यो १२औँ शतक हो । २४ वर्षीय गिलले भने टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक हो । उनी एक सय एक रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । एक सय ४२ बलको सामना गरेका गिलले पाँच छक्का र १९ चौका हिर्काएका छन् ।

भारतले पहिलो विकेटका रुपमा ओपनर यशस्वी जैसवाललाई गुमाएको थियो । उनी ५७ रन बनाउँदै आउट भएका थिए । २०.४ ओभरमा जैसवाल आउट हुँदा भारतले एक सय चार रन बनाएको थियो । त्यसपछि रोहित शर्मा र सुभमन गिलले टोलीको स्कोरलाई अहिलेको स्थितिसम्म पु¥याएका हुन् ।

जैसवालको विकेट इङ्ल्यान्डका बलर सोएब बसिरले लिएका थिए । त्यसअघि पहिलो दिन बिहीबार दुबै टोलीको गरी कुल ११ विकेट खसेको छ । टस जिती पहिले पहिले ब्याटिङ रोजेको इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा केवल दुई सय १८ रन बनाउँदै अलआउट भएको थियो ।

इङ्ल्यान्डका लागि ओपनर ज्याक क्रावलीले ७९ रन बनाएका थिए । जोनी ब्रेस्टाले २९ रन जोडेका थिए । टेस्ट क्रिकेटमा यो उनको एक सयौँ खेल हो । भारतका बलर कुलदीप यादबले पाँच विकेट लिएका थिए । रविचन्द्रन आश्विनले पनि चार विकेट हात पारेका थिए । आविश्वनको पनि यो एक सयौँ टेस्ट हो । पाँच टेस्टको शृंखलामा भारत ३–१ ले अगाडि छ । पाँचौँ टेस्ट धर्मशालामा खेलिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप