सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बराबरीमा टुंगियो लिभरपुल र सिटीको भिडन्त

सोमबार, २८ फागुन २०८०, ०६ : १५
सोमबार, २८ फागुन २०८०

एनफिल्ड । प्रतिस्पर्धात्मक खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ । आइतबार दुई उपाधि दाबेदारबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

खेलको २३ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै लिभरपुलले पेनाल्टी पायो । त्यसलाई एलेक्सिस म्याक एलिस्टरले गोलमा परिणत गर्दै खेल बराबरी गरे । लिगमा उनले प्रहार गरेका १० मध्ये ९ पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएका छन् ।

त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । लिभरपुलका लुइस डियाजले गोलको सुन्दर अवसर गुमाएका थिए भने उता सिटीका फिल फोडेनको प्रयास गोलकिपर कोइमहिन केलेहरले विफल बनाएका थिए ।

२८ खेलपछि लिभरपुलको ६४ अङ्क रहेको छ । टोली गोलअन्तरको आधारमा लिगमा दोस्रो स्थानमा छ । ६३ अङ्कसहित सिटी तेस्रो स्थानमा छ ।

आइतबार नै भएका अन्य खेलमा पाँचौँ स्थानमा रहेको टोटनह्यामले चौथो स्थानको एस्टन भिल्लालाई ४–० गोलले हरायो । ब्राइटनले नटिङह्याम फरेस्टलाई १–० ले पराजित गर्दा वेस्ट ह्याम र बर्नलीले २–२ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप