शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आर्मीको लगातार तेस्रो जित, कोशी प्रदेशलाई पाँच विकेटले हरायो

मङ्गलबार, २९ फागुन २०८०, १४ : ३५
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता’ को मंगलबार खेलिएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई पाँच विकेटले हराएको हो ।

विराटनगरमा जारी उक्त प्रतियोगिताको मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफमा आर्मी क्लबले १८.४ ओभरमा पाँच विकेट गुमाएर एक सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

जारी प्रतियोगितामा आर्मी क्लबको यो लगातार तेस्रो जित हो । हालसम्म चार खेल खेलेको कोशी प्रदेशको भने तेस्रो हार हो । एक खेलमा कोशी प्रदेश विजयी भएको थियो ।  

आर्मी क्लबको जितमा तृतराज दासले ३५ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ३२ बलमा दुई छक्का र चार चौका हिर्काए । ओपनर सन्तोष कार्कीले पनि २४ रन बनाए । उनले ३४ बलमा एक छक्का प्रहार गरे । 

अर्का ओपनर इमरान शेखले १५ रन जोडे । सन्दीप रजालीले पनि १४ रन बनाए । तुल थापा १८ रनमा अविजित रहे । सुमित श्रेष्ठले पनि अविजित ११ रन बनाए । कोशी प्रदेशका बलर ज्ञानेन्द्र श्रेष्ठ र श्रवण यादबले दुई-दुई विकेट लिए । अभ्यास तिमिसिनाले एक विकेट हात पारे । 

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि तल्लो क्रमका ब्याट्सम्यानहरुले महत्वपूणर् योगदान गरेका थिए । सातौँ नम्बरका ब्याट्सम्यान दिपेश कँडेलले अविजित ४० रन बनाएका थिए । उनले ३६ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । 

श्रवण यादबले पनि टोलीको खातामा अविजित २९ रन थपेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले १४ बलको सामना गरी पाँच चौका हिर्काए । त्यसअघि छैटौँ नम्बरका ब्याट्सम्यान अनिल लामिछानेले २१ बलमा एक छक्का र एक चौकाको मद्दतले २१ रन बनाएका थिए ।

कोशी प्रदेशका माथिल्लो क्रममा ब्याट्सम्यान भने एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । ओपनर भुपाल दंगाल सात रनमै आउट भए भने कप्तानसमेत रहेका अर्का ओपनर अंकित सुवेदीले त खातासम्म खोल्न सकेनन् । 

तेस्रो नम्बरका ब्याट्सम्यान मिनाष थापा पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । सुजन थपलियाले टोलीको खातामा १४ रन थपे । विकेटकिपर ब्याट्सम्यान सोनु अन्सारी दुई रनमै पेभेलियन फर्किए । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो । 

आर्मी क्लबका बलर तृतराज दास र पवन कार्कीले दुई-दुई विकेट लिए । पवनले चार ओभरमा एक मेडन राख्दै ६ रन खर्चिए । तृतराजले भने चार ओभरमा ३० रन दिएका थिए । साहब आलम र नितेश पटेलले पनि एक-एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप