सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नेसपा विवाद

बाबुराम पुत्री मानुषीले खुट्ट्याइन् माओवादीसँग एकता नहुनुको दुई कारण

‘पार्टीभित्रकै नेताहरू पदमुखी र व्यक्तिमुखी भएपछि पार्टीभित्र गडबड सुरू भयो’
बिहीबार, ०१ चैत २०८०, २० : १४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)भित्र अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव पक्षधर नेताहरू बिचको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रसँग पार्टी एकताको विषयलाई लिएर सुरु भएको विवाद बिहीबारसम्म आइपुग्दा एक अर्काप्रति आरोप–प्रत्यारोपमा पुगेको छ ।

अध्यक्ष भट्टराईले आफूसँग कुनै सल्लाह नगरी बैठक बोलाएको महिन्द्र पक्षका नेता एवं महासचिव रमेशप्रसाद यादवको आरोप छ । यादवले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै बैठक स्थगित नभए बहिष्कार गर्ने चेतावनी दिए ।

उता बाबुराम पक्षका नेता एवं केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले माओवादीमा प्रवेश गर्ने र पार्टीलाई बिसर्जन गर्ने उद्देश्यले बहाना बनाएको आरोप लगाए । महासचिव यादवले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको भन्दै उनले चैत ४ गते केन्द्रीय कार्यकारिणी र ५ गते केन्द्रीय समिति बैठक बस्ने बताए ।

नेसपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला केन्द्रीय कार्यकारिणी सदस्य एवं भट्टराई पुत्री मानुषी यमिले सबै कार्यकारिणी सदस्यहरूको उपस्थितिमा बैठक बोलाइएको दाबी गरिन् । महिन्द्र पक्षले निकालेका विज्ञप्ति बैठक टार्ने बाहानाबाजी भएको उनको आरोप छ ।

‘कार्यकारिणी सदस्यहरू बसेर बैठक तय गरेको हो । जसमा महिन्द्र, गंगा आफै उपस्थित हुनुहुन्थ्यो । रमेशजी आफैँ सञ्चो भएन भनेर आउनु भएन । गंगाजीले फुर्सद छैन, बैठक ३ गतेपछि राखौँ भन्दै हुनुहुन्थ्यो । उहाँकै सल्लाह अनुसार चैत ४ र ५ गते बैठक राखेको हो । यो बाहनाबाजी बाहेक केही होइन । सबै झुट हो । हामी आफैँ साक्षी छौँ’, उनले भनिन् । 

सांगठनिक अभियान चलाउन र महाधिवेशनको तयारी गर्न केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठक बोलाइएको यमिले बताइन् । साथै माओवादीसँग एकता गर्ने विषय दुई पार्टीबाट हुने निर्णय भएकाले आफूहरू एकता विरोधी नभएको उनले बताइन् ।

‘एकताको विषय दुई पार्टीबाट हुने निर्णय हो । हाम्रो तर्फबाट सबै भइसक्यो । कमिटी बनिसक्यो । एकताका आधारका लागि पत्राचार भइसक्यो । त्यसमा कुनै विवादै होइन । हामी एकता विरोधी होइन’, बैठक बोलाउनुको कारण खुलाउँदै उनले भनिन्, ‘यो बैठक सांगठनिक अभियान चलाउन हो । अर्को, फागुनभित्र हामीले महाधिवेशन गर्नुपर्ने थियो, त्यो हामीले गर्न नसकेर एक वर्ष समय सारेका छौँ । त्यो संशोधन भएपछि महाधिवेशन केन्द्रित हुन बैठक बोलाइएको हो ।’

भट्टराईलाई एकता विरोधीका रूपमा चित्रण गरिएकोमा उनले गुनासो पोखिन् । बाबुरामले त्याग गरेर नै प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेको जिकिर गर्दै उनले त्यस्तो व्यक्ति कसरी एकता विरोधी भए भनेर प्रश्न गरिन् ।

‘एकताको पक्षधर भएर नै बाबुरामले त्यत्रो त्याग गरेको हो । आफ्नो निर्वाचन क्षेत्र दिने भन्ने कुरा कुनै नेताले गर्न सक्छ ? कसैले गरेको छ ? गर्न सक्ने जति काम उहाँले गर्नुभएको छ । रुपान्तरण सहितको एकता उहाँले चाहेको हो । एकता विरोधी होइन’, उनले भनिन् ।

निर्वाचनअघि माओवादी नेतृत्वले नै सबै रूपान्तरण हुनुपर्छ, अब फरक ढङ्गले अगाडि बढ्नुपर्छ भनिसकेपछि बाबुरामले सकारात्मक रूपमा ग्रहण गरेको उनले बताइन् । ‘त्यतिबेला माओवादी नेतृत्वले नै अब फरक ढङ्गले जानुपर्छ, यथास्थितिमा कम्युनिस्ट पार्टी चल्न सक्दैन भन्नुभएपछि बाबुरामले सकारात्मक रूपमा लिनुभएको हो । निर्वाचन क्षेत्रसमेत छोड्ने गरी उहाँले प्रचण्डलाई सहयोग गरेको हो’, उनले भनिन्, ‘टीआरसी, शान्ति प्रक्रिया र समृद्धिको एजेण्डामा सहयोग गर्नुपर्छ भनेर त्यत्रो त्याग गरेको मान्छेलाई एकतर्फी एकता विरोधी भन्नु आत्मकेन्द्रित बाहेक केही होइन ।’

यस्तै माओवादीसँग पार्टी एकता नहुनुमा उनले दुई वटा विषय औँल्याएकी छन् । पहिलो निर्वाचनअघि रूपान्तरणसहितको एकता र ध्रुवीकरणमा जाने माओवादीका नेताहरू निर्वाचनपछि कमजोर भएको निष्कर्ष छ । दोस्रो, बाबुराम बाहेक एकता गर्दा गर्दा आफ्नो भविष्य सुरक्षित देख्ने प्रवृत्तिले एकता हुन ढिलाइ भएको उनको निष्कर्ष छ ।

‘निर्वाचनअघि माओवादीमा रूपान्तरण सहितको एकता र ध्रुवीकरणमा जाने धार बलियो र क्लियर थियो । चुनावपछि सत्तामुखी धार बलियो हुँदै गयो । रूपान्तरण सहितको एकता गर्ने धार निकै कमजोर हुँदै गएको देखियो । पहिलो कुरा यही हो जस्तो लाग्छ,’ यमिले भनिन् ।

दोस्रो, बाबुराम बेगरको एकता गर्दा नेसपा कमजोर बनाउन सकिन्छ भन्ने कतिपयलाई लागेको हुन सक्ने उनको भनाइ छ । उनले भनिन्, ‘यसमा हाम्रै पार्टीकै कतिपय नेतालाई पनि बाबुराम बेगरको एकता गर्दा व्यक्तिगत भविष्य सुनिश्चित हुने लागेको हुन सक्छ । एकदम व्यक्तिवादी क्याल्कुकेसन गरेको जस्तो लाग्छ । मेरो विचारका एकता नहुनुमा यही दुई कारण होला जस्तो लाग्छ ।’

सत्तामा पुगेपछि पार्टीभित्रकै नेताहरू पदमुखी र व्यक्तिमुखी भएपछि गडबड सुरू भएको यमिको बुझाइ छ । गत वर्ष पार्टी एकता गर्ने गरी नेसपाले माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचनपछि माओवादीले समाजवादी मोर्चा गठन र पार्टी एकताको विषयमा आफूहरूलाई बाइपास गर्न खोजिएको बुझाइ बाबुराम पक्षको छ । एकताका लागि गत वर्ष चैत ३ गते माओवादीलाई पत्राचार गरे पनि त्यसको बेवास्ता गरिएको भट्टराई पक्षका नेताहरूको गुनासो छ ।

गत मंसिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्न भट्टराईकै नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । तर त्यसलाई माओवादीले महत्त्व नदिएकोमा भट्टराईले असन्तुष्टि पोख्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप