सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कार्की नेतृत्वको सरकार अल्पमतमा परिसक्यो, राजीनामा दिनुपर्छ : एमाले

शुक्रबार, ०२ चैत २०८०, १२ : ४४
शुक्रबार, ०२ चैत २०८०

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको छ ।  एमाले दलको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले सरकारबाट राजीनामा दिन आलटाल गरे आफूहरूले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए । 

‘यो सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसक्यो । अहिले नै राजीनामा दिँदा हुन्छ । राजीनामा नदिने हो भने सत्ता पक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा देखिने छ । त्यस्तो अवस्थामा एक मिनेटमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन । त्यो भन्दा अगाडि नै सभामुखमार्फत तपाई अल्पमतमा पर्नुभयो भन्ने सूचना प्राप्त गरेसँगै राजीनामा दिनुपर्छ,’ भण्डारीले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्‍यो । यदि प्रक्रियामा पनि नगएर जबरजस्ती गर्न खोज्नुभयो भने संविधानको सर्वोच्चता, सर्वोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौँ ।’

यद्यपि त्यो प्रक्रिया र विधि के हुने भन्ने विषयमा भने उनले प्रतिक्रिया दिएनन् । उनले सङ्घीय सरकारको गठबन्धनको आधारमा बहुमत पाइरहेको र अहिले गठबन्धन भत्किए र अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की विरुद्धमा ५८ मत पुगिसकेको दाबी गरे । आफूहरूले ढिलो गरेको कारण प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयका टुङ्गो नलागेको कारण भएको उनले सुनाए । 

‘सम्भवतः आज वा भोली केन्द्रबाट टुङ्गो लाग्ने बित्तिकै प्रक्रिया अगाडि बढ्छ । माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिनुहोला र उहाँहरूले छोडेको २४ घण्टा भित्रमा हामीले आफ्नो स्टेप चाल्छौँ । त्यसपछि राजीनामा दिँदा पनि उहाँले अप्ठ्यारो गरी राजीनामा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने । त्यो गैर कानुनी नहुने यही संविधानको धारामा टेकेर, संसद्को प्रदेशसभा नियमावली, सर्वोच्च अदालतको व्याख्या अनुसार नै प्रक्रिया अगाडि बढाउने भण्डारीले बताए । 

आफ्नो पक्ष सर्वोच्च अदालतमा नजाने उनले बताए । उनले गठबन्धनले आफूहरूलाई नयाँ सरकार बनाउनका लागि नीतिगत निर्देशन दिने पनि बताए । ‘फलानालाई मुख्यमन्त्री बनाउँ, फलानोलाई मन्त्री बना भनेर गठबन्धनले भन्दैन । गठबन्धनले हाम्रो समीकरण अनुसार सरकार बन्ने भयो भनेर नीतिगत निर्णय गर्छ र प्रदेशलाई निर्देशन दिन्छ । त्यहीअनुसार अगाडि बढ्छ,’ भण्डारीले भने, ‘सरकार एमालेकै हुनुपर्छ भनेर हामीले दाबी गरेका छैनौँ । सहमति गरेर अगाडि बढ्न सक्छ ।’

उनले सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की  मुख्यमन्त्री बन्ने उनले बताए । हिक्मत कार्की मुख्यमन्त्री बन्न नसक्ने भनेर प्रकाशित समाचारहरूमा सत्यता नभएको उनले बताए । उनले प्रदेश प्रमुखले चाहेमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि सरकार बन्न सक्ने वा कुनै दलहरू एक भएर बहुमत सिद्ध गर्न सके संविधानको धारा १६८ को उपधारा (१) बाट पनि सरकार बन्न सक्ने उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप