शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘तबलामा दाम र करिअर दुवै छ’

शनिबार, ०३ चैत २०८०, १४ : २०
शनिबार, ०३ चैत २०८०

‘रुन्छ्यौ आमा धर्धरी जहिले नि,
के भयो खै भन्दिनौ कहिले नि,
भन्नु नभाको, 

आमा ! रातो सारी चुरा पोते किन नलाको’

गीता देवी र दिनेश काफ्लेले गााएको यो गीत २०६० सालतिर निकै चलेको थियो, यही गीतमा तबला बजाएर भुवन गन्धर्वले तबला वादकको यात्रा सुरु गरेका हुन् । प्रसिद्ध सारङ्गीवादक जङ्गबहादुर गन्धर्वका छोरा भुवनले स्कुले जीवनदेखि सिक्न तबला थालेका थिए । उनलाई गीतमा तबला बजाउने पहिलो अवसर सङ्गीतकार बीबी अनुरागीले दिएका हुन् ।

उपर्युक्त गीत रेकर्डिङका लागि सङ्गीतकार अनुरागी एक तबला वादकको प्रतीक्षामा थिए । भुवन त्यतिबेला ६ कक्षामा पढ्थे । बाबुसँग स्टुडियो पुगिरहने उनी अनुरागीसँग परिचित थिए । तबला वादकको अभावले छटपटिएका अनुरागीलाई उनले भने, ‘तबला म बजाउँछु नि !’

भुवनले त्यसअघि तबला बजाएको अनुरागीले देखेका र सुनेका थिएनन् । अर्काे विकल्प नभएकाले अनुरागीले उनलाई भने, एकपटक बजाऊ त । ‘त्यो समय मैले राम्रोसँग तबला बजाएँ । अनुरागी मप्रति प्रभावित हुँदै गीत रेकर्ड गराए,’ भुवन भन्छन्, ‘मैले तबला बजाएको भन्नु नभाको गीत हिट भयो । त्यसपछि मलाई तबलाको भूत सवार भयो । त्यसपछि कपुरधारामा न्युछँे डंगोलसँग मादल र नेपाल सङ्गीत विद्यालयमा तबला सिक्न थालेँ ।’ 

नेपाल सङ्गीत विद्यालयमा प्रशिक्षणका लागि उनले स्कलरसिप पाएका थिए, सङ्गीतकार शुुभबहादुर सुनामले उनलाई यो अवसर दिएका थिए । 

२०६० सालमा सुरु भएको उनको तबला वादकको यात्रा निरन्तर चलिरहेको छ । उनी अहिले दैनिक दुईदेखि ६ वटा गीतमा तबला बजाउँछन् ।

‘भन्नु नभाको’ पछि उनले राजु परियारले गाएको ‘रुमाल धोको छु’ बोलको गीतमा तबला बजाए । यो पनि हिट भयो । त्यसपछि उनले तबला वादकका यात्रामा पछि फर्केर हेर्नुपरेको छैन । उनी अहिले फिल्म, लोक, आधुनिक, गजल, पप, भजनलगायतमा तबला बजाउँछन् । सबै थरीका गरेर अहिलेसम्म २२ हजारभन्दा बढी गीतमा उनले तबला बजाइसकेका छन् । ‘माया बसेछ’, ‘हिम्मतवाली’, ‘तथास्तु’, ‘लुट’, ‘छक्का पन्जा’, ‘जात्रा’देखि गोर्खा वारियार’सम्मका गीतमा उनले तबला बजाएका छन् ।

लोकगीत ‘सालको पात टपरी हुने’देखि प्रकाश सपुतको ‘सकम्बरी’ सबैमा उनी छन् । काठमाडौँका अधिकांश स्टुडियो, सङ्गीतकार, गायक, गायिकाको सिर्जनामा उनको तबलाको ताल रहेको छ । उनले आशा भोसले, सञ्जीवनी, साधना सरगमजस्ता भारतीय गायिकाको गीतमा पनि ताल दिएका छन् । 

bhuwan gandarva (2)

  • बाबुको सारङ्गीमा ताल दिन भुवनले तबला सिके

उनका बुबाले सारङ्गीमा एउटा नयाँ इतिहास लेखेका छन् । गीत–सङ्गीत रेकर्डिङमा सारङ्गी भर्ने कार्यको सूत्रधार जङ्गबहादुर नै हुन् । जङ्गबहादुरले अलइन्डिया रेडियोदेखि भारतीय गीतमा समेत सारङ्गी भर्थे । घरमै प्रसिद्ध सारङ्गी वादक हुँदाहुँदै भुवनले तबला किन रोजे ? ‘बुबाले बेलाबेला सारङ्गी बजाएर घरको माहोल सङ्गीतमय बनाउँदै बालपनका याद खोतल्नुहुन्थ्यो । त्यो समय सुर त हुन्थ्यो, ताल (तबला)को अभाव थियो,’ उनी भन्छन्, ‘बुबा जहिले पनि यो सुरमा एउटा ताल भर्ने मानिस भए कति राम्रो हुन्थ्यो भन्नुहुन्थ्यो । बुबाको कुराले मेरो मन छोयो अनि म तबलातिर लागेँ ।’

तबला सिकाउने गुरुहरूले समेत उनलाई भन्ने गर्थे— घरमा सारङ्गीका महासागर छन्, त्यही नसिकेर किन यहाँ तबला सिक्न आएको ! बाबुकै प्रेरणाले तबलातिर लागेका भुवन अहिले सन्तुष्ट छन् ।

  • तबलाको महत्त्व

गीत जुन शैलीको भए पनि तबला अनिवार्य छ । त्यसैले तबलालाई सङ्गीतको मेरुदण्ड भन्ने गरिन्छ । मानिसको मुटुमा धड्कनको महत्त्वजस्तो सङ्गीतमा तबलाको रहेको भुवन बताउँछन् । ‘तबला सङ्गीतको ब्याकबोन हो,’ उनी भन्छन्, ‘गीतलाई कुन लयमा लैजाने भन्ने तबलामा हुन्छ । तबलाबिना गीत अधुरो रहन्छ ।’

bhuwan gandarva (1)

पछिल्लो समय भित्रिएको डिजिटल किबोर्ड प्राविधिकका लागि चुनौती मानिन्छ । उनको बुझाइमा किबोर्डले तबलालाई कहिल्यै विस्थापित गर्न सक्दैन । ‘रियल तबलाबाट निस्कने ताल किबोर्डबाट कहिल्यै हुँदैन,’ उनी भन्छन्, ‘बलिउडमा अहिले एउटै गीतमा ५ देखि १० जनाले तबला बजाउन थालेका छन् । तब पो सङ्गीत धेरै अगाडि छ ।’

गीत–सङ्गीतमा स्वरका लागि अहिले धेरै प्रविधि भित्रिएको छ । स्वर राम्रो नभएकाहरूले पनि प्रविधिको प्रयोग गरी गाउन सक्छन् । ‘तबलाका लागि प्रविधिले काम गर्दैन । साधना नै चाहिन्छ,’ भुवन भन्छन्, ‘पहिले म पाँचदेखि सात घन्टा एकै ठाउँमा बसेर साधना गर्थें । अहिले दुई–तीन घन्टा नियमित गर्छु ।’ 

अचेल उनी कहिले बिहान ८ बजेदेखि साँझ ९ बजेसम्म गीत रेकर्डिङमै रहनुपर्छ । यो समय नियमित साधना छुट्ने उनी सुनाउँछन् । 

bhuwan gandarva (2)

  • ‘तबलामा दाम र करिअर दुवै छ’

तबला वादन प्राविधिक काम हो । प्राविधिक सधैँ ओझेलमा हुन्छन् । त्यसैले त प्राविधिकलाई पर्दा पछाडिका हिरो भनिन्छ । यसमा दाम छ, नाम छैन । भुवनको दुखेसो यही हो । काम गरे पनि नाम पनि हुनुपर्छ, नाम भए देश–विदेशबाट काम बढ्छ ।

‘काम गरिरहेकाले चिन्छन् नै बाहिरबाट पनि चिनिनु जरुरी छ,’ उनले भने, ‘त्यसले पो यो पेसाप्रति मानिसको परिस्थिति बाक्लिन्छ ।’ 

भुवनका बाबुले सारङ्गीमा जीवन बिताएका हुन् । उनी तबलामै बिताउन चाहन्छन् । किनभने यो सधैँ रहने विधामा पर्छ । ‘मसँग आएका धेरै गायक–गायिका पलायन भइसके । म यसैमा छु,’ उनले भने ।

bhuwan gandarva (1)

तबला वादनको आफ्नो बिँडो छोराले थामोस् भन्ने उनको इच्छा छ । त्यसैले उनले १० वर्षका छोरालाई अहिलेदेखि नै उनले तबलासँग खेल्न सिकाइसके । आफू भएकाले आफ्नोजस्तो सङ्घर्ष छोराले गर्नुनपर्ने उनको बुझाइ हो । उनी छोराका लागि मात्र होइन, अन्यका लागि तबला रोज्न अनुरोध गर्छन् । भन्छन्, ‘यसमा दाम र करिअर दुवै छ ।’

तबलामै दुई दशक कटाएका उनको सङ्गीतमा एउटा सपना छ— नेपालका रिदेमिक सम्पूर्ण बाजामाथि अकेस्ट्रा बनाउने । उनी तबलाका अलाबा मादल, ढोलक, नेवारी खिँ, मारुनी मादल, कङ्गो, डफली, बङ्गलोलगायत ताल दिने २० थरीका बाजा बजाउँछन् । 

पछिल्लो समय सङ्गीतको बजार दिन प्रतिदिन धराशायी हुँदै गएको छ । यसैले उनको चिन्ता छ, ‘अबको २० वर्ष कसरी टिक्ने ?’ 

दाङ घोराही स्थायी घर भएका उनी लामो समयदेखि काठमाडौँ बस्दै आएका छन् । गाउँमा केही जग्गा–जमिन जोड्न समेत सफल छन् । बिस्तारै काठमाडाँैमा घर जोड्ने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप