शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपअघि क्रिकेटको नियममा परिवर्तन

आइतबार, ०४ चैत २०८०, १० : ४८
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । आगामी जुनमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौ संस्करण आयोजना हुँदैछ । अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम लागू हुने भएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय, टी–२० अन्तर्राष्ट्रिय लगायतका सिमित ओभरका प्रतियोगितामा नयाँ नियम लागू गरिने समाचारमा जनाइएको छ । हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले यस्तो निर्णय लिएको हो ।

आगामी जुन १ तारिखदेखि नयाँ नियम लागू भएपछि सिमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरले घडीको ब्यापक प्रयोग गर्नेछन् । प्रत्येक ओभरको समाप्तिपछि फिल्डिङ गर्ने पक्षले अर्को ओभर सुरु गर्न ६० सेकेन्डको समय पाउँछ ।

तर, फिल्डिङ गर्ने टोलीले पहिलो ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर बलिङ नगरे अम्पायरले दुईपटक चेतावनी दिनेछन् । दुईपटक चेतावनी दिँदा पनि फिल्डिङ गर्ने पक्षले त्यही गल्ति दोहो¥याए जरिवानाका रुपमा पाँच रन कटौती गरिने छ ।

यस्तो नियम लागू भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्येक खेलमा कम्तिमा २० मिनेट समय जोडिने विश्वास आईसीसीले लिएको छ । सन् २०२३ मा वेस्ट इन्डिज र इङ्ल्यान्डबिच भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यो नियम परीक्षणको रुपमा प्रयोगमा ल्याइएको थियो ।

यसैगरी आईसीसीको बैठकमा विश्वभर निरन्तर बढिरहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विषयमा पनि गम्भिर छलफल भएको बताइएको छ । यसरी फ्रेन्चाइज प्रतियोगिता बढ्दा द्विपक्षीय शृंखलाहरु प्रभावित बन्दै गएको निश्कर्ष बैठकले निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप