शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश नयाँ समीकरण

नेमकिपा गठबन्धनसँग नजिकिँदा बागमतीमा नयाँ सरकार बनाउने कांग्रेसको योजनामा धक्का

बिहीबार, ०८ चैत २०८०, १५ : ५१
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बागमती प्रदेशमा एमाले नेतृत्वको वर्तमान सत्ता गठबन्धनलाई साथ दिन लचक देखिएको छ । नेमकिपाले गठबन्धनलाई साथ दिए नयाँ सरकार बनाउने कांग्रेसको रणनीतिमा धक्का लाग्ने निश्चित छ । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ । गठबन्धनसँग प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ गरी ५५ सांसद छन् ।

जसअनुसार गठबन्धनलाई सरकार टिकाउन एक सांसद अपुग हुन्छ ।  प्रदेशसभामा तीन सांसद रहेको नेमकिपाले सहयोग गर्दा गठबन्धनलाई सरकार टिकाउन र बनाउन राहत मिल्ने छ । नयाँ समीकरण बनेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाली पार्टीले सत्ता गठबन्धनलाई समर्थन नगर्ने संकेत दिएपछि कांग्रेसले आन्तरिक छलफल तीव्र पार्दै आएको छ। संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका शालिकराम जम्कट्टेललाई सत्ताच्युत गरेर नयाँ सरकार बनाउने रणनीतिमा कांग्रेस रहेको छ । 

अर्थात् कांग्रेसले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मतमा विफल पार्ने र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको पहिलो दलको हैसियतमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रणनीति लिँदै आएको हो ।

सोही अनुसार १३ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, २ सांसद रहेको हाम्रो नेपाली पार्टी लगायतको वैकल्पिक गठबन्धन बनाउने गरी कांग्रेसले छलफल चलाउँदै आए पनि नेमकिपाले सत्ता गठबन्धनलाई नै साथ दिने अवस्था बनेसँगै कांग्रेसलाई धक्का लाग्ने देखिएको हो । बागमती कांग्रेसमा संसदीय दलको नेता बहादुर सिंह लामा रहेका छन् । 

कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नेमकिपा गठबन्धनलाई समर्थन गर्ने पक्षमा देखिएको बताए । उनले भने, ‘नेमकिपाले सरकारमा नगइकन गठबन्धनलाई समर्थन गरिदिँदा बहुमत पुग्छ । नेमकिपाले समर्थन गर्ने सम्भावना बढेको छ ।’

नेमकिपासँग आफूहरुले कुरा गर्दा गठबन्धनलाई सरकार बाहिर बसेर समर्थन गर्ने संकेत दिएको बानियाँले बताए । ‘यी (एमाले, माओवादी, एकीकृत समाजवादी) नक्कली कम्युनिस्ट हुन् । नक्कली कम्युनिस्टलाई सक्कली कम्युनिस्ट बनाउन सकिन्छ कि भनेर समर्थन दिएर सरकारभन्दा बाहिर बस्ने हो भन्ने उहाँहरूको कुरा छ,’ सभापति बानियाँले भने । मुख्यमन्त्री जम्कट्टेलले पनि नेमकिपाको समर्थन जुटाउन छलफल भइरहेको बताए ।

उनले भने, ‘नेमकिपासँग हामीले समर्थनका लागि छलफल गरेका छौँ । हाम्रोतर्फबाट पनि छलफल भएको छ । एमालेले पनि छलफल थालेको छ । नयाँ गठबन्धनलाई नेमकिपाको साथ रहनेमा हामी आशावादी छौँ ।’

मुख्यमन्त्री जम्कट्टेलले गत शनिबार नेमकिपाका नेतासँग भेटवार्ता गरेका थिए । नेकपा एमालेका नेताहरुले पनि नेमकिपासँग छलफल अगाडि बढाएका छन् ।

बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको समर्थन माग गर्दै नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग आइतबार भेटवार्ता गरेका थिए । नेमकिपाको संसदीय दलका नेता गोसाईँले एमाले र माओवादीले सरकारका लागि मागेको सहयोगका विषयमा पार्टीभित्र छलफल हुने बताए । ‘हाम्रो पार्टीभित्र छलफल भइराखेको छ,’ उनले भने, ‘प्रदेशको राजनीति कसरी अगाडि बढ्छ । हामी प्रतिपक्षमा भएकाले त्यही अनुसारको भूमिका खेल्छौँ ।’

गठबन्धनमा नेतृत्वको नटुङ्गिँदा विश्वासको मत अन्यौलता

प्रदेशमा सरकार जोगाउने र बनाउने गणितको खोजी भए पनि गठबन्धनमा मुख्यमन्त्रीको विषय टुङ्गिएको छैन । मुख्यमन्त्री जम्कट्टेलले केन्द्रमा प्रदेश सरकारको भागण्बडा नटुंगिएकाले विश्वासको मत लिने विषय अन्यौलता रहेको बताए ।

‘बागमती प्रदेश सरकार कुन पार्टीको नेतृत्वमा हुने हो त्यो टुङ्गिएको छैन,’ उनले भने, ‘त्यो नटुंगिकन विश्वासको मत लिने कि राजीनामा गरेर नयाँ सरकार बनाएर जाने कि हाम्रो माथि (केन्द्र)बाट टुङ्गिएको छैन ।’

चैत २० गतेभित्र विश्वासको मत लिई सक्नुपर्ने भए पनि केन्द्रमा प्रदेशको भागबन्डा नटुङ्गिँदा आफूहरू अन्यौलता परेको उनको भनाइ थियो । आफ्नो नेतृत्वको सरकारको निरन्तरताको कुनै टुङ्गो नभएको प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट जवाफ पाएको जम्कट्टेलले बताए ।

‘प्रधानमन्त्रीज्यूले गठबन्धनमा छलफल भइराखेको छ । यो निरन्तरतामा जान पनि सक्छ । नयाँ बन्न पनि सक्छ । कुनै फिक्स छैन,’ उनले भने, ‘छलफलमा के सहमति हुन्छ । त्यही मान्ने त हो भन्नु हुन्थ्यो ।’

सत्ता गठबन्धनमा बागमती प्रदेशको नेतृत्वको लागि एमाले र एकीकृत समाजवादीको दाबी छ । माओवादीले आफ्नै नेतृत्वको सरकारको निरन्तरता खोजिरहँदा एमाले र एकीकृत समाजवादीले सरकारको नेतृत्व फेरेर अघि बढ्ने चाहना राखेका छन् ।

एमालेले बागमतीमा सरकारको नेतृत्वका लागि सशक्त दाबी गरेको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले बताए । यता एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले पनि प्रदेश सरकारको नेतृत्वमा पार्टीको दाबी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप