बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्छ : अध्यक्ष ओली

शनिबार, १७ चैत २०८०, १७ : ५७
शनिबार, १७ चैत २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्ता साझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो । 

सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे । प्रतिस्पर्धा गर्न सक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि त्यस्तो अवस्था नरहेको बताए ।

उनले भने, ‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौँ । त्यति बेला कांग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिँगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस । त्यति बेला हामीले हराइदिएका थियौँ । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन । हामी जित्छौँ । बझाङ प्राविधिक हिसाबले कुनै बेला हारेका थियौँ । तर आज त्यहाँ समाजवादी पार्टीको भोट, माओवादी पार्टीका भोटले त्यहाँ कांग्रेसले जितेको थियो । आफ्नै बलमा, आफ्नै तागतमा होइन । हामीले १३ हजार ६ सय ल्यायौँ । उनीहरूले १६ हजार ३ सय ल्याए । ४ हजार माओवादीको छ । १६ हजारमा ४ हजार घटाइ दिनुस् । १२ हजारमा आयो । समाजवादी पार्टीको २ हजार छ । त्यो घटाइ दिनुस् १० हजारमा आयो । मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने कांग्रेस जिताउन मिल्दैन । हामी भन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौ । तर माओवादीको ४ हजार छ । हामी १३ हजार छौँ । साँढे १३ हजार भन्दा बढी छौँ हामी । त्यसकारण हामीले छोड्न मिल्दैन । गणितले स्पष्ट देखाउँछ–हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौँ पुग्छौँ । कांग्रेस १० हजारमा झर्छ । त्यो स्पष्ट छ ।’

अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गरे । त्यस अवसरमा उनले आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप