बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता गठबन्धन

सत्ता सहयात्राबारे सहयोगी घटकबिच नै संशय

आइतबार, १८ चैत २०८०, १५ : ०५
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेको एक महिना नपुग्दै गठबन्धनभित्र विश्वासको वातावरण धमिलिँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर बनाएको नयाँ समीकरणमा विश्वासको वातावरण नदेखिएको हो ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० मा संसदमा तेस्रो पटक विश्वासको मत पाए पनि सत्ताको आयु संशयमा छ । प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउँदा उब्जिएको अविश्वासले नै आकार बढाउँदै लगेको देखिन्छ । विश्वासको मत लिँदा १५७ सांसदको समर्थन पाए पनि प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार र प्रतिपक्ष दलको प्रस्तुतिले झस्काएको देखिन्थ्यो ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुँदै गर्दा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई ‘अब बसौँ, कुरा गरौँ’ भनि प्रस्ताव राखेपछि संसद् तरङ्गित भएको थियो ।

‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन । पुराना मित्र हौँ नि हामी । तीन वर्षसम्म यो देशका समस्याबारे कुरा गरौँ न भन्दा कुरै चल्दैन,’ उनको भनाइ थियो, ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु– बसौँ, कुरा गरौँ न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’

ओलीको प्रस्तावको जवाफ सोही दिनको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिएका थिए । ‘गत वर्ष विश्वासको मत लिँदा एमालेले धोका पाएको थियो, अहिले कांग्रेसले पाएको छ । धोका पाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको राजनेताको हविगत के होला ? कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा कता होला ?,’ शर्माको चेतावनी मिश्रित प्रश्न थियो ।

कांग्रेस सभापति देउवाले पनि ओलीको प्रस्तावमा टाउको हल्लाएर ‘हुन्छ’ भन्ने जवाफ दिएका थिए ।

सत्ता साझेदार जसपा र एकीकृत समाजवादीका नेताको अभिव्यक्तिले पनि सत्ताको आयुमाथि शङ्काको घेरा कोरिदिएको थियो । सत्ता साझेदारको प्रस्तुतिले नै प्रधानमन्त्री प्रचण्डलाई उत्तेजित बनाएको थियो । परिणामस्वरुप प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसलाई मिल्न चुनौती दिँदै माओवादी केन्द्र प्रतिपक्षमा बस्न तयार रहेको बताएका थिए ।

एकीकृत समाजवादी र जसपाले प्रचण्ड सरकारको प्रतिरक्षा नगरी चुनौतीको भाषा बोलिरहेका छन् भने प्रधानमन्त्री प्रचण्डले अर्को उथलपुथल गर्न बेर नलाग्ने अभिव्यक्ति दिएका छन् । बिहीबार बिहान कांग्रेस सभापति देउवासँगको छलफलपछि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्को उथलपुथलको प्रसङ्ग निकालेका थिए ।

‘हुन त समीकरण चेञ्जलाई हाम्रो गण्डकीको मुख्यमन्त्रीजीले उथलपुथलकारी कदम भन्दिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । साँच्चै यी कुनै पनि काम अघि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो मैले अरूलाई भनेको होइन है ! मेरै लागि भनेको हो,’ उनको भनाइ थियो ।

बिहीबार गृह जिल्ला झापा पुगेर एमाले अध्यक्ष ओलीले पनि सत्ता सहकार्य निश्चित उद्देश्यका लागि बने पनि कसैसँग घाँटी नजोडिएको अभिव्यक्ति दिएका थिए । यता प्रधानमन्त्रीले विश्वासको मत पाएको आधा महिनाको बिचमा प्रदेश सरकार भागबण्डा र उपनिर्वाचनको विषयले गठबन्धनको भविष्यमाथि थप प्रश्न जन्माएको छ ।

आगामी वैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा  एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी एक्लाएक्लै चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।

एमाले, रास्वपा र एकीकृत समाजवादीले उम्मेदवार नै तय गरिसकेका छन् भने माओवादी केन्द्रले पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । उपनिर्वाचनबारे प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल भए पनि सहमति हुन सकेको थिएन ।  

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले उपनिर्वाचनमा तालमेल नहुनुले सत्ता गठबन्धनको अवस्था राम्रो नदेखिएको बताए । उनले भने, ‘उपनिर्वाचनमा सत्ता साझेदार दलले मिलाएर जानुपर्थ्यो । त्यस्तो देखिएन । यो राम्रो सङ्केत होइन ।’

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेताहरूको अभिव्यक्तिमा तादात्म्य नदेखिए पनि सत्ता सहकार्यमा समस्या नरहेको बताए । उनले भने, ‘पार्टी एकता भएको छैन । सत्ता सहकार्यमा भएका दलका नेताहरूका फरक–फरक विचार धारणा आइराख्छन् । सत्ता सहकार्यमा समस्या छैन । देशी–विदेशी शक्ति सरकार ढाल्न लागिरहेको छ । तर, अहिले सत्ता समीकरण तलमाथि हुने अवस्था छैन ।’

सरकारले विश्वासको मत लिएर काम गरिरहेको भन्दै पौडेलले नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा फाटो नरहेको बताए । ‘सहकार्यमा त्यस्तो केही दरार छैन । उपनिर्वाचनमा सत्ता सहकार्यमा रहेका दल मिलेर जाने सम्भावना बाँकी छैन । दिनदिनै उथलपुथल कहाँ हुन्छ र ? यो गठबन्धन टिक्छ,’ पौडेलले भने ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भने सत्ता गठबन्धन सहज ढङ्गले अगाडि बढ्नेमा आशङ्का बढ्दै गएको बताउँछन् । ‘उहाँ (प्रधानमन्त्री)ले मन्त्रिमण्डल चलायमान बनाउनका लागि गठबन्धन फेर्नु परेको बताउनु भएको थियो । अहिले कत्तिको चलायमान भएको छ ?,’ उनले भने, ‘हेर्दा चलायमान भएको जस्तो लाग्दैन । परिस्थिति सजिलो छ जस्तो लाग्दैन । जे पनि हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच सुमधुर सम्बन्ध नरहेको उनको बुझाइ छ । ‘उहाँको र ओलीसँग राम्रो प्रेम विवाह भएको जस्तो छैन । प्रधानमन्त्रीको मनमा आशङ्का र भयले डेरा जमाएको पाउँछौँ,’ पाण्डे भन्छन् ।

सत्ता साझेदार दलकै नेताहरूमा सरकारबारे आशङ्का रहेका बेला प्रतिपक्ष कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई सत्ताले पछ्याउने बताएका छन् । शुक्रबार एक कार्यक्रममा उनले भने, ‘सत्ता भर्खर त गएको हो । एकडेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समयपछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको थापाको दाबी थियो । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शङ्का छ,’ उनले भने, ‘वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन । मुलुकलाई निराशाबाट निकाल्ने गरी कांग्रेस फेरि सत्तामा जान्छ ।’

एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न नसक्ने थापाले बताए । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागकिलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप