शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

च्याउको उत्पादन बढे पनि उपभोग दर घट्दा किसान मारमा

बिहीबार, २२ चैत २०८०, १८ : ००
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय च्याउको मूल्यमा केही सुधार भए पनि किसानले लागत उठाउन सकेका छैनन् । च्याउको उत्पादन वृद्धि भए पनि बजार घटेकाले किसान मारमा परेका हुन् ।

च्याउ उत्पादन किसान संघ नेपालका कोषाध्यक्ष विनोद पौडेलले गत वर्षको तुलनामा च्याउको बजार घटेको बताए । ‘काठमाडौँ उपत्यकामा गत वर्ष यो सिजनमा दैनिक १० हजार किलोभन्दा बढी च्याउ बिक्री भएको थियो,’ उनले भने, ‘हाल त्योभन्दा कम बिक्री भइरहेको छ ।’

पौडेलले च्याउ उत्पादनमा किसानको आकर्षण बढे पनि बजार घटेकाले लागत उठाउन नसकेको उल्लेख गरे । उनले रातोपाटीसँग भने, ‘मान्छेसँग पैसा नभएर च्याउ किनेर खान छोडेका छन् । होटेल, रेष्टुरेन्टमा पनि मसरुम सुप, मसरुम स्टिक, मसरुप पकौडा लगायत च्याउका परिकार कम पाक्छ ।’

पौडेलका अनुसार गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतले च्याउको उत्पादन बढेको छ । तर बजार भने २० देखि २५ प्रतिशतले नै घटेको उनले सुनाए । ‘बजार स्थिर भएको भए उत्पादन लागत उठ्थ्यो होला,’ उनले भने, ‘तर उल्टो भयो । उत्पादन बढ्यो, बजारको माग पनि घट्यो ।’

पौडेलले पछिल्लो समय च्याउको लागत पनि बढेको उल्लेख गरे । ‘लेबर कस्ट, बिउको मूल्य, ढुवानी खर्च बढेको छ,’ उनले भने, ‘गत वर्ष बिउ बनाउनका लागि ३८ रुपैयाँ प्रतिकिलो पाइने गहुँ हाल ४० देखि ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।’

बजारमा कन्ये च्याउको होलसेल मूल्य एक सयदेखि १ सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । यस्तै, डल्ले च्याउ २७० देखि २८० रुपैयाँ प्रतिकिलो होलसेलमा बिक्री भइरहेको च्याउ उत्पादन किसान संघ नेपालका सह–अध्यक्ष सीताराम तिमिल्सिनाले बताए । काठमाडौँ उपत्यकामा मात्रै कन्ये च्याउ १५ देखि २० हजार किलो दैनिक माग रहेको उनले उल्लेख गरे ।

नेपालमा च्याउ उत्पादन प्रशस्त भए पनि बजार अभावका कारण व्यवसाय फस्टाउन नसकेको उनको गुनासो छ ।

संघका अनुसार २०७६ सालमा गरिएको एक अध्ययन अनुसार ८० प्रतिशत स्वदेशी च्याउ र २० प्रतिशत आयातित च्याउ खपत भएको थियो । नेपालका च्याउ किसानको लगानी करिब ७ अर्ब पुगेको छ । वार्षिक १० अर्बको च्याउको कारोबार हुने गरेको छ । नेपालमा दैनिक ५० हजार किलो च्याउ खपत हुने गरेको संघको अनुमान छ ।

नेपाली बजारमा च्याउको माग बढेसँगै कन्ये च्याउ, गोब्रे च्याउ, मृगे च्याउ, रातो च्याउ, दुधे च्याउ, पराले च्याउ लगायतको व्यावसायिक उत्पादन हुँदै आएको छ ।

कति छन् च्याउ उत्पादनकर्ता ?

हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसान छन् । यस क्षेत्रमा ३० हजार जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएको संघले जनाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा औसतमा वार्षिक १३ सय मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १२ हजार ६ सय ७ मेट्रिक टन च्याउ उत्पादन भएको थियो । वर्ष २०७७÷०७८ मा १३ हजार २ सय ४१ मेट्रिक टन, २०७८÷०७९ मा १४ हजार ३ सय मेट्रिक टन च्याउ उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप