शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२०८० लाई फर्केर हेर्दा :

एक वर्षमा ६ फिल्म हिट, बक्स अफिसमा दयाहाङको दबदबा

शुक्रबार, ३० चैत २०८०, १२ : ४०
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । २०८० साल नेपाली ‘बक्सअफिस’का लागि सुखद् रहेन । विगतका वर्षझै फ्लप फिल्मको शृङ्खला वर्षभरि नै जारी रह्यो । फिल्म व्यवसायको हिसाबले घाटामा रहेको यो वर्षको सुरुवातमै प्रदर्शन भएको फिल्म ‘जारी’ वर्षभरिकै सर्वाधिक कमाउने फिल्ममात्र बनेन, दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाउने फिल्म बन्यो ।

गत वर्षको तुलनामा यो वर्ष नेपाली फिल्मको व्यवसाय  झन् धराशायी देखियो । २०७९ सालमा करिब ४ दर्जन फिल्म रिलिज हुँदा ९ फिल्म सफल भए पनि ४० करोडको लगानी डुबेको थियो । २०८० मा गत वर्षको तुलनामा बढी लगानी डुबेको छ ।

वर्षको सुरुवातमा ‘बिहेपास’, ‘बुलाकी’, ‘जारी’ प्रदर्शनमा आएका थिए भने अन्त्य अर्थात् चैत ३० बाटमा ‘रेड सुटकेस’ र ‘डिग्री माइला’ प्रदर्शनमा आएका छन् । समग्रमा यो वर्ष ५३ फिल्म प्रदर्शनमा आए ।

अहिलेसम्म रिलिज भएका ५१ फिल्ममा ६ फिल्मले मात्र निर्मातालाई खुसी तुल्याएको छ । ‘जारी’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘दिमाग खराब’, र ‘महाजात्रा’ यो वर्षमा सफल फिल्म कहलिए । बाँकी फिल्मले निर्मातालाई रुवाए । चैत ११ मा प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले अहिले पनि राम्रै व्यवसाय गरिरहेको छ ।

Ranindra and Bipin Sathi Songs 2

यस वर्ष फिल्मको व्यवसायमा राजनीतिक लगायत बाह्य कुनै पनि घटनाले प्रभाव पारेन । कतिपय फिल्म विदेशी फिल्मसँग भिड्नु पर्दा दर्शकको साथ पाउन सकेनन् भने केही फिल्म आसपमै भिड्दा दर्शक बाँडिएका कारण सफल हुन सकेनन् । त्यसो त सिङ्गल प्रदर्शन भएका धेरै फिल्मले न दर्शक रिझाउन सके, न निर्माता नै खुसी पार्न सके ।

sunli mananderचैत महिनाको पुछारमा प्रदर्शन भएका दुई फिल्मको व्यापार समीक्षा गर्ने समय भइसकेको छैन । बाँकी ५१ फिल्ममा ६ सफल र ४५ असफल हुनु भनेको नेपाली चलचित्र क्षेत्रका लागि ठुलो धक्का हो । वर्षमा ८८ प्रतिशत फिल्म असफल हुँदा निर्माताले ८६ करोड डुबाएको निर्माता तथा वितरक सुनिल मानन्धर बताउँछन् ।

‘यो वर्ष रिलिज भएका फिल्ममा एक करोडदेखि ३ करोडसम्म लगानी भएको थियो’, मानन्धरले भने, ‘केही फिल्मले अलिअलि कमाएका पनि छन् ।’

स्टारमा भरोसा र ब्राण्ड बिकाउ

नेपाली फिल्मका निर्माता निर्देशक स्टारमा विश्वास गर्छन् र पछ्याउछन् । स्टार कलाकारका लागि वर्षाैं कुर्नु सामान्य जस्तै हो । स्टार कलाकारको फिल्मले चर्चा र व्यवसाय गर्ने विश्वासमा निर्माता हुन्छन् । यो वर्षको सफल फिल्म हेर्ने हो पनि दर्शकले स्टार कलाकारमा भरोसा गरेको देखिन्छ ।

त्यो त वर्ष २०८० मा स्टारमा मात्र नभएर दर्शकले ब्राण्डमा पनि विश्वास गरेको देखिन्छ । पहिले चलेका फिल्मको सिक्वेल पनि यो वर्ष चलेको देखियो । यो वर्ष सफल ३ सिक्वेल फिल्म ब्राण्डले पनि सफल भएको मानिन्छ ।

‘जारी’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद २’, ‘दिमाग खराब’ र ‘महाजात्रा’ यो वर्षका सफल फिल्म हुन् । यी सबै फिल्म स्टार कलाकारको उपस्थिति छ । यीमध्ये ‘परदेशी २’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘महाजात्रा’ सफल फिल्मका सिक्वेल हुन् ।

यो वर्ष धेरै कमाउने ‘जारी’ले प्रदर्शनको ५१औँ दिनसमेत मनाएको थियो । दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका स्टार रहेको फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।

अर्काे सफल फिल्म ‘परदेशी २’ पनि स्टार कलाकारले नै भरिएको थियो । फिल्ममा केकी अधिकारी, वर्षा सिवाकोटी, प्रसान्त तामाङ र प्रकाश सपुत लगायतको अभिनय छ । फिल्म ‘गोर्खा पाल्टन’, ‘परदेशी’ जस्ता हिट फिल्म दिएका नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’को सिक्वेल हो । सिक्वेलका कारणले पनि यो फिल्म चलेको हो ।

Keki-Prakash (2)

त्यस्तै स्टार कलाकारले भरिएको फिल्म हो ‘नाङ्गो गाउँ’ । यसमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकार थिए । फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । लामाले ‘घामपानी’, ‘२ नम्बरी’लगायत सफल फिल्म दिएका छन् ।

‘नाङ्गो गाउँ’कै बराबरी स्टार कलाकार ‘पशुपति प्रसाद २ : भष्मे डन’मा पनि थिए । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ लगायतको मुख्य भूमिका थियो । फिल्म नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयका राम्रा र सफल निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यो फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल हो ।

फिल्म ‘दिमाग खराब’मा पनि चलेकां अनुहारको बाहुल्यता थियो । खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, रमा थपलिया, राजन खतिवडाको अभिनय रहेको फिल्म निश्चल बस्नेतले निर्देशन गरेका हुन् । निश्चलले ‘लुट’ जस्तो ब्लकबस्टर फिल्म दिइसकेका छन् ।

d

यो वर्षको सफलमा पर्ने र अहिले पनि प्रदर्शनरत फिल्म ‘महाजात्रा’मा पनि स्टार कलाकार छन् । फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल लगायतका कलाकार छन् । फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । भट्टराईले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ लगायत सफल फिल्म दिएका छन् । ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’को सिक्वेल हो ।

samypyaयो वर्ष बक्सअफिसमा दर्शकको भरोसा स्टार र ब्राण्डमा भएको चलचित्र लेखक तथा समीक्षक सामिप्यराज तिमल्सिना बताउँछन् ।

‘यो वर्ष जति पनि फिल्मको व्यवसाय भएको छ, त्योमध्ये धेरै सिक्वेल छ’, तिमल्सिनाले भने, ‘त्यो भनेको पहिलेको ब्राण्डमाथि दर्शकले विश्वास गरेका हुन् । मेकरमाथि विश्वास गरेको भए उनीहरूको अन्य फिल्म पनि चल्थ्यो ।’

तर जति फिल्म चले, ‘जारी’ बाहेक अन्यप्रति दर्शक र समीक्षकको प्रतिक्रिया औसत रहेको तिमल्सिनाको भनाइ छ ।

मौलिक कथामा रुचि

कथाका हिसाबले यो वर्ष नेपाली फिल्ममा केही हदसम्म परिवर्तन देखियो । गत वर्षझैँ प्रेमकथा, एक्सन, विदेशी नक्कल, हरर कथाले पनि प्राथमिकता पाए भने दर्शकले मौलिक, अर्ग्यानिक, ऐतिहासिक, साहसिकदेखि राष्ट्रप्रेमले भरिएको कथासमेत फिल्ममा भेटे ।

ऐतिहासिक कथा ‘हल्कारा’, साहसिक कथामा ‘गोर्खा वारियर’ आउँदा राष्ट्रप्रेमको कथामा ‘काँडेतार’ आयो । तर दर्शकले यस्ता कथामा खासै चासो नगरेको देखियो । बरु उनीहरूले मौलिक, अर्ग्यानिक र गाउँघरका परिवेसका कथा रुचाए । व्यावसायिक सफल फिल्महरू ‘जारी’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद २’, ‘दिमाग खराब’को व्यवसाय सोही कारण भएको देखिन्छ । यी फिल्मले मौलिक र आफ्नै नेपाली कथा पेस गरेका थिए ।

‘जारी’ लिम्बु समाजमा विद्यमान जारी प्रथालाई कथामा समेटिएको थियो भने ‘परदेशी २’ले नेपालीहरू विदेशिनु पर्दाको पीडा र बाध्यतालाई उठाएको थियो ।

‘नाङ्गो गाउँ’ युवाहरू सहर पस्दा गाउँ रित्तिएको कथामा बनेको हो भने ‘पशुपति प्रसाद २ : भष्मे डन’ले हिन्दुहरूको धार्मिक आस्थाको केन्द्र पशुपति क्षेत्रभित्रको कथा पस्किएको थियो । त्यस्तै ‘दिमाग खराब’ले गाउँमा हुने राजनीतिको कथालाई बाहिर ल्याएको थियो ।

दयाहाङको दबदबा

नेपाली बक्सअफिसमा यो वर्ष अभिनेता दायाहाङ राईको  दबदबा कायम रह्यो । वर्षमा प्रदर्शनमा आएका ५३ फिल्ममध्ये दयाहाङका ९ फिल्म छन् ।

वर्षको सुरुवात अर्थात् वैशाखमा दयाहाङकै दुई फिल्म ‘बिहे पास’ र ‘जारी’बाट भयो भने अन्त्य पनि दयाहाङकै फिल्म ‘डिग्री माइला’बाट हुँदैछ । एकै मितिमा दयाहाङका दुई फिल्म एक अर्काेसँग भिड्दै प्रदर्शनमा आए ।

Capture

दयाहाङका ‘जारी’, ‘नाङ्गो गाउँ’, ‘दिमाग खराब’, ‘बिहेपास’, ‘नीरफूल’, ‘दयारानी’, ‘हात्तीछाप’, ‘रंगेली’ र  ‘डिग्री माइला’ गरेर ९ फिल्म प्रदर्शनमा देखिए । ‘डिग्री माइला’ चैत अन्तिममा प्रदर्शनमा आएका कारण यसको व्यावसायिक लेखाजोखा २०८१ मा हुनेछ । बाँकी ८ फिल्ममध्ये ३ फिल्म ‘जारी’, ‘नाङ्गो गाउँ’, ‘दिमाग खराब’ हिट भएको छ ।

यीमध्ये ‘जारी’ यस वर्ष सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । फिल्मले १७ करोड १७ लाख रुपैयाँ कमाएको बताइन्छ । त्यस्तै ‘नाङ्गो गाउँ’ र ‘दिमाग खराब’ पनि हिटमा पर्छन् ।

बक्सअफिसमा मात्र होइन, फिल्म छायाङ्कनमा पनि दयाहाङको व्यस्तता निकै रह्यो । यो वर्षभर उनी फिल्म छायाङ्कनमा व्यस्त रहे । यसले २०८१ मा पनि उनको दबदबा रहने अनुमान गर्न सकिन्छ ।

gopal kayastaएउटै कलाकारको वर्षमा ९ फिलम रिलिज हुनु र ३ फिल्म हिट हुनु भनेको राम्रो मानिने निर्माता एवं वितरक गोपाल काजी कायस्था बताउँछन् । ‘एक वर्षमै कुनै कलाकारको ९ फिल्म रिलिज हुनु भनेको त्यो कलाकारको दबदबा कायम हुनु हो’, कायस्थाले भने, ‘त्यसमा पनि तीन फिल्म हिट छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप