मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०५ वैशाख २०८१, २१ : ५५
बुधबार, ०५ वैशाख २०८१
आज २०८१ वैशाख ५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
  • राष्ट्रिय फल
  • भौगोलिक सङ्केत (जिओग्राफिकल इन्डिकेशन–जीआई) का लागि सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट सरकारले चैत ३० मा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो । नेपालमा कुनै पनि उत्पादनलाई सङ्केतको पहिचानको रूपमा दर्ता गरिएको छैन । सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेपश्चात् नेपालका रैथाने सुन्तला ‘जातहरूमा भौगोलिक सङ्केत’ (अरिजिन टीआईएफ जीआई ) को ट्याग पाउन सहजीकरण हुने सरकारी निकायको दाबी छ । 

    • श्रमिकलाई दुःख

     वैदेशिक रोजगारीका लागि कतार जाने श्रमिकहरूले स्वास्थ्य परीक्षणको नाममा दुःख पाइरहेको बताएका छन् । कतार भिसा सेन्टर (क्यूभीसी) ले स्वास्थ्य परीक्षणको नाममा अनेकन् दुःख दिइरहेको श्रमिकहरूले बताएका हुन् । 

    • बजेट कार्यान्वयन

    कर्णाली प्रदेश सरकारले चैत महिनामा २ अर्ब १२ करोड ९८ लाख २७ हजार ६९४ रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । फागुनसम्म बजेट खर्च सुस्त रहेकामा सरकारले चैत्रदेखि गति केही बढाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार बजेट मध्ये ९ महिनामा अर्थात् चैत्र मसान्तसम्म ८ अर्ब ५७ करोड ५१ लाख २ हजार ६९४.८३ रुपैयाँ अर्थात् २५.६६ प्रतिशत मात्रै खर्च गरेको छ । 

    • रासायनिक मल

    नेपालमा बर्सेनि रासायनिक मलमा हुने खर्च बढ्दो छ । नौ वर्षमा ९३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम रासायनिक मलका लागि खर्च भएको छ । सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५ अर्ब ८१ करोड रुपैयाँको रासायनिक मल आयात भएको थियो । २०७२/०७३ मा ५ अर्ब ६५ करोड, २०७३/०७४ मा ४ अर्ब ८३ करोड रुपैयाँको मल आयात भएको थियो ।

    • हिट फिल्म

    २०८० सालमा जम्मा ५३ फिल्म प्रदर्शन भए । तीमध्ये व्यापारका हिसाबले जम्मा ६ फिल्म मात्र सफल भए । वर्षका ५३ फिल्ममध्ये ‘जारी’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘दिमाग खराब’, र ‘महाजात्रा’ तुलनात्मक रूपमा सफल भए । अन्य फिल्मले भने नेपाली चलचित्र उद्योगमा फिल्मको सङ्ख्या थप्नबाहेक खासै उपलब्धि हासिल गर्न सकेनन् ।

    • एमाले–कांग्रेस सत्ता सहकार्य 

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भविष्यबारे सत्ता गठबन्धनकै नेताहरूले आशंका व्यक्त गर्न थालेका छन् । प्रदेश सरकार निर्माणमा गठबन्धनमा देखिएको मतभेद र गृहमन्त्री रवि लामिछानेबारे उठेको सहकारीको विषयले सरकारको भविष्य अनिश्चित बनेको हो । सत्ता साझेदार एकीकृत समाजवादीले सरकारलाई चुनौती दिइरहेका बेला प्रमुख सत्ता गठबन्धन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट समेत सरकारको आयुबारे संशय प्रकट भएको छ ।

    • लगानी सम्मेलन

    यही वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरका साढे चार सय भन्दा बढी लगानीकर्ताले प्रतिबद्धता पठाएका छन् । लगानी बोर्डको कार्यालयका अनुसार बुधबारसम्म ३६ देशका ४ सय ६२ जनाले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन् ।

    • नेपाल सेमिफाइनलमा

    ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

    • गोप्य भेट

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।  बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा  देउवा र नेपालबिच पौने एक घण्टा भेटवार्ता भएको हो । पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् । नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए । 

    • संकल्प प्रस्ताव

    कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको संकल्प प्रस्तावको व्यहोरा परिवर्तन गरेका छन् । मुख्यमन्त्री केदार कार्कीको असहमतिपछि बुधबार एमाले र माओवादी केन्द्रले संकल्प प्रस्तावको व्यहोरा परिवर्तन गरेका हुन् । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया

    लेखकको बारेमा

    रातोपाटी संवाददाता
    रातोपाटी संवाददाता

    ‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

    लेखकबाट थप