बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार गठनमा सकस

एमाले अनिर्णीत बन्दा ‘ट्रयाक टु’ मा एकीकृत समाजवादी

बिहीबार, ०६ वैशाख २०८१, ११ : २१
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले अघि सारेका दीर्घ बहादुर सोडारीलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे सुदूरपश्चिम एमाले अन्योलमा परेको छ । 

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रदेश संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने बुधवार निर्णय गरेको थियो । तर,, नेकपा एमालेले सोडारीको विकल्प खोज्नुपर्ने भन्दै उनको साटो अरू सदस्य भए मात्र समर्थन गरेर मुख्यमन्त्री बनाउन सकिने भन्दै आलटाल गरेका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँले सरकार गठनका लागि दोस्रो पटक दिएको समय बिहीबार साँझ ५ बजे सकिँदै छ । तर दलहरूबिच अहिलेसम्म सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसक्दा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न ढिलाइ भइरहेको छ ।

यसअघि एमाले माओवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी (रेशम पक्षधर)र कांग्रेस–एकीकृत समाजवादीको समर्थनमा नाउपाकै कैलाश चौधरी (रन्जिता पक्षधर) ले मुख्यमन्त्रीका लागि गरेको दाबी मुख्यमन्त्रीले रद्द गर्दै पुनः दलहरूलाई स्पष्ट बहुमत देखिने गरी दाबी पेस गर्न आह्वान गरेका थिए । तर मुख्यमन्त्रीले दिएको दोस्रो समयावधिभित्र पनि दलहरूबिच कसलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने भन्ने एकरूपता नहुँदा सकस भइरहेको छ । नागरिक उन्मुक्ति पाटीका सांसदहरुको बहुमत सङ्ख्या रेशम चौधरी पक्षधर रहनु र सो पक्षले एकीकृत समाजवादीलाई समर्थन गर्ने प्रस्ट निर्णय नहुनु र एमालेले नै पनि पात्रका विषयमा किचलो झिक्नुले मुख्यमन्त्री चयनमा थप जटिलता निम्तने देखिएको छ ।

ओलीको निर्देशन कुर्दै

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल सोडारीलाई समर्थन गर्ने या नगर्ने भन्ने निश्चित भइनसकेको बताउँछन् ।

‘कसलाई समर्थन गर्ने भन्ने अझै निश्चित भैसकेको छैन । हामी छलफलमै छौ’, उनले भने, 'हामीले मात्रै गरेको निर्णय पनि पर्याप्त नहुन सक्छ । स्थिति अलि जटिल नै भएकाले केन्द्रसँग पनि छलफल गर्नुपर्ने अवस्था छ ।’

नेता रावलले पार्टी अध्यक्ष केपी ओली इलाम र झापामा व्यस्त भएकाले कुरा हुन नसकेको भन्दै अध्यक्ष काठमाडौँ फर्केपछि थप छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘अध्यक्ष काठमाडौँ फर्केपछि थप कुरा होला’, रावलको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओली इलामको कार्यक्रम सकेर बिहीबार झापा पुगेका छन् । अध्यक्ष ओली बिहीबार दिउँसो ३ बजेको उडानबाट काठमाडौँ फर्कँदैछन् । यता नागरिक उन्मुक्ति पार्टीले समेत सोडारीलाई समर्थन गर्ने नगर्ने कुनै निर्णय गरिसकेको छैन । जसले गर्दा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न समस्या भइरहेको छ ।

‘ट्रयाक टु’मा एकीकृत समाजवादी

मुख्यमन्त्री आफैले पाउनुपर्ने अडान राखेको एकीकृत समाजवादीले पर्याप्त पहल गर्न सकेको छैन । गठबन्धन दलहरूले पनि जसले मुख्यमन्त्री दाबी गर्ने हो उसैले बढी पहल गरेर दलहरूलाई मनाउनुपर्ने आशय व्यक्त गरेका छन् । आफूले मुख्यमन्त्रीका लागि अघि सारेका पात्रप्रति नेकपा एमालेले असहमति जनाए पनि नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसको साथ खोजेको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपालले बुधवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग सहयोगको आग्रह गरेका छन् । अध्यक्ष नेपालसँगको कुराकानीमा सभापति देउवाले एकीकृत समाजवादीलाई सहयोग गर्न सकिने आश्वासन दिएका छन् ।

‘एकीकृत समाजवादीलाई सघाउन सकिन्छ तर त्यसको बदलामा अन्य प्रदेशमा कांग्रेसलाई सघाउनुपर्ने देउवाको शर्त छ’, माधव नेपाल निकट स्रोतले भन्यो, ‘सम्भवतः अवस्था त्यहीँ आउन सक्छ ।’ यदि एकीकृत समाजवादीलाई कांग्रेसले सहयोग गरेमा एमालेले सहयोग नगर्ने अवस्था आउने एक एमाले प्रदेश सांसदले बताए । उनले भने, ‘कांग्रेसले समर्थन गर्ने हो भने हामी किन सहयोग गर्ने ?’ कांग्रेसले समर्थन गरेमा र एमालेले नगरेमा समाजवादीले मुख्यमन्त्री पाउन माओवादीको समर्थन अनिवार्य हुन्छ । त्यो अवस्थामा माओवादी केन्द्रले के गर्छ ? भन्ने अन्योल छ । केन्द्रको समीकरण बिग्रन नदिने माओवादीले समर्थन गर्न सक्ने सम्भावना रहे पनि त्यसपछि एकीकृत समाजवादीले चाल्ने स्टेपले केन्द्रको समीकरण भत्कन सक्ने खतरा रहेको कतिपयको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप