आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : कर्णालीले सजिलै हरायो मधेस प्रदेशलाई

आइतबार, ०९ वैशाख २०८१, १८ : ५५
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको आइतबार खेलिएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराएको छ । वीर गणेशमानसिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा कर्णाली प्रदेशको यो दोस्रो जित हो ।

एक खेलमा भने कर्णाली प्रदेश पराजित भएको थियो । चार खेल खेलेको मधेस प्रदेशको भने यो दोस्रो हार हो । दुई खेलमा मधेस प्रदेश विजयी भएको थियो । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाएको थियो । 

मधेस प्रदेशका लागि मयान यादवले ३६ रनको योगदान गरे । उनले ३२ बलमा एक छक्का र चार चौका पनि हिर्काएका थिए । विशाल पटेलले पनि टोलीको खातामा अविजित ३२ रन थपेका थिए । उनले १९ बलमा चार चौका हिर्काए । 

प्रदीप पासवानले १८ र कप्तान राहुल मण्डलले ११ रन बनाएका थिए । मधेस प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशका बलर युनिस ठकुरीले दुई तथा दिवान पुन, दीपेन्द्र रावत, दिनेश अधिकारी र प्रकाश जैसीले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले १५।३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यान विपिन रावलले ४१ रनको योगदान गरे । उनले ४० बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । 

हिमांशु शाहीले पनि टोलीका लागि अविजित ३२ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका हिमांशुले केवल १३ बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । विपिन शाहीले १७ र ओपनर रविन्द्र शाहीले १४ रन बनाए । मधेस प्रदेशका बलर प्रदीप पासवान र अभिषेक तिवारीले दुई-दुई विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप