शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
हीरक महोत्सव

पार्टी एकताको विपक्षमा किन उभिए प्रचण्ड–ओली ?

सोमबार, १० वैशाख २०८१, १९ : ५९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सोमबार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भइ ७६ वर्षमा लागेको छ । सोही अवसरमा सबैभन्दा ठुलो वामपन्थी दल नेकपा एमालेले ललितपुरको गोदावरीमा भव्य समारोहबिच हीरक जयन्ती मनायो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई लगायत सहभागी थिए ।

नेकपा स्थापना दिवस र १५५ औँ लेनिन जयन्तीको अवसरमा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्र गौरव’ विभूषणबाट सम्मान गरयो । विभूषित भएपछि भावुक मुडमा लिखित भाषण गरेकी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजनबारे चर्चा गरिन् ।

uml

‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार, राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिन हुन्छ’, कम्युनिस्ट नेताहरूलाई सचेत गराउँदै उनले भनिन् ।

राष्ट्रपति पदमा बहाल रहेकै बेला दुई ठुला वामपन्थी दल (एमाले–माओवादी केन्द्र)बिच एकता र विभाजनको साक्षी रहेकी उनले प्रचण्ड–ओलीकै अगाडि कम्युनिस्ट आन्दोलनमा आएको विचलनबारे समीक्षा गर्न सुझाव दिइन् ।

पार्टी एकतामा प्रचण्ड–ओलीलाई छैन हतारो

समारोहका प्रमुख वक्ता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हतारिएर तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारे । विगतमा हौसिएर पार्टी एकता गर्दा दुर्घटना भएको स्मरण गर्दै आफू फेरि पुरानो गल्ती दोहोर्याउने पक्षमा नरहेको उनको भनाइ थियो ।

‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । अहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’, उनले भने ।

प्रचण्डको बोलीमा लोली मिलाउँदै पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले तत्काल पार्टी एकता नहुने तर निकटता बढाउँदै जाँदा भविष्यमा एकता हुन सक्ने सङ्केत गरे । पार्टी विभाजनपछि अहिल्यै एकता गर्न हतारिँदा किन विभाजन गरेको भनेर प्रश्न आउनेतर्फ उनी सतर्क देखिन्थे ।

सशस्त्र विद्रोहबाट राज्यसत्तामा आएको माओवादी र संसदीय प्रतिस्पर्धाको माध्यमबाट राजनीतिमा बलियो स्थान बनाएको एमालेबिच विगतमा मित्रता र शत्रुतापूर्ण दुवै सम्बन्ध रहँदै आएको छ । २०७४ को सङ्घीय निर्वाचनको पूर्वसन्ध्यामा चुनावी तालमेल गरेका एमाले र माओवादीले २०७५ साल जेठ ३ गते पार्टी एकता गरी नेकपा गठन गरेका थिए । तर प्रचण्ड र ओलीबिच सत्ता र शक्ति सङ्घर्षका कारण दुई वर्ष ९ महिनामै पार्टी विघटन भएको थियो । २०७२ साल असोज ३ गते सङ्घीय संविधान जारी भए पश्चात् यी दुई नेताबिच सम्बन्ध झाँगिँदै गएको थियो । यो बिचमा प्रचण्डले ओलीलाई दुईपटक प्रधानमन्त्री बनाउन सहयोग गरे । ओलीकै प्रस्तावमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वकै सरकारमा एमाले दोस्रोपटक सहभागी छ ।

यी दुवै नेताको अभिव्यक्तिले तत्काल एमाले र माओवादीबिच पार्टी एकता हुने सम्भावना टरेको छ । यद्यपि निकट सम्बन्ध बनाउँदै जाँदा भविष्यमा हुन सक्ने एकताको सम्भावनालाई भने ओली र प्रचण्डले नकार्न सकेका छैनन् ।

के भन्छन् विश्लेषक ?

प्रचण्ड–ओलीले तत्काल पार्टी एकतामा चासो नदिनुलाई वामपन्थी विश्लेषक श्याम श्रेष्ठले विभिन्न कारण हुनसक्ने अनुमान गरेका छन् । पहिलो, प्रचण्ड र ओलीबिच जुँगाको लडाइँ हुनसक्ने उनको अनुमान छ । दोस्रो, नेकपा विघटनपछि तर्सिएर तत्काल एकताको पक्षमा नदेखिएको हुनसक्ने उनले बताए ।

‘प्रचण्ड र ओलीबिच कुरा मिलेको छैन । जुँगाको लडाइँ पनि छ । अहिले नै एकता सम्भव छैन । पहिलेको एकताले नै उनीहरू तर्सिएको पनि हुन सक्छ । एकता गरिहाल्न विचार, सिद्धान्त मिल्नुपर्यो । एकता गर्नुभन्दा कार्यगत एकता गरेर जाँदा राम्रो हुने निष्कर्ष हुन सक्छ,’ श्रेष्ठले भने ।

तत्काल पार्टी एकता घोषणा गर्दा गडबड हुनसक्नेतर्फ प्रचण्ड र ओली सचेत रहेको हुनसक्ने श्रेष्ठले बताए । ‘मेरो विचारमा पार्टी एकताका लागि परिपक्वता भइसकेको छैन । पहिले पनि भएको थिएन । त्यसका लागि छलफल हुनुपर्छ । सबै विषयमा सहमति हुनुपर्छ । मोटामोटी यिनीहरूको लाइन मिल्छ,’ उनले भने, ‘तर पृष्ठभूमि मिल्दैन । एउटा हतियार उठाएको पृष्ठभूमिबाट आएको पार्टी भयो । अर्को संसदीय बाटोबाट आएको भयो ।’

त्यसैले मनोविज्ञान नमिल्ने, काम गर्ने ढङ्ग नमिल्ने भएकाले तत्काल एकता गर्दा गडबड हुनेमा उनीहरू सचेत रहेको हुन सक्ने उनको आकलन छ । चुनावसम्म कार्यगत एकता गरेर जाउँ, त्यसपछि अवस्था हेरेर पार्टी एकता गरेर जाउँ भन्ने सोचेको पनि हुन सक्ने उनले बताए ।

तथापि दुई नेताबिच पछिल्लो समय भेटवार्ता निकै बाक्लिँदै गएकाले ढिलोचाँडो एकता हुन सक्ने उनको अनुमान छ ।

माधवको बहिस्कार  

समग्र नेपाली कम्युनिस्ट आन्दोलनको एकता र विभाजनको समीक्षा हुनुपर्ने नेताहरूले जोड दिइरहँदा एमालेका पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधव नेपाल हीरक महोत्सवमा सहभागी भएनन् । बिहान च्यासलमा नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृति दिवसमा प्रचण्डसँगै झुल्केका नेपालले समारोह बहिस्कार गरे ।

२०७७ सालमा सर्वोच्च अदालतले तत्कालीन नेकपा विघटन गरेपछि अलगअलग कित्तामा उभिएका ओली र नेपाल तीन वर्षपछि २०८० फागुन २१ गते एउटै ठाउँमा उभिएका थिए । एमाले र एकीकृत समाजवादीबिच विगतको तिक्ततापूर्ण सम्बन्ध हटिसकेको छैन । यद्यपि पछिल्लो वामपन्थी गठबन्धनले २०८४ को निर्वाचनसम्म एमाले, माओवादी र एकीकृत समाजवादीबिच एकता हुनसक्ने नेताहरूले विश्वास लिएका छन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप