वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा बागमती प्रदेशले चौथो जित हात पारेको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा मंगलबार बागमती प्रदेशले कर्णाली प्रदेशलाई सात विकेटले हरायो ।
काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय २० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमतीले १४.५ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
बागमती प्रदेशको जितमा कप्तान रित गौतमले ३३ रनको योगदान गरे । उनले २५ बलमा ६ चौका पनि प्रहार गरे । ओपनर आशुतोष घिरैयाले पनि टोलीको खातामा २० रन थपे । उनले केवल ११ बलमा एक छक्का र तीन चौका प्रहार गरे ।
रित र आशुतोषले ओपनिङ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले पनि २८ रनको योगदान गरे । उनले २५ बलको सामना गरी चार चौका हिर्काएका थिए ।
यसैगरी ईशान पाण्डेले पनि अविजित २८ रन बटुलेका थिए । उनले २३ बलमा दुई छक्का प्रहार गरेका थिए । रविन जोशी तीन रनमा अविजित रहे । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । कर्णालीका बलर अनुज चनरा, दिनेश अधिकारी र युनिस ठकुरीले एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि विपिन शाहीले अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ४१ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए ।
प्रकाश जैसीले पनि १३ बलमा एक छक्का र तीन चौकाको मद्दतले २३ रन जोडे । ओपनर मनिष थापाले १६ र हिमांशु शाहीले १५ रन बनाएका थिए । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णाली प्रदेशले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । बागमती प्रदेशका बलर गौतम केसी एक्लैले पाँच विकेट लिएका थिए । उनले ३.४ ओभरमा केवल १८ रन खर्चिए । रिजन ढकाल र सोनु देवकोटाले दुई–दुई विकेट हात पारे । रामनरेश गिरीले पनि एक विकेट लिए ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको बागमती प्रदेश चार जितबाट आठ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । एक खेलमा भने बागमती पराजित भएको थियो । कर्णालीले पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । कर्णाली ६ अंकसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु