आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १४ जेठ २०८१, २१ : ५१
सोमबार, १४ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको १४ गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • पदमुक्त भए अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन् । सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको हो ।

  • थप ३ दिन थुना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएकाे छ ।  जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।

  • राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गिरीबन्धु टीस्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन् । यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ’, अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

  • सर्वोच्चले उल्ट्यायो निर्णय 

सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६’ को कार्यान्वयनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । मन्त्रालयले उक्त कार्यविधिमा संशोधन अनुसार कार्यान्वयन नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

  • शिक्षक सरुवा निर्देशिका

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । नयाँ मापदण्डसहितको निर्देशिका स्वीकृति गरेको हो । यसअघि शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त निर्देशिका स्वीकृत गरेसँगै रोक्का सरुवा फुकुवा भएको हो । अब यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन हुनेछ ।

  • वैदेशिक रोजगार

वैदेशिक रोजगार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष ठगीका घटना बढ्दो क्रममा छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी एक हजार ७४२ घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा चार हजार ४६४ पुगेको थियो । जसमा एक हजार ४२८ मेनपावर व्यवसायीबाट ठगीका उजुरी थिए भने तीन हजार ३६ उजुरी व्यक्तिगत ठगीका थिए । ती उजुरीमा ५५ करोड ६१ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको थियो । 

  • जग्गा विवाद

नक्सालस्थित बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २०८१ वैशाख २७ गते जिल्ला अदालत काठमाडौँले २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरे पनि आजका मितिसम्म एक जना आरोपित पनि पक्राउ परेका छैनन् ।

  • बर्सेनि चुलिँदै घाटा

सरकारी लगानीमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको सञ्चित नोक्सानी बढेर ८९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो वर्षको अवधिसम्ममा हेटौँडा सिमेन्टको नोक्सानी बढेर ८९ करोड रुपैयाँभन्दा माथि पुगेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको हो ।

  • स्वास्थ्य मन्त्रालयको मनलाग्दी

महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य क्षेत्रमा घोषणा गरिएको नीति कार्यान्वयन हुनु नसकेको औँल्याएको छ । ‘राष्ट्रिय स्वास्थ्य नीति, २०७६’ मा गुणस्तरीय एवं आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने उल्लेख छ । तर सो सेवा आमनागरिकलाई उपलब्ध गराउन नसकिएको महालेखाको ठहर गरेको छ । 

  • प्रतिपक्षविहीन कोशी प्रदेशसभा

कोशी प्रदेशको प्रदेशसभामा बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफल सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा पेश गरेको प्राथमिकता र सिद्धान्तमाथिको छलफल सोमबार सकिएको हो । तर, उक्त छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अनुपस्थित रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप