शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विवाद

‘सिनेमाण्डु’ विवादमा फसे भुवन

आधिकारिक निर्णय भएको छैन : बोर्ड
मङ्गलबार, १५ जेठ २०८१, १३ : ४६
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछिका एकपछि अर्को विवादमा पर्दै आएका छन् । केसी बोर्डको अध्यक्ष हुँदै गर्दा फिल्म क्षेत्रको समस्या नजिकबाट बुझेको भन्दै फिल्मकर्मीले ठुलै आस राखेका थिए । तर उनको कार्यकाल राम्रो कामले भन्दा पनि बढी विवादको कारणले चर्चा भइरहेको छ ।

आगामी साउनसम्म कार्यकाल रहेका भुवन यतिबेला फेरि विवादमा घेरिएका छन् । फिल्म सम्बद्ध संघ–संस्थाहरूसँग छलफल गर्दै फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति गरेपछि उनी विवादमा तानिएका हुन् । 

बोर्डले यो नाम अनुमोदन गर्दै तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउन बाँकी छ । बोर्डले पठाएपछि चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा नाम पेश गर्नेछ । मन्त्रिपरिषद्ले पनि अनुमोदन गरेको अवस्थामा नेपाली फिल्म क्षेत्रको आधिकारिक नाम ‘सिनेमाण्डु’ हुनेछ । 

निर्देशक लेखक शिवम् अधिकारीले नाम राख्नका लागि समिति बनाउन जरुरी नै नभएको बताएका छन् । उनले नाम लागि ‘नेपाली फिल्म उद्योग’ राख्न सुझाव दिएका छन् ।

तर, आधिकारिक प्रक्रिया नै अगाडि नबढेको अवस्थामा  नामलाई लिएर बोर्ड अध्यक्ष भुवन केसीबारे चर्को टिका–टिप्पणी सुरु भएको छ । समीक्षक तथा लेखक सामीप्यराज तिमल्सिनाले नामलाई लिएर सामाजिक सञ्जालमा बोर्डको कार्यप्रति आपत्ति जनाएका छन् । 

‘दुनियाँलाई नचाहिने अनि हामीलाई मात्र बेग्लै नाम किन चाहिने होला ? नेपालको चलचित्र उद्योगलाई नेपाली चलचित्र उद्योगभन्दा नमिलेको के छ ? बुझाइपाउँ त ?’, उनले लेखेका छन् ‘बोर्डले वाहियात काम गरेर कीर्तिमान नै कायम गरेको छ ।’

त्यस्तै ‘द रेड सुटकेट’ र ‘ऐना झ्यालको पुतली’का निर्माता रामकृष्ण पोखरेलले फेसबुकमा स्ट्याटस लेख्दै कार्यालय सहायकको जति पनि ‘भिजन’ नभएका व्यक्तिलाई संघ–संस्थाको नेतृत्वमा निर्वाचित वा मनोनीत गर्दाको प्रतिफल भन्दै कटाक्ष गरेका छन् । फिल्म क्षेत्रको नाम राख्न भएको सहमति असक्षम नेतृत्वको लाजमर्दो कार्य रहेको बताउँदै उनले यसको सबैले विरोध गर्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै निर्देशक लेखक शिवम् अधिकारीले नाम राख्नका लागि समिति बनाउन जरुरी नै नभएको बताएका छन् । उनले नाम लागि ‘नेपाली फिल्म उद्योग’ राख्न सुझाव दिएका छन् । कलाकार अमितेष शाहले ‘कम्पनी खोल्दै छन् क्या हो ?’ भन्दै बोर्डप्रति कटाक्ष गरेका छन् । 

निर्देशक तथा लेखक परिच्छेद सेनले ‘सिनेमाण्डु’लाई फिल्म क्षेत्रको नाम हो कि ‘न्यूज पोर्टल’ भन्दै व्यङ्ग्य गरेका छन् ।

अभिनेता कृष्ण मल्लले यो कसको दिमागको उपज हो ? भन्दै नाम प्रति प्रश्न गरेका छन् । उनले नाम के र कसका लागि जरुरी ? रहेको समेत उल्लेख गरेका छन् ।

नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने भनेर चलचित्र विकास बोर्ड अहिले आधिकारिक निर्णय गरी नसकेको चलचित्र विकास बोर्ड सदस्य तथा प्रवक्ता केएल बुढाथोकीले बताए ।

‘हलिउड र बलिउड जस्तै यहाँ पनि नाम राख्न खोजिएको हो ? ती नाम सरकारी होइनन्, अनौपचारिक नामले बोलाउन सकिएला तर सरकारले नै नाम राख्नुको औचित्य के ?’, उनले अगाडि भनेका छन् ‘फेरि नेपाली सिनेमालाई काठमान्डुसँग मात्र जोड्नु उपयुक्त हुन्छ । बलिउड सम्पूर्ण भारतीय फिल्म उद्योगको नाम होइन, कोलकाताको फिल्म उद्योगलाई कलिउड, साउथकालाई टलिउड र मुम्बईकालाई बलिउड भनिन्छ ।’ उनले धरान र पोखरामा बनेका फिल्म पनि सिनेमाण्डु कसरी भनेर समेत प्रश्न उठाएका छन् । उनी थप्छन्, ‘विकास बोर्ड र सम्बन्धित सवैमा अध्ययनको कमी देखियो ।’

अभिनेता विशाल विष्टले नाम सिनेमान्डु राख्ने सबै गा** भन्दै आक्रोश पोखेका छन् । धेरै फिल्मकर्मीले नामको विषयलाई लिएर बोर्ड अध्यक्ष भुवन केसीलाई गाली समेत गरेका छन् ।

  • के भन्छ बोर्ड ?

नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने भनेर चलचित्र विकास बोर्ड अहिले आधिकारिक निर्णय गरी नसकेको चलचित्र विकास बोर्ड सदस्य तथा प्रवक्ता केएल बुढाथोकीले बताए । उनले फिल्म सम्बद्ध संघ–संस्थाहरुले मात्र ‘सिनेमाण्डु’ सुझाएको स्पष्ट पारे ।

‘नाम अहिले पनि विचारधीन छ । चलचित्र विकास बोर्डको २४ औँ स्थापना दिवस असार १६ गते छ । त्यसको अवसर पारेर हामीले केही सिर्जनात्मक अभियानहरू घोषणा गर्ने तयारी हो’, उनले थपे ‘त्यसमा राष्ट्रिय दिवस घोषणा, चलचित्र विकास बोर्डको लोगो र नाम सार्वजनिक गर्ने भन्ने हो ।’ तर नाम यो रहने भन्ने आधिकारिक निर्णय भएको छैन । विचाराधीन छ ।

‘विश्वलाई हेर्दा पनि सरकारले आफ्नो हिसाबले नाम घोषणा गरेको पाइएको छैन । तर कतिपय देशमा आफ्नो सभ्यता, मौलिकतालगायतका विषय झल्कने गरेर पनि राखिएको पाइयो’, बुढाथोकीले थपे ‘हाम्रो धारणा पनि देशको इतिहास, संस्कृति, पहिचान, गौरव झल्कने सर्वसम्मत नाम राख्नुपर्छ भन्ने हो ।’ बोर्डले सबै सरोकारवालासँगको सहमतिमा लैजाने र सरकारले घोषणा गर्ने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप