बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
बजेट

तीन आर्थिक वर्षको बजेटमा फिल्म सिटी : कति भयो काम ?

बुधबार, १६ जेठ २०८१, १५ : ०५
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष (२०८१/२०८२)का लागि मंगलबार प्रस्तुत गरेको बजेट नेपाली कला क्षेत्रका लागि निराशाजनक रह्यो । बजेटले कला क्षेत्रमा कुनै नयाँ योजना ल्याउन सकेन ।

बजेटमा विगत केही वर्षदेखि नियमित सम्बोधन हुँदै आएको दोलखाको फिल्म सिटी र बनेपाको फिल्म स्टुडियो निर्माणको योजना समेटिनुबाहेक यो क्षेत्रमा उल्लेखनीय कुनै योजना उल्लेख छैन ।

आगामी आर्थिक वर्ष बनेपामा फिल्म स्टुडियो निर्माणको काम सुरु गरिने, दोलखाको फिल्म नगरीको निर्माण निजी र सार्वजनिक साझेदारीमा गरिने बजेट वक्तव्यमा उल्लेख छ । विगतका वर्ष पनि बजेट वक्तव्यमा यो बुँदा पर्दै आएको थियो । यो बजेटमा कला क्षेत्रमा नयाँ योजना केही नसमेटिएको गुनासो फिल्मकर्मीले गरिरहेका छन् ।

विगत दश वर्ष यता बजेटमा दोलखाको फिल्मसिटी तीन पटक समेटिएको छ । तर काम सोचेजस्तो हुन सकेको छैन । बरु सरकारले यस अगाडिको बजेटमा काभ्रेको बनेपामा फिल्म छायाङ्कन स्टुडियो बनाउने भनेर सम्बोधन गरेको थियो । यो पटक निर्माण स्टुडियो अगाडि बढाउने भनेको छ ।

  • कति पटक पर्‍यो बजेटमा फिल्म सिटी ?

दोलखाको फिल्म सिटी निर्माणको विषय बजेटमा पटक-पटक पर्दै आएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनमा मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/२०८२ को बजेटसहित अहिलेसम्म दोलखामा फिल्म सिटी निर्माणको विषय बजेटमा तीन पटकभन्दा बढी परेको देखिन्छ ।

दोलखाको फिल्म सिटी पहिलो पटक २०७०/२०७१ को बजेटमा परेको थियो । खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्का अर्थमन्त्री शंकर कोइरालाले पहिलो पटक बजेटमा दोलखामा फिल्म सिटी निर्माण गर्ने योजना समेटेका थिए ।

त्यसपछि गत वर्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारका अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेटमा पनि दोलखा फिल्म सिटी निर्माणको योजना समेटेका थिए । फिल्म सिटी साझेदारीमा अगाडि बढाइने उल्लेख थियो ।

filcity  (1)

  • कति भयो फिल्म सिटीको काम ?

आर्थिक वर्ष २०७०/२०७१ को बजेटमा तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले दोलखामा फिल्म सिटी निर्माणका लागि प्रारम्भिक अध्ययन भन्दै २ करोड बजेट छुट्याएका थिए । त्यो बजेट फिल्म सिटीको सम्भाव्यता, ईआईएको कामका लागि विनियोजन भएको थियो ।

त्यसपछिको बजेटमा फिल्म सिटीकै लागि भनेर एक करोड छुट्याइएको थियो । जसबाट डीपीआरको काम भएको थियो । गत आर्थिक वर्ष अर्थात् ०८०/८१ को बजेटमा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले फिल्म सिटी साझेदारीमा अगाडि बढाइने बजेटमा उल्लेख गरेका थिए । त्यसअनुसार दोलखामा फिल्म सिटी बनाउन गत वैशाख महिनामा सम्पन्न लगानी सम्मेलनमा यो परियोजना शो–केसमा राखिएको थियो । फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताले चासो देखाएका छन् ।

यसको अलावा फिल्म सिटीका लागि विभिन्न कामसमेत भएको दोलखा फिल्म नगरी निर्माण समितिका संयोजक मदनदास श्रेष्ठले बताए ।

‘हामीले आफ्नो पहलमा आवास तथा भौतिक मन्त्रालय विभिन्न निकायको सहकार्यमा करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ’, श्रेष्ठले भने, ‘फिल्म सिटीका सो स्थानसम्म सडक कालोपत्रे, प्रवेशद्वार निर्माण, बिजुली र खानेपानी लगायत प्रशासनिक भवन, सांस्कृतिक सङ्ग्रहालय भवन र गेस्ट हाउस गरी तीन वटा भवन निर्माणको काम सम्पन्न भइसकेको छ ।’

आर्थिक वर्ष २०८१/२०८२ को बजेटले बाहिरी लगानीको वातावरण खुल्ने विश्वास आफूहरूले लिएको श्रेष्ठले बताए ।

  • कसरी सुरु भयो फिल्म सिटी ?

नेपाल सरकारले एक दशक अघि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ र दोलखाको भीमेश्वर नगरपालिका ९ को बिचमा पर्ने डाङडुङे डाँडामा फिल्म सिटी बनाउने घोषणा गरेको थियो ।

२०६९/२०७० को बजेटमा फिल्म सिटी बनाउने निर्णय गरेपछि दोलखाको लाकुरीडाँडामा नेपालकै पहिलो सुविधा सम्पन्न फिल्म सिटी निर्माणको काम सुरु भएको थियो ।

फिल्म सिटी निर्माणका लागि करिब १७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणका लागि दोलखा फिल्म नगरी निर्माण समितिसमेत गठन भएको छ । जसको संयोजक कलाकार मदनदास श्रेष्ठ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप