शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

के कलाकारमा ‘सेल्फ सेन्सरसीप’ आवश्यक देखिएको हो ?

सेल्फ सेन्सरसीप नहुँदा छवि बिग्रियो : चलचित्रकर्मी
मङ्गलबार, २९ जेठ २०८१, २० : ४७
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । कलाकारमा सेल्फ सेन्सरसीप आवश्यक भएको यही क्षेत्रका व्यक्तित्वहरूले औँल्याएका छन् । सेल्फ सेन्सरसीपको अभाव हुँदा कलाक्षेत्रको छवि समाजमा धमिलिँदै गएको कलाकर्मीको धारणा रहेको थियो ।

मंगलबार चलचित्र कलाकार संघले राजधानीमा आयोजना गरेको ‘कलाकार र आमसञ्चार’ विषयक बिचार गोष्ठीका वक्ताहरूले कलाकारले आफ्नो संस्थाको आचारसंहिता र राज्यले निर्दिष्ट गरेको कानुन पालना नगरेको पाइएको औँल्याए । चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा ‘आचारसंहिता र सामाजिक दायित्व’, ‘कलाकारको दायित्व, सेन्सरसीप र मर्यादा’ र ‘आम सञ्चार र कलाकार’को विषयमा मन्थन भएको थियो ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र शलभले कलाकारले कलाकारका लागि भनेर राज्यले निर्दिष्ट गरेको कानुन पालना गर्नु त परै जाओस् पढेको पनि नपाइएको बताए । कलाकार संघको अहिलेको विधानको सुरुको खेस्रा गर्ने अवसर आफूले पनि प्राप्त गरेको बताउँदै उनले त्यो विधानमा रहेको आचारसंहिता कुनै कलाकारले पनि पालन गरेको धारणा राखे ।

‘हामी कलाकार दिइएको संवाद राम्रोसँग बोल्छौँ । तर त्यो संवादबाहेक समाजमा बोल्नुपर्ने कुरो आउँछ । कति राम्रोसँग बोल्छौँ भन्ने कुरो आउँछ,’ शलभ भने ।

नेपालमा चलचित्रको औपचारिक सुरुवात २०२२ सालको ‘आमा’ फिल्मलाई मान्नुपर्ने बताएका शलभले २०२३ सालको ‘माइतीघर’ र २०३० मा बनेको ‘मनकोबाँध’ नेपाली चलचित्र विकास क्रमको कोसेढुङ्गा भएको उल्लेख गरे । 

‘चलचित्र र समाज एकअर्काका पूरक हुन् । चलचित्रमा समाजको प्रतिबिम्ब हुन्छ । आजसम्म राज्यले चलचित्रलाई मनोरञ्जनात्मक सेवामूलक उद्योग मान्दै आएको छ,’ शलभले थपे, ‘चलचित्र सृजनशील सांस्कृतिक उद्योग हो । यससँग देशको पहिचान, भाषा, संस्कृति पनि जोडिएको हुन्छ ।’ देशमा १२३ वटा मातृभाषा बोलिने तथ्याङ्कले देखाउने जानकारीसमेत गराएका उनले यी मातृभाषाको संरक्षण र विकासमा चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा दुईमत नरहेको धारणा अगाडि सारे । उनले नेपाली चलचित्र उद्योगलाई सृजनशील सांस्कृतिक उद्योगको रूपमा स्वीकार गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याए ।

‘चलचित्र उद्योगलाई मर्यादित, विभेद रहित र प्रतिभाको समुचित कदर गर्ने उद्योगको रूपमा रूपान्तर गर्नका लागि तीन कुरामा ध्यान दिनुपर्ने म देख्छु,’ उनी अगाडि भन्छन्, ‘पहिलो कुरो सिर्जनाको अवसर, दोस्रो व्यावसायिक हकहितको संरक्षण र तेस्रो सामाजिक प्रतिष्ठानमा अभिवृद्धि रहेका छन् ।’ चलचित्रकर्मीले चलचित्रकर्म गरिरहँदा सांस्कृतिक पहिचान र विस्तार, जातीय एवम् साम्प्रदायिक सद्भावको विकास र भाषा, साहित्य एवम् कला क्षेत्रमा गर्ने योगदान कहिल्यै भुल्न नहुने उनले खुलाए । 

‘कलाकार समाजका आदर्श पात्र मानिने भएकोले सामान्य मानिसले भन्दा कलाकारले गरेको काम कुरोको चर्चा बढी हुन्छ । कलाकारले आफूले पाएको ख्याति र सम्मानको मूल्य तिर्नुपर्ने हुन्छ । त्यो हो अनुशासन । आत्म अनुशासन’ उनी भन्छन्, ‘यही अनुसारलाई आचारसंहिताको नाम दिएको छ ।’ 

कार्यक्रममा वरिष्ठ रङ्ग पत्रकार कृष्ण भट्टराईले अहिले कलाकारले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट गर्दा निकै विचार पुर्‍याउनुपर्ने बताए । 

‘कलाकार सामाजिक सञ्जालमा लेख्छन् । विवाद भयो भने, व्यक्तिगत कुरो समाचार बनाएको मिडियालाई भन्दै गाली गर्छन्’, भट्टराई अगाडि भन्छन् ‘त्यो प्रवृत्ति गलत हो ।’ समाचार हुने विषय बाहिर आउँदा समाचार बनाउने दायित्व पत्रकारको भएको भन्दै उनले सामाजिक सञ्जालमा पोस्ट गर्नु अगाडि सोचेर लेख्न कलाकारलाई सुझाए ।

‘आमा सञ्चार माध्यम र कलाकार’ को विषयको सेरोफेरोमा आफ्नो धारणा राखेका भट्टराईले कलाकार र रङ्ग पत्रकार एक अर्काको परिपूरक भएको बताए । कलाकारबिनाको रङ्ग पत्रकारिता र रङ्ग पत्रकारिताबिनाको कलाकारिता कल्पना पनि गर्न नसकिने उनको भनाई थियो ।

आफूले पत्रकारिता सुरु गर्दा र अहिले कलाकारिता र पत्रकारितामा आकाश जमिन फरक भएको बताएका भट्टराईले विकाससँगै चुनौती पनि थपिएको बताए । ‘पत्रकारिता र कलाकारिताको विकासको क्रममा हामीले धेरै आरोह–अवरोह पार गरेका छौँ । त्यसले हामीलाई धेरै कुरा सिकाएको छ’, भट्टराईले थपे, ‘अहिले सञ्चारको धेरै रूप छन् । तीमध्ये पनि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम हो । त्यसमा जोडिने सबै आमसञ्चारकर्मी हुन् । पर्दामा देखाएको क्रियाकलापले मासलाई एकैपटक छुन्छ । र त्यसको सन्देश निकै प्रभावकारी हुन्छ ।’ संसारभर चलचित्रलाई प्रभावकारी आमसञ्चार माध्यम मानिने भएकोले देशलाई मार्ग निर्देशन गर्न रिभ्यू आवश्यक रहेको र रिभ्यूलाई नकारात्मक नबुझिदिन उनले आग्रह गरे ।

समाचार प्रभावकारी र सबैभन्दा विश्वासिलो माध्यम भएकोले पत्रकारिता तीव्र रूपमा विकास भएको समेत भट्टराईले बताए । ‘विभिन्न माध्यम तथा तौरतरिकाबाट जति नै विज्ञापन, हल्लाखल्ला गरेको भन्दा एक पत्रकारले दुई लाइन समाचार बनाएको विश्वास र प्रभावकारी हुन्छ,’ उनले थपे । कलाकार भट्टराईले चलचित्रको व्यवसाय नहुनु र कलाकार बदनाम हुनुमा पत्रकारलाई दोष दिनु भन्दा आफूले आत्मालोचना गर्न सुझाए । ‘कलाकार आफैँ जथाभाबी गरेर हिँड्छन् । चलचित्र कन्टेन्ट राम्रो बनाउन जोड दिँदैनन्’, उनी भन्छन् ‘त्यसको दोष पत्रकारले किन लिने ?’ 

अहिले धेरै नेपाली बिदेसिएका कारण चलचित्र नचलेको तर्क गर्ने चलचित्रकर्मी रहेको सुनाए । उनले फिल्म राम्रो भए विदेशीका नेपालीले जुन देशमा भए पनि फिल्म हेर्ने बताए  । उनले गसिपलाई कलाकारले नेगेटिभ रूपमा हेर्ने गरेको गुनासो गर्दै त्यसलाई सुझावको रूपमा लिन र सचेत रहन सुझाए । 

dinesh

कलाकार तथा निर्देशक दिनेश डिसीले कला क्षेत्रमा आफूले के गर्नु हुने, के गर्न नहुने सबै जानकारी भए पनि पालना नगर्नु समस्या भएको बताए । पब्लिकले कलाकारलाई आफ्ना आइडल मान्ने र उनीहरूबाटै सिक्ने भएकोले कलाकार डिसिप्लिनमा बस्नुपर्ने धारणा उनले राखे । भने, ‘हामी सामाजिक सञ्जालमा ज्ञान बाँड्छौँ । हामी पालन गर्दैनौँ ।’

‘सञ्चार एउटा डाँडामा डम्फु बजाएर प्रवाह गर्ने युगबाट एक सामाजिक सञ्जालको स्ट्याटसबाट संसार हल्लिने युगमा प्रवेश गरेको छ,’ डिसीले भने, ‘यो हामीले सदुपयोग गर्न सक्नुपर्छ ।’ उनले अहिले त्यसको पुरै सदुपयोग गर्न नसकेको सुनाए ।

कार्यक्रममा कलाकारको दायित्व, सेन्सरसीप र मर्यादा विषयमा बोल्ने क्रममा डिसीले कलाकार र पत्रकार सबै आफ्नो मर्यादामा समेत बस्न नसकेको औँल्याए ।

‘सामाजिक सञ्जालबाट अहिले हरेक कुरोको प्रतिक्रिया छिट्टै हुन्छ । त्यसकारण कलाकारले विचार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतिपय कलाकारलाई पत्रकारले सोधेको प्रश्नको जवाफ दिन्न पनि भन्न पाइन्छ भन्न थाहा नहुँदा समस्यामा पर्ने गरेका छन् ।’ 

डिसीले कलाकारलाई पत्रकारले आवश्यकभन्दा अनावश्यक प्रश्न गरेर क्राइम गरिरहेको आरोप लगाए । ‘पत्रकारले पहिले नै यस्तो जवाफ आओस् भनेर प्रश्न गर्छ । त्यसले क्राइमको जन्म भइरहेको छ’, डिसीले थपे ‘दुई व्यक्तिलाई छान्न लगाउने अन्तर्वार्ता गलत छ ।’ उनले यस्ता प्रश्न मात्र सनसनीका लागि काम लाग्ने भन्दै यसले कलाकार र पत्रकारको छवि बिगारिरहेको उल्लेख गरे । थपे, ‘पत्रकारले कलाकारको कति कुरा राख्ने कति नराख्ने भन्नेमा पनि ध्यान दिनुपर्छ ।’

कलाकार पहिरनको कारण पनि समय समयमा विवादमा पर्दै आएका छन् । त्यसतर्फ डिसीले कलाकारले कस्तो कार्यक्रममा के ड्रेस लगाउने सिक्न जरुरी रहेको बताए ।  ‘पत्रकारले ग्ल्यामरलाई जोड दिने भएकोले त्यसलाई सकारात्मक नकारात्मक कस्तो बनाउने कलाकार आफैँमा भर पर्छ पर्छ’, डिसीले थपे । 

laya sangraula

पत्रकार शान्त्री प्रिय र जीवन पराजुलीले सहजीकरण गरेको कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार र पत्रकारको सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले कार्यक्रमले कलाकार र पत्रकारको कमिकमजोरी हल गर्न समेत मद्दत पुग्ने आफूले विश्वास राखेको उनको भनाई रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप