१२ बजे, १२ समाचार : 'अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको दोश्रो इनिङ'देखि राष्ट्रसंघका पूर्व कर्मचारी बाल यौन दुराचारी ठहर'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. मन्त्री नै मानव तस्करीमा
कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाने क्रममा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको छ । सो आरोप लागेपछि बुधबारमात्रै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
२. अमेरिकी राष्ट्रपति निर्वाचन
अमेरिकामा राष्ट्रपतिको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरिसकेका छन् । निर्वाचन आयोगले जितको घोषणा गर्न बाँकी नै रहेको भएपनि आफ्ना समर्थक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ट्रम्पले विजयी भाषण पनि दिइसकेका छन् । यसक्रममा उनले अमेरिकालाई फेरि विश्वकै महान् देश बनाउने बताएका छन् ।
३. ठप्प पार्ने चेतावनी
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
४. आईपीएल
इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा विश्वका चर्चितदेखि नयाँ खेलाडीसम्म रहेका छन् ।
५. उपनिर्वाचन
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
६. प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
७. स्वर्णलक्ष्मी सहकारी घोटाला
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।
८. प्रधानमन्त्रीको चीन भ्रमण
नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने भएका छन् । मंगलबार बसेको दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक–एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो ।
९. दोषी ठहर
सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी एवं क्यानेडियन नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचार (पेडोफाइल) मा दोषी ठहर गरेको छ । क्यानेडियन नागरिक ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।
१०. ०४६ पछिका चर्चित काण्ड
०४६ को राजनीतिक परिवर्तनपछि विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरू नै भ्रष्टाचार, अपचलन, राहदानी दुरुपयोग, व्यक्ति हत्यालगायत गम्भीर फौजदारी अभियोगमा जेल गएका छन् । जसका कारण केही नेताको राजनीतिमै पूर्णविराम लागेको छ भने कतिपय अझै पनि पुर्पक्षका लागि थुनामा देखि अड्डा अदालत धाइरहेका छन् ।
११. फूल सदुपयोग गर्दै धूप उत्पादन
र्खरै तिहार सकिएको छ । तिहारमा देशभर करिब ४० लाख सयपत्री, गोदावरी र मखमली फूलका माला प्रयोग भएका छन् । तिहारमा प्रयोग भएका सयपत्री, गोदावरी तथा मखमली फूल फोहोरको रूपमा फाल्नुभन्दा तिनलाई सदुपयोग गरेर विभिन्न सामग्री बनाउन सकिन्छ । तिनैमध्ये एक सामग्री हो– धूप ।
१२. मनाङे सम्पर्कविहीन
सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।