आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'बिग्रेको त्रिविको भत्केको चाला' देखि 'ट्रम्पको जितसँगै घट्यो सुन र कच्चा तेलको भाउ' सम्म

शुक्रबार, २३ कात्तिक २०८१, ०० : ००
शुक्रबार, २३ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. छठ पर्व
बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर  छठ पर्व हर्षोल्लाससहित मनाइएको छ ।  पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।

तराई र काठमाडौँका साथै पहाडी जिल्लाका विभिन्न स्थानमा समेत मनाइएको यो पर्वको दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको थियो । उदाउँदो सूर्यलाई शुक्रबार अर्घ्य दिएसँगै छठ समापन हुन्छ ।

२. मानव तस्करी प्रकरण
नक्कली कागजात बनाएर कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।

कात्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।

३. स्थानीय तह उपनिर्वाचन

आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । 

मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ । यस्तै, दलहरुले पनि आ–आफ्नो तयारी गरिरहेका छन् ।

४. प्राइमरी इलेक्सनमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ ।

रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको जानकारी दिए ।

५. शैक्षिक बहस
उच्च शिक्षाको मूल थलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाम सुन्दै गर्व गरिन्थ्यो कुनै बेला । यही विश्वविद्यालयबाट दीक्षित धेरैले देश–विदेशमा नाम र दाम मात्रै कमाएनन्, कतिपयले कीर्तिमानी नै राखे ।

केही वर्ष अघिसम्म प्रसिद्धि कमाएको यो सरस्वतीको मन्दिर यतिबेला बिग्रियो भन्ने भाष्य निर्माण भएको छ । के त्रिभुवन विश्वविद्यालय बिग्रेकै हो त ? तथ्यहरुले पनि त्रिवि बेसरी खस्केको देखाउँछ । यसबारे रातोपाटीमा विस्तृतमा समाचार छापिएको छ । 

६. वायु प्रदूषणको जोखिम
नेपालमा बर्सेनि चिसो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिन थाल्छ । चिसो बढ्दै जाँदा न्यानो हुनका लागि काठ दाउरामात्रै नभइ प्लास्टिक तथा टायर बालेरसमेत आगो ताप्ने गरिन्छ । यसरी आगो बाल्दा निस्कने धुवाँले वायु प्रदूषण बढाउने गर्दछ ।

७. न्यायाधीशको संसदीय सुनुवाइ

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नित्यानन्द पाण्डे र नृपध्वज निरौलामाथि शुक्रबार संसदीय सुनुवाइ हुँदै छ । संसदीय सुनुवाइ समितिले माग गरेको उजुरीमा एक जना न्यायाधीशविरुद्ध मात्र उजुरी दर्ता भएको छ भने अर्काविरुद्ध कुनै उजुरी छैन ।

८. एकतामा ढिलाइ

नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धमा संस्थागत निर्णयमा ढिलाइ गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी यतिबेला अन्योलमा देखिएका छन् ।

यी दुवै पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेको ७–८ महिना पुगिसकेको छ । तर, माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियामा ढिलाइ भएको हो ।

९. सम्पर्कविहीन मनाङे
गण्डकी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री रहेका दिपक मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भए लगत्तै सम्पर्कविहीन भएका छन् । फैसला आउँदा पोखरामा रहेका उनी त्यहीँबाट सम्पर्कविहीन भएका हुन् ।


१०. सुनको भाउ

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै बुधबार सुन तथा कच्चा तेलको भाउमा एकै पटक उच्च गिरावट आयो । यसको प्रभावस्वरुप नेपाली बजारमा समेत बिहीबार सुनको भाउ प्रतितोला चार हजार रुपैयाँले घट्न पुग्यो ।

प्रतितोला १ लाख ७१ हजार रुपैयाँको ऐतिहासिक रेकर्डसम्म पुगेको सुन अहिले बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ ।


११. रेकर्ड बनाउँदै पूर्णबहादुरको सारंगी
गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहीबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ । 


१२. ट्रम्पको पुनरागमन असर
अमेरिकामा भएको नेतृत्व परिवर्तनको असर नेपालमा खासै पर्दैन । नेपाल अमेरिकी ‘इन्ट्रेष्ट’को छेउछाउमा पर्ने देश हो । अमेरिकाको नयाँ प्रशासनले ध्यान दिने भनेको युक्रेन युद्ध, इजरायल–हमास युद्ध, मध्यपूर्वका देशमा भइरहेको युद्धको विषय हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?