परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा आज अपराह्न उनीहरूबिच वार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ गएकी हुन् ।
उनीहरूबिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी थिइन् । वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा राणाले बधाई ज्ञापन गरेकी थिइन् ।
मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन् ।
त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।
पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उनले व्यक्त गरिन् ।
सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उनले बताइन् । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
सो भेटपछि परराष्ट्रमन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताइन् ।
भेटका क्रममा दुई देशबिचको सदियौँ पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिकलगायतका क्षेत्रमा चीनले पुर्याउँदै आएको सहयोग, आगामी दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रहरूको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिने बारेमा कुराकानी भएको थियो ।
सो वार्तामा मन्त्री डा.राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी रहेका थिए ।
यसैबिच आजै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । सो भोजमा सहभागी हुँदै मन्त्री डा.राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् ।
त्यस अवसरमा उनले दुई देशबिच सरकारस्तरमा मात्र नभएर जनता जनताबीच धेरै पुरानो र सुमधुर सम्बन्ध रही आएको चर्चा गरिन् । मन्त्री डा राणा शनिबार नेपाल फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको तयारीसँगै विभिन्न अभियान सञ्चालन गर्दै नेविसंघ
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर