प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार भारत भ्रमणबाट फर्केका छन् ।
उनीहरू दुवै जना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाँजो मिलाउन भारतको दिल्ली पुगेका थिए । तर उनीहरूको भ्रमणको उद्देश्य पूरा नभएको स्रोत बताउँछ ।
यहाँसम्म कि, उनीहरू दुवै जनाले भारत सरकारको आधिकारिक प्रतिनिधिसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफलसमेत गर्न सकेनन् । परराष्ट्रमन्त्री आरजु जर्मनी हुँदै पुस ४ गते दिल्ली पुगेकी थिइन् भने एमालेका उपमहासचिव ज्ञवाली काठमाडौँबाट पुस ५ गते दिल्ली पुगेका थिए ।

दुवै जनाको उद्देश्य नेपाल–भारतबिच पछिल्लो समय चिसिँदै गरेको सम्बन्धलाई सुधार गरेर प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनु थियो । त्यसका लागि भारत सरकार पक्षका व्यक्तिसँग उच्चस्तरीय भेटघाट गरी आवश्यक वातावरण बनाउने योजना थियो ।
तर परराष्ट्रमन्त्री आरजु र एमाले नेता ज्ञवालीले भारत सरकारका आधिकारिक प्रतिनिधिसँग भेट नै गर्न पाएनन् । उनीहरूले भेटका लागि प्रयास गरे पनि भारतीय पक्षबाट भेट्न नमानेपछि खाली हात फर्केका हुन् ।
तर परराष्ट्रमन्त्री आरजुले आफू नेपाल–भारतको अर्थ सम्बन्धी एउटा सम्मेलनमा भाग लिन र उपचारका लागि दिल्ली गएको कारण कसैसँग भेटघाटको कार्यतालिका नै नरहेको दाबी गरिन् । भारतबाट फर्किए लगत्तै त्रिभुवन विमानस्थलमै सोमबार उनले सञ्चारकर्मीसँग भारतीय नेतासँग आफ्नो भेटघाटको कुनै कार्यक्रम नरहेको बताइन् । स्वास्थ्य जाँच तथा एउटा कार्यक्रममा सहभागी भएर आफू फर्केको उनको भनाइ थियो ।
हुन त एमाले उपमहासचिव ज्ञवाली पनि प्रवासी संघ नेपाली, भारतले आयोजना गरेको साहित्यिक कार्यक्रममा भाग लिन दिल्ली पुगेका थिए । तीन दिनसम्म प्रवासीहरूकै कार्यक्रममा सहभागी भएर समय बिताएको उनले बताए ।
ज्ञवालीले भने, ‘म प्रवासी संघको कार्यक्रमका लागि भारत गएको थिएँ । प्रधानमन्त्री ओलीको भारत भ्रमणसँग मेरो भ्रमणको कुनै सरोकार छैन ।’
तर उनी निकट स्रोत भन्छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले दूत भएर उनी भारत गएका थिए । उनी सहभागी भएको कार्यक्रम पार्टीले भनेअनुसार नै आयोजना गरिएको थियो ।’
चीनबाट फर्केपछि प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जाने भनेर लगातार भन्दै आएका छन् । परराष्ट्रमन्त्री आरजुले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुने बताएकी थिइन् । तर ओलीको भ्रमणलाई लिएर भारतले खासै चासो देखाएको छैन । नेपालस्थित भारतीय दूतावासदेखि दिल्लीसम्मले ओली भ्रमणका बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
विदेश मामिलाका जानकार तथा एमाले पार्टीका नेता विष्णु रिजालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा कुनै अन्योल छैन । आवश्यकता र समय सन्दर्भ अनुसार नै प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने उनको भनाइ छ । ‘यसका बारेमा कूटनीतिक च्यानलमार्फत कुराकानी भइरहेको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री आरजु र एमाले उपमहासचिव ज्ञवालीको भारत भ्रमणलाई लिएर भ्रम फैलाउने काम भइरहेको रिजालले बताए । नेता ज्ञवाली प्रवासी संघको एउटा साहित्यिक कार्यक्रममा भाग लिनका लागि भारत गएको उनले बताए । ज्ञवालीको भारत भ्रमणलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणसँग जोडेर हेर्न नमिल्ने उनले प्रस्ट पारे ।
रिजालले परराष्ट्रमन्त्री आरजु र एमाले उपमहासचिव ज्ञवाली पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएर फर्किएको भन्दै त्यसलाई प्रधानमन्त्री ओलीको भ्रमणसँग जोडेर हेर्न नहुने बताए ।
परराष्ट्रमन्त्री आरजु भारतमा भएको बेला भारतका प्रधानमन्त्री, विदेशमन्त्री विदेशमा थिए । त्यस कारण पनि भेटघाटको कार्यतालिका नबन्नु स्वाभाविक रहेको रिजालको भनाइ छ । दुवै नेताको औपचारिक भ्रमण नभएका कारण पनि भेटघाटलाई महत्त्व नदिएको हुनसक्ने उनले बताए । यद्यपि परराष्ट्रमन्त्री जस्तो व्यक्तिले बिच बाटोबाटै अरू देशको भ्रमण गर्नु राम्रो नहुने उनको भनाइ छ ।
पूर्वराजदूत विजयकान्त कर्ण प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्कालै नहुने देखिएको बताउँछन् । ‘ओलीलाई भ्रमण गराउने गरी भारतमा वातावरण नै बनेको छैन,’ उनले भने, ‘कुनै नयाँ इस्यु नै छैन ।’
_mE94KLoBxv.jpg)
उपचारका क्रममा अहिले दिल्लीमा रहेका पूर्वराजदूत कर्णले भारतमा प्रधानमन्त्री ओलीको भ्रमणको कुनै चर्चा नै नरहेको बताए । कूटनीतिमा आफ्नो इच्छाले मात्र केही नहुने प्रस्ट पार्दै उनले भारतमा कसैसँग भेटघाट हुँदैन भन्ने कुरा परराष्ट्रमन्त्री आरजुलाई थाहा रहे पनि भारत भ्रमण गरेको प्रस्ट पारे ।
भारतसँग प्रधानमन्त्री ओलीले नै सम्बन्ध बिगारेको पूर्वराजदूत कर्ण बताउँछन् । आफैँले बिगारेको सम्बन्ध अब ओलीले नै सुधार्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘प्रधानमन्त्री हुने बित्तिकै अरू काम छाडेर भारतको विरुद्धमा अभिव्यक्ति दिन थाल्नुभयो । पार्टीको बैठकमा समेत अमेरिका र भारतले आफूलाई हटाउन चाहेको भन्नुभयो । विभिन्न औपचारिक कार्यक्रममा ईपीजी, सीमा विवादको कुरा उठाएर भारतलाई च्यालेन्ज दिनुभयो । के यी सब कुराको नोटिस भारतले गरेको छैन होला ?’
भारतसँग बिग्रेको सम्बन्ध सुधार गर्न नयाँ ढंगबाट अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।
जनवरीको दोस्रो हप्तातिर दिल्लीको विधान सभा चुनाव हुँदैछ । त्यसका लागि भारतीय जनता पार्टीले सम्पूर्ण शक्ति लगाइरहेको छ ।
भारतको केन्द्र सरकारमा भाजपाको नेतृत्व रहे पनि दिल्लीमा आम आदमी पार्टीले सरकार बनाएको छ । भाजपाका लागि दिल्ली प्रतिष्ठाको विषय बनेको छ । आम आदमी पार्टीले ७० वटै सिटका लागि आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ भने भाजपा पनि उम्मेदवार चयनका लागि जुटेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यही हप्ता उम्मेदवारको नाम टुङ्गो लगाउने छ ।
प्रधानमन्त्री मोदी स्वयं चुनावमा केन्द्रित हुने भएकाले तत्काल प्रधानमन्त्री ओलीको भारत भ्रमणको सम्भावना टरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण