‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै ढकालले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताएका हुन् । उनले पार्टीले संसद्मा बहुमत पुर्याएको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युँझाउने बताए ।
उनले भने, ‘यस पटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युँझाउने छौँ । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो । राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौँ । ०८४ मा संख्या पुर्याउँछौँ । खबरदार ।’
उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए ।