इङ्ल्यान्डमा डिनर, दुबईमा ब्रेकफास्ट र आबुधाबीमा लन्चपछि फाइनल खेल्न पाकिस्तान
सारांश
- लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिताको उपाधि जित्यो, क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले हराउँदै।
- जिम्बाबेका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले ठूलो भूमिका खेले, छैटौं नम्बरमा आएर अविजित २२ रन बनाए।
- फाइनल खेलका लागि ७ हजार किलोमिटर टाढाबाट आएका राजाले अन्तिम ओभरमा चौका र छक्का प्रहार गर्दै टिमलाई जिताए।
काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिताको उपाधि लाहोर कलन्दर्सले जित्यो । लाहोर कलन्दर्सले आइतबार राति गद्दाफी स्टेडियममा खेलिएको फाइनल खेलमा क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले हरायो ।
टस जिही पहिले ब्याटिङको निर्णय लिएको क्वेटा ग्लाडिएटर्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लाहोर कलन्दर्सले १९.५ ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
ठुलो लक्ष्य पछ्याएको लाहोर कलन्दर्सलाई उपाधि चुमाउन जिम्बाबेका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले महत्वपूर्ण भूमिका निर्वाह गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा छैटौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका उनले तीन सयभन्दा बढीको स्ट्राइक रेटमा अविजित २२ रन बनाए ।
यस क्रममा उनले आक्रामक ब्याटिङ गर्दै केवल सात बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । त्यसैले लाहोर कलन्दर्सले उपाधि जितेपछि सिकन्दर राजा निकै चर्चामा छन् । खासमा, ३९ वर्षीय सिकन्दर राजा फाइनल खेलका लागि टस हुनुभन्दा केही समयअघि मात्र स्टेडियम पुगेका थिए ।
उनी सात हजार किलोमिटरभन्दा बढी दूरी तय गरेर फाइनल खेल्न लाहोर पुगेका हुन् । फाइनलपछि यो कुरा उनी आफैले बताएका हुन् । उनी मे २४ तारिखको राति इङ्ल्यान्डमा थिए । त्यहाँ उनले जिम्बाबेको टोलीबाट इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेलेका थिए ।
मे २४ तारिखमा इङ्ल्यान्ड र जिम्बाबेबिचको टेस्टको तेस्रो दिनको खेल सकिएपछि उनको मनमा पीएसएलको फाइनल खेल्ने चाहना जागेको थियो । त्यसपछि उनले यस विषयमा टोलीका प्रशिक्षक र साथीहरुसँग कुरा गरेका थिए । अनुमति पाएपछि उनी पाकिस्तानतर्फ लागेका थिए ।
‘टेस्टको तेस्रो दिनको खेल सकिएपछि पीएसएलको फाइनल खेल्न मन लाग्यो । त्यो दिन मैले २५ ओभर बलिङ गरेको थिएँ भने २० ओभर ब्याटिङ पनि गरेको थिएँ । खेलपछि हामीले बर्मिङ्घममा डिनर लियौँ । म विमान चढेर दुबई पुगेँ । अर्को दिन विहान दुबईमा ब्रेकफास्ट गरेँ । त्यसपछि आबुधाबी पुगेर लन्च गरेँ । त्यसपछि विमान चढेर पाकिस्तान पुगेँ । फाइनल खेलका लागि टस हुनुभन्दा केही समयअघि मात्र म रंगशाला पुगेको थिएँ,’ पीएसएलको फाइनलपछि उनले भनेका छन् ।
उनले बाटोबाटै आफू फाइनल खेल्न आउँदै गरेको जानकारी लाहोर कलन्दर्सको प्रशिक्षक र व्यवस्थापन पक्षलाई गराएका थिए । तर, उनी समयमै स्टेडियम पुग्नेमा कोही पनि विश्वस्त थिएन । टसअघि अचानक स्टेडियम पुगेपछि उनलाई प्लेइङ–११ मा स्थान दिइएको क्लबले जनाएको छ । उनले फाइनलमा एक विकेट पनि लिएका थिए ।
खेलको अन्त्यतिर लाहोर कलन्दर्स हारतर्फ अग्रसर देखिएको थियो । यस्तो स्थितिमा अन्तिम ओभरमा सिकन्दर राजाले मोहम्मद आमिरको बलमा चौका र छक्का प्रहार गर्दै आफ्नो टोलीलाई उपाधि चुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026