अविश्वसनीय नेतृत्व र उत्तम विकल्प

वर्तमान राजनीतिक नेतृत्वप्रति जनविश्वास टुट्दै छ । नेतृत्वले के टुटेको जनविश्वास पुनर्आर्जन गर्दै छ ? छैन । जब अविश्वसनीय नेतृत्व थोपरिन्छ तब अविश्वास क्रमशः वितृष्णा र घृणामा परिणत हुन्छ । आजको स्थिति ठिक यस्तै छ । त्यसैले जनताले एक अर्को नयाँ परिवर्तन खोज्दै छन्, जुन परिवर्तनले विश्वसनीय र सक्षम नेतृत्व दिन सकोस् र समाजले सापेक्षिक सुख–शान्ति र खुसी प्राप्त गरोस् । यसका लागि पुरानो र नयाँ नेतृत्वको प्रतिस्पर्धा छ । यसमा विप्लवको उदय कति सम्भव छ ? पुरानो नेतृत्व किन र कसरी अविश्वसनीय बन्यो ? यसको उत्तम विकल्पका रूपमा विप्लवको उदय किन र कसरी आवश्यक र सम्भव छ ? यस विषयमा चर्चा गरौँ ।
- वर्तमान नेतृत्व र जनताको अविश्वास
वर्तमान नेतृत्व एक समय जनताको विश्वास जितेरै नेतृत्वमा पुगेको हो, तर कालान्तरमा त्यो विश्वास कायम राखिरहन सकेन । आफू अविश्वसनीय बन्दै गएकामा उसले अनभिज्ञता जनायो र गुमेको विश्वास पुनर्आजन गर्न असफल भयो । परिणामतः आजको यो संकट पैदा भएको हो, त्यसैले आउनुहोस्, यसको कारण र परिणामबारे चर्चा गरौँ ।
(क) कारण : नेतृत्वले सिद्धान्त र व्यवहारमा निरन्तर एकरूपता कायम गरेन, ठोस रूपमा भनाइ र गराइको तालमेल अनि सरकारमा हुँदा र नहुँदाको लय मिलाएन । ऊ निरन्तर लक्ष्य र जनताकेन्द्रित भइरहन सकेन, अनि निडर र निस्वार्थी पनि रहिरहन सकेन । जम्माजम्मी यिनै कारणले नेतृत्वप्रति जनताको अविश्वास चरमचुलीमा पुग्यो ।
(ख) परिणाम : अहिले नेतृत्वप्रति जनताको अविश्वास वितृष्णा र घृणामा बदलिएको छ । निश्चित नेताको अनुहार हेर्न जनतालाई मनै छैन । रेडियो–टीभी बन्द गर्ने वा अर्को च्यानल लाउने स्थिति छ । फूलमाला लाउँदा पनि मनमनै गाली गर्ने अवस्था छ ।
प्रगति, परिणाम, सकारात्मकता, दूरदर्शिता, प्रतिबद्धता, आस्था र आशाका प्रतीक नेता अहिले सायद सबैभन्दा बढी घृणाको पात्र बनिरहेका छन् । किनभने उनीहरू व्यवहारतः ठोस परिणाम दिन र निरन्तर जनताको विश्वास जित्न असफल र अक्षम साबित भए । बरु उल्टै निराशा, पलायनता, भ्रष्टाचार, अव्यवस्था, समस्या र संकटको कारक बने ।
शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड लगायत परीक्षित नेताहरू आलोपालो प्रधानमन्त्री बनेर केही पनि हुँदैन भन्ने सत्य जनतालाई थाहा भइसकेको छ । किनकि यिनीहरूले पटकपटक देशको नेतृत्व गरेका छन् र आफ्नो दृष्टिकोण अनि क्षमता देखाइसकेका छन् ।
जनताको आधारभूत आवश्यकता (शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सूचना–सञ्चार, गाँस–बास–कपास)को क्षेत्रमा उल्लेख्य उपलब्धि नहुँदा जनता असन्तुष्ट र निराश हुने स्थिति पैदा भयो । यो मौकाको फाइदा उठाएर विकल्पको दाबी गर्दै उदय भएका स्वतन्त्र व्यक्ति र अन्य क्षत्रीय पार्टी पनि संकटको स्थायी समाधान नभएर क्षणिक सुस्केरा मात्र साबित हुँदै छन् । यसरी आज समस्याहरूको सूचीको एक नम्बरमा अविश्वसनीय राजनीतिक नेतृत्व, त्यसप्रतिको वितृष्णा र घृणा छ ।
अहिलेका देउवा नेवि संघको नेता हुुँदाका देउवा होइनन्, ओली झापा विद्रोह वा पञ्चायतकालीन ओली पनि होइनन्, न त अहिलेका प्रचण्ड जनयुद्धकालीन प्रचण्ड नै हुन्, बरु यिनीहरू राजतन्त्रकालका बदनाम राजाका नयाँ संस्करणजस्तै पो लाग्छन् भन्ने जनगुनासा छन् ।
(ग) व्याख्या : सामाजिक उत्थानको लक्ष्यसहितको जीवन मानव मात्रको पहिचान हो भने त्यो सामाजिक उत्थानको अगुवा नै नेतृत्व हो । समय क्रममा नेता जब लक्ष्यविहीन बन्छ तब त्यो मानव रहन्छ कि रहँदैन ? गम्भीर प्रश्न उठ्छ । विडम्बना ! नेतृत्वले आफ्नो लक्ष्य–उद्देश्य बदलेको कुरा न कहिल्यै इमानदारीपूर्वक सार्वजनिक गर्यो, न त त्यो तथ्य बुझाउने नयाँ नेता जन्म्यो र जनताले समयमै बुझ्न सके । परिणामतः नेतृत्वले सत्ता र शक्तिको दुरुपयोग गर्दै कलात्मक ढंगले सामाजिक लक्ष्यलाई व्यक्तिगत लक्ष्यमा बदलिदियो ।
निडर र निस्वार्थी नेता डरपोक र लोभी–स्वार्थीमा बदलियो । आदर्श नायक घृणित खलनायकमा बदलियो । यसरी ऊ अन्ततः जनताबाट अलग्गिँदै सारतः सामाजिक मानवबाट असामाजिक अमानवमा बदलियो । त्यसैले ऊप्रति वितृष्णा र घृणा पैदा भयो । यसलाई मार्क्सवादी भाषामा वर्ग परिवर्तन भनिन्छ । हरेक नेताहरूले प्रारम्भमा श्रमिक, शोषित र शासित जनताको प्रतिनिधि भएर सङ्घर्ष गरे, तर जब सत्ता र शक्तिमा पुगे तब ती निश्चित नेता आफैँ मालिक, शोषक र शासकमा रूपान्तरण भए । राजाका विरुद्ध लडेकाहरू आफैँ नयाँ राजा बन्न पुगे । त्यसैले अहिलेका देउवा नेवि संघको नेता हुुँदाका देउवा होइनन्, ओली झापा विद्रोह वा पञ्चायतकालीन ओली पनि होइनन्, न त अहिलेका प्रचण्ड जनयुद्धकालीन प्रचण्ड नै हुन्, बरु यिनीहरू राजतन्त्रकालका बदनाम राजाका नयाँ संस्करणजस्तै पो लाग्छन् भन्ने जनगुनासा छन् । महान् जनताहरू भने निरन्तर पुरानो र नयाँ राजतन्त्रविरुद्ध लड्दै आएका छन् र लडिरहनेछन् ।
- विश्वसनीय नेतृत्व–उत्तम विकल्प
प्रायः श्रम र उत्पादन कार्यमा खटिरहेका विप्लव समकालीन नेताहरूमा सबैभन्दा भिन्न छन् । उनी नयाँ पुस्ताका नेता हुन्, जसले केही नयाँ संश्लेषणसहित विश्वसनीय नेतृत्वको स्पष्ट संकेत दिएका छन् । यद्यपि जनताको विश्वास जित्ने प्रतिस्पर्धामा सबै छन्, तर यहाँ विप्लवकेन्द्रित केही नयाँ संश्लेषण र प्रस्तावबारे चर्चा गरौँ ।
(क) ‘नयाँ आर्थिक मार्ग’ (एनईटी–नेट) : नेकपाले मार्क्सवादी अर्थशास्त्रमा नयाँ विकासस्वरूप ‘नेट’को संश्लेषण गरेको छ । ‘नेट’ले वर्तमान निजी स्वार्थकेन्द्रित विश्वको विकल्प कर्मशील समाजकेन्द्रित नयाँ विश्व निर्माणार्थ जगको काम गर्ने सम्भावना छ । यसले संक्रमणकालीन एकीकृत स्वामित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको मान्यता बोकेको छ ।
‘आधारभूत आवश्यकता राज्यको, अधिकतम समृद्धि व्यक्तिको दायित्व’ भन्ने नारा छ । श्रम र समयको महत्त्व बोधसहित श्रम–उत्पादन–अनुसन्धान र सङ्घर्षको सूत्र लागु गरिएको छ । यो व्यावहारिक अर्थशास्त्र पनि हो, जसले श्रम–उत्पादन र आत्मर्निभरताको मान्यता बोकेको छ, जुन मान्यता नेतृत्वबाट लागु गर्दै आम जनतालाई पैसा (पुँजी) निर्माण गर्न दिशानिर्देश गर्छ ।
अहिले नेकपाले गरिरहेको उत्पादन र त्यसमा विप्लव लगायत नेता–कार्यकर्ता र जनताले गर्ने प्रायः दैनिक श्रम यही ‘नेट’ अन्तर्गत भइरहेको छ । यसले देशमा महामारीको रूपमा फैलँदो भ्रष्टाचार, जहाँ नेतृत्व जोडिन्छ, यसैको समस्या हल गर्छ र समग्रमा समाजवादको प्राप्ति, रक्षा र विकासमा सकारात्मक योगदान गर्छ ।
(ख) अनिश्चय सम्भावना, रक्षा र रूपान्तरण : भ्रष्टाचारविरुद्ध लडेको योद्धा आफैँ किन भ्रष्ट हुन्छ ? शोषण–उत्पीडनले जन्माएको विद्रोही किन आफैँ शोषक–उत्पीडक बन्छ ? राम्रो मान्छे नराम्रो किन हुन्छ ? यहाँ खराब राम्रो पनि हुन सक्छ । के अनिश्चय छैन त ? यो अनिश्चय सम्भावना, रक्षा र रूपान्तरणको नयाँ संश्लेषण अन्तर्गत मानवीय सचेत प्रयास भएन भने पुँजीवादको अन्त्य भएर समाजवाद स्वतस्फूर्त ढंगले आउँदैन र त्यसको रक्षा पनि हुँदैन । त्यसैले माओवादी जनयुद्धको धक्का र असफलता (हालै भारतमा क. बसवराजुको क्षति) अनि नयाँ युगलाई मध्यनजर गर्दै यो नयाँ संश्लेषण अघि सारेको हो । जसले क्रान्तिको सफलता र समाजवादको रक्षा र विकासमा सकारात्मक योगदान गर्ने विश्वास लिएको छ ।
(ग) एकीकृत जनक्रान्ति : यो नयाँ संश्लेषणले क्रान्तिका सबै मोर्चा (सशस्त्र र शान्तिपूर्ण) एकीकृत रूपमा प्रयोगको अनुमति दिन्छ । चुनावलाई पनि एक मोर्चाका रूपमा परिभाषित गर्छ । यसले मित्र वर्ग (मजदुर, किसान, राष्ट्रिय पुँजीपति र मध्यम वर्ग), शक्ति (कम्युनिस्ट, समाजवादी, देशभक्त र गणतन्त्रवादी शक्ति) र मित्र समुदाय (खसआर्य, आदिवासी जनजाति, महिला, दलित, मधेसी र मुस्लिम)लाई दलाल पुँजीवादविरुद्ध एकीकृत गर्न मार्गदर्शन गर्छ ।
(घ) नयाँ विचार, कार्यक्रम र नेतृत्वको प्रस्ताव : नेपालमा अब नयाँ विचार र कार्यक्रमसहितको नयाँ नेतृत्व आवश्यक छ । त्यसैले विप्लवले देउवा, ओली र प्रचण्डलाई संरक्षक भएर बस्न सुझाएका हुन् । अवश्य पनि पुरानो पुस्ताको नेतृत्वलाई सम्मान र सुरक्षाको प्रत्याभूति चाहिन्छ तर कार्यकारी भूमिकामा नयाँ पुस्ताअघि आउन अनिवार्य छ । उनीहरू संरक्षक बन्न अस्वीकार गर्छन् भने इतिहासको संग्रहालयमा थन्किनेछन्, जहाँ शासकहरू प्रायः थन्किन गर्छन् ।
पार्टीले सरकार जन्माउने तर सरकारले पार्टी सिध्याउने अर्थात् जन्मदाता रुवाएर जनताको हाँसो ल्याउँछौँ भन्ने आजको नक्कली व्यवस्था र नेताको अन्त्य वा रूपान्तरण अनिवार्य छ । विप्लव–नेकपाले अघि सारेको प्रस्ताव यही हो । जुन प्रस्तावले विश्वसनीय नेतृत्वको उत्तम विकल्प दिन्छ ।
अन्त्यमा, आजको राजनीतिक नेतृत्व अविश्वसनीय बन्नुमा व्यक्ति कम व्यवस्था बढी दोषी छ । किनकि यो दलाल पुँजीवादको खुट्टाले समाजवादको यात्रा गर्दै छ । समाजवादी यात्राद्वारा समाजवादी गन्तव्यमा पुग्ने हो भने समाजवादी खुट्टा आवश्यक छ र त्यो खुट्टाको काम श्रम, उत्पादन र आत्मनिर्भरताले गर्छ जो विप्लवले सुरु गरेका छन् । पात्रकेन्द्रित हुँदा पनि पुरानो पुस्ता गणतन्त्र ल्याउन सफल छ तर यसलाई जनताको गणतन्त्रमा रूपान्तरण गर्न नयाँ पुस्ताको खाँचो छ, त्यसैले भन्न सकिन्छ– विश्वसनीय नेतृत्वको उत्तम विकल्प विप्लव हुन् ।
(लेखक नेकपा स्थायी समिति सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कले छोडे ह्वाइट हाउस, डजलाई भने निरन्तरता दिने
-
स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम
-
आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने
-
पूर्वमन्त्री खड्काको निधन
-
ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध
-
विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !