बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस

सोमबार, १९ जेठ २०८२, १३ : ०५
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसले संविधान गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको जनाएको छ।
  • पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जनताले बनाएको संविधानको रक्षा गर्नुपर्ने बताए।
  • कांग्रेस बैठकमा पार्टीको क्रियाशील सदस्यता असारसम्म सम्पन्न गर्ने र अन्य समसामयिक विषयमा छलफल भएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ । 

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको स्पष्ट पारेका हुन् । 

उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताए । उनले त्रुटिहरूलाई समाधान गर्ने गरी संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पारे ।  

उनले भने, “यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैँले दिएको निर्माण गरेको संविधान हो । आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ । जति पनि विषयवस्तुहरू अनुभवको आधारमा सुधार गर्नुपर्छ जस्तो लाग्छ । त्यसको निर्क्योल पनि जनप्रतिनिधिहरूको संस्था संसद्ले नै अगाडी बढाउँछ । त्यसो हुनाले हामीले संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्छ भनेर सरकारले भनेको हो । संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।”  

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ । प्रवक्ता महतले पार्टीको केन्द्रीय कमिटीको बैठक छिटै बस्ने जानकारी दिए । उक्त बैठकमा गणतन्त्र, समावेशिता लगायतका संविधानले दिएका उपलब्धिहरूको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रूपान्तरण लगायतका चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा छलफल गरिने उनको भनाई थियो ।

आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप