आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

आइतबार, २५ जेठ २०८२, १३ : ३३
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि संक्रमण फैलिन नदिन पूर्व तयारी गरेको छ।
  • मन्त्रालयले १७ वटा स्थल नाका, ३ वटा हवाई नाका र हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ।
  • मनसुनजन्य रोग र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै, स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग बैठक गरी आवश्यक तयारी गरेको छ।

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमण दर तीव्र रूपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सङ्क्रमण फैलन नदिन पूर्व तयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको सङ्क्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारको काम भइरहेको मन्त्रालयको भनाइ छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा.प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीव्र रूपमा फैलिएको सङ्क्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्व तयारी भइरहेको जानकारी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता डा.बुढाथोकीले छिमेकमा सङ्क्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्व तयारीमा लागिरहेको बताएका हुन् । 

पूर्व तयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडीटी टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिरहेको उनको भनाई छ । 

प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरू देशभित्र वा देश बाहिर जो भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरू देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए । 

डा.बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । सङ्क्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने उनले दाबी गरे । उनले आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेटभित्र काम सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जानकारी दिए । देशभरका २५ वटा हब हस्पिटल, २ हजारभन्दा बढी स्याटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको उनको भनाई छ । 

कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरूलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको छ । सङ्क्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसङ्ख्यालाई धान्न सक्ने गरी तयारी गरिएको उनले बताए । 

उनी भन्छन्– ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरहरूलाई पनि एक्टिभेट गरिसकेका छौँ । र निदानका लागि र मनिटरिङका लागि देशभरिका ६ सय भन्दा बढी प्रयोगशालाको रिपोर्टहरूलाई केन्द्रबाट र प्रदेशले मनिटरिङ गरिरहेको छ । कुनै कारणवश सङ्क्रमण फैलिई हाल्यो भने त्यो सङ्क्रमणलाई थप सङ्क्रमण नफैलियोस्, थप धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखेका छौँ । आम नेपालीले सतर्कता अपनाइदिनुभयो भने हाम्रो पूर्व तयारीले कोभिडलाई परास्त गर्नसक्छौँ ।’

मनसुनी प्रकोप र कोरोना सङ्क्रमण बढे समस्या आउन सक्ने 
नेपालमा मनसुनजन्य रोगको सङ्क्रमण हरेक वर्ष तीव्र रूपमा बढिरहेको छ । विगत केही वर्ष यता मनसुनका समयमा झाडापखाला, श्वासप्रश्वास, टाइफाइड, हैजाजस्ता रोगको सङ्क्रमण घातक रूपमा देखिएको छ । प्रवक्ता डा।बुढाथोकीले मनसुनका समयमा देखिने पानीजन्य रोग र सङ्क्रमण तथा कीटजन्य रोग र सङ्क्रमण डेङ्गु, मलेरियाजस्ताको सङ्क्रमण फैलने जोखिमलाई मध्यनजर गरेर पनि पूर्वतयारको काम गरिरहेको बताए । 

मनसुनी प्रकोप र कोरोना सङ्क्रमणका बारेमा सचेत रहन आम नागरिक पनि अग्रसर हुनुपर्ने उनको सुझाव छ । सरकार एक्लैको पहलले मात्र सङ्क्रमण रोक्न सम्भव नभएकाले आम नेपाली नागरिक पनि सचेत र सक्रिय भएर सोहीअनुरूप सचेतना अपनाइदिन प्रवक्ता डा। बुढाथोकीले आग्रह गरे । 

नागरिकले सचेतना पनि नअपनाउने र सरकारको आग्रह पनि नमान्ने हो भने सरकारसँग उपलब्ध सीमित श्रोत साधनले सबैको उपचार गर्न सक्ने अवस्था रहेको बताए।  उनले भने, ‘मनसुनजन्य रोगहरू हुन्, चाहे पानी प्रदूषित भएर फैलने रोगहरू हुन्, चाहे खाल्डाखुल्डीमा पानी जमेर लामखुट्टे बढेर लामखुट्टेबाट उत्पन्न हुने डेङ्गु जस्ता रोगहरू हुन् ।

ती सबैलाई पनि एउटै स्वास्थ्य संस्था र पूर्व तयारीले सम्बोधन गर्नुपर्ने भएकाले आम नेपाली नागरिकले जनस्वास्थ्यका मापदण्ड, स्वास्थ्यमा सचेतना, खानेपानी शुद्ध र खानेकुरा बासी सढेगलेका नखाने, फास्टफुड नखाने, मद्यपान धूम्रपान नगर्ने, लागुपदार्थ सेवन नगर्नेजस्ता कुराहरू गरिदिनुभयो भने अहिले कोभिडले बढाएको चुनौती सँगसँगै हाम्रो मनसुन र मौसमले बढाउने चुनौतीलाई पनि न्यूनीकरण गर्नसक्छौँ ।’

उनले विभिन्न प्रकोपको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग भर्चुअल र प्रत्यक्ष बैठकहरू गरिरहेको बताए । विगतमा जस्तो सामग्रीको अभावमा काम नै रोकिने अवस्था नआउने उनको भनाई छ ।  उनले भने, ‘हामी कहाँ भौगोलिक रूपले हिमाल, पहाड र तराईका विविध कठिनाइहरू छन् । जसले गर्दा बाटो वा सवारी साधन अथवा अन्य केही पनि उपलब्ध नहुन सक्ने वा बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसको पूर्व तयारीका लागि हामीले २५ वटा हब हस्पिटलमै इमर्जेन्सी लजिस्टिकका ट्याङ्करहरू पनि राखेका छौँ । त्यस्तै जिल्ला अस्पतालहरू र अन्य स्वास्थ्य संस्थाहरू निजी, सहकारी र सरकारी सबैलाई विपद्का लागि इमर्जेन्सी लजिष्टिकहरु पहिले नै भण्डारण गरेर राख्नुस् । त्यहाँका क्यान्टिनहरूलाई पनि कम्तीमा १५ दिन पुग्ने गरी भण्डारण गर्न लगाउनुस् भन्ने किसिमले तयारी गरेका छौँ । हामीले त्यहीअनुसार मेचीदेखि महाकालीसम्मका सबै स्याटेलाइट हस्पिटल र हब हस्पिटललाई पनि तयारी गरिसकेका छौँ ।’

डा.बुढाथोकीले अहिलेको मनसुनमा विगतको वर्षभन्दा धेरै गर्मी हुने र धेरै वर्षा हुने आङ्कलन आइरहेकोले त्यसैअनुसार काम गर्न सक्नेगरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । नेपालको पश्चिम-उत्तरका क्षेत्रहरूमा एकातिर जलवायु परिवर्तनका कारण अधिक वर्षा हिउँ पहिरो जाने जोखिम छ भने तराई क्षेत्रमा अत्यन्त गर्मी भएर हिट वेभ र हिट स्ट्रोकको जोखिम रहेकोले मन्त्रालयले अलग्गै रणनीति बनाएर काम गरिरहेको उनले जानकारी दिए । 

विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवले नयाँ रूपमा रेस्पोन्स गर्नलाई मातहतका निकायलाई निर्देशन दिइएको उनको भनाई छ । मनसुन सक्रिय रहेको सडक बाटो बिगार्ने अवरोध हुने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्यको आकस्मिक सेवा राहत उद्धारको लागि बाटोबाट सम्भव भए बाटोबाट र सम्भव नभए हवाई मार्गको माध्यमबाट, नेपाली सेनाको सहयोगमा र विभिन्न निकायसँग सहकार्य गर्ने र गृह मन्त्रालयसँग पनि विपद्सँग सहकार्य गरेर हेलिकप्टरमार्फत पनि सेवा पुर्‍याउने गरी कार्यढाँचा तयार गरिएको बताए । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप