मेरो कार्यसम्पादन नेपाली जनताले प्रस्टैसँग देखेका छन् : कुलमान घिसिङ
सारांश
- सर्लाहीमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको छ। उनले लोडसेडिङ अन्त्य र ऊर्जा व्यवस्थापनमा ऐतिहासिक काम गरेका थिए।
- घिसिङले शतप्रतिशत विद्युतीकरण र घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन योगदान दिए। जलविद्युत निर्यातको ढोका खोलेर अर्थतन्त्र चलायमान बनाए।
- घिसिङले आफ्नो कार्यकालमा इमानदार प्रयास गर्दा पदबाट हटाइएको बताए। उनले लोडसेडिङ हटे पनि अन्य क्षेत्रमा उज्यालो ल्याउनुपर्ने र जलविद्युतको प्रयोग गर्नुपर्ने कुरा राखे।
सर्लाही । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको छ । लामो समयदेखि देशभर व्याप्त विद्युत् लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम बुधबार निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई अभिनन्दन गरेको हो ।
राष्ट्रसेवामा समर्पित योगदान, दूरदृष्टि र कुशल नेतृत्वकर्ताका कारण घिसिङ सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्व भएको समितिले जनाएको छ । नागरिक समाजका अगुवा एवम् कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर खपाङीले विकट चेपाङ बस्तीलगायत देशभरि नै करिब शतप्रतिशत विद्युतीकरण गर्न र निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न घिसिङ सफल भएको बताए । जलविद्युत एवम् सौर्य ऊर्जा उत्पादनमा ऐतिहासिक फड्कोमारी देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशसम्म निर्यातको ढोका खोली देशको अर्थतन्त्र चलायमान बनाउन घिसिङले उल्लेख्य योगदान गरेको उनको भनाई थियो ।
नागरिक अभिनन्द मूल समितिका संयोजक धन बहादुर मिक्चनले घिसिङको अथक प्रयास, इमानदारिता र जनउत्तरदायी नेतृत्वले राज्यको संस्थामा सेवा प्रवाहको नयाँ प्रतिमान स्थापित भएको बताए । घिसिङको अभिनन्दन केवल व्यक्तिको सम्मान मात्र नभई त्यो निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रद्धा भएको उनले उल्लेख गरे ।
कार्यक्रममा घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रस्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको,जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमानदार प्रयास गर्दा पदबाट हटाइएको बताए । अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उनले उल्लेख गरे ।
उनले भने, ‘लोडसेडिङको अँध्यारो हटेको छ तर अझै धेरै क्षेत्रमा अँध्यारो छ त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक रूपमा करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रूपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौँ भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण