शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

कठपुतला

शनिबार, ०७ असार २०८२, १४ : ००
शनिबार, ०७ असार २०८२

सारांश

  • लेखक आफ्नो कोठामा बिहान ब्यूँझिएपछि अलार्म बन्द गर्छन् र उठ्न ढिला गर्छन्।
  • उनी युटोपियाको समाजमा बस्छन्, जहाँ रोबोक्रोम नामक रोबोटले उनलाई दैनिक जीवनमा मद्दत गर्छ र उसलाई उत्सवमा जानबाट रोक्छ।
  • मलक नामका पात्र, उत्सवमा जान चाहन्छन् तर रोबोक्रोमले उनलाई काम गर्न र सरकारको नियम पालना गर्न जोड दिन्छ।

बिउँझिएको केही समय भइसक्दा पनि ऊ आँखा चिम्लेर पल्टिरह्यो । 

मनमा उर्लेका सागरतरङ्गजस्ता छालसित खेल्दै ऊ एक्लै रमाइरह्यो । चराचुरूङ्गीको आवाज दिने चिरबिरे अलार्म कोठाभरि छरिएपछि आँखा खोल्न बाध्य भयो । ओछ्यान छाड्नुबाहेक अरू विकल्प छैन । अलार्म बजेको पाँच मिनेटभित्र ऊ उठेन भने त्यही मिठो चिरबिरे आवाज कर्कश ध्वनिमा परिवर्तित हुन्छ भन्ने कुरा उसलाई थाहा छ । 

उठ्न मन नभए पनि गीत गुनगुनाउँदै ओछ्यानबाट उठ्यो । बाथरूमतिर गयो । ढोकानजिक मात्रै पुगेको थियो, बाथरूमभित्र हल्का गुलाफी रङको फोटोभोल्टिक्स विकेन्द्रीय सौर्य ऊर्जाको प्रकाश फिँजिन थाल्यो । 

केही सेकेन्डपछि बाथरूमको स्वचालित बत्ती बिस्तारै मधुरो हुँदै निभ्यो । कोठाको कुनामा अवस्थित वासबेसिनमाथि अर्को गुलाफी बत्तीको मधुरो प्रकाश फिँजिदै थियो । ऊ गीत गुनगुनाउँदै बाथरुमबाट निस्क्यो । कम्मर मर्काउँदै नाचेजस्तो गर्दै वासबेसिननेर पुग्यो । धारा खोल्यो । दाँत सफा गर्‍यो । ख्वाल्ल अनुहार पखाल्यो । वासबेसिनको बत्ती बिस्तारै मधुरो हुँदै अन्ततः निभ्यो । 

उसको अस्तव्यस्त ओछ्यानमाथि सौर्य ऊर्जाको गुलाबी प्रकाश चहकिलो भएर बल्न थाल्यो । वासबेसिनको धारा बन्द गरेर ऊ ओछ्यानको छेउमा पुग्यो । ओछ्यान मिलाउन थाल्यो । तकिया राम्ररी टकटकायो । तन्नाका छेउहरू मिलायो । पातलो सिरक सिनित्तै पट्यायो । ओछ्यानमाथि मिलाएर राख्यो । ओछ्यान छेउको बत्ती बिस्तारै मधुरो हुँदै गयो र निभ्यो । 

कोठाको मध्य भागमा रहेको टेबुलमाथि राखेको ल्याम्प बल्यो । गुलाफी रङको स्वचालित बत्ती बल्ने र निभ्ने क्रम हेर्दा लाग्थ्यो कोठाका बत्तीहरू र उसका बीच प्रकाश संवाद चल्दै छ । जुनजुन ठाउँमा बत्ती बल्यो ऊ सम्मोहित मानव सरह गीत गाउँदै, खुट्टा चाल्दै उतै तानिन्थ्यो । मानौँ गुलाबी प्रकाशमा कुनै सम्मोहन छ । अथवा फोटोभोल्टिक्स विकेन्द्रीय सौर्य ऊर्जाको प्रकाशमा उसले राम्ररी बुझेको छ । 

छिनमा बल्ने र छिनमा निभ्ने गुलाबी प्रकाश, उसको खुट्टाको ताल र उसले गाएका गीतको लय लोभलाग्दो छ । 

निकै खुसी छ आज । 

टेबुल नजिक राखेको कुर्सी तानेर बस्यो । 

गुनगुनाउँदै टेबुलमाथि राखेको माइक्रोल्यापटप खोल्यो । उसको मन त्यसै प्रफुल्लित छ । काम गर्न जाँगर चलेको छैन । ल्यापटप खोल्नेबित्तिकै गर्नुपर्ने कामका फाइलहरू एकपछि अर्को सरररर रिक्रनमा चिप्लिँदै आएर स्क्रिनको पिँधमा जम्मा हुन थाले । ऊ गीत गुनगुनाउँदै र औँलाले बिस्तारै टेबुलमा ताल दिएजस्तो गर्दै खुल्दै गएका फाइल हेर्दै बस्यो । 

खै के सोचेर हो एकछिनपछि बिस्तारै बोलायो । 

‘क्रोम !’

जवाफ आएन । 

फेरि बोलायो, ‘जैबरवोकी रोबोक्रोम... !’

‘भन्नुस् मलक !’

टेबुलमाथि सेतो बलजस्तो देखिने माइक्रोरोबोटभित्र झिलिक्क झिलिक्क गर्दै गुलाबी बत्ती बल्यो । 

रोबोक्रोमको एकनासे विद्युतीय स्वर गुञ्जियो । गुलाफी बत्ती एकचोटि मात्रै झिलिक्क गर्‍यो । रोबोक्रोमले चेतावनी दिएजस्तो सुनियो ।

‘पैरिजोमा उत्सव आजै हो ? होइन र ?’

ऊ निकै हर्षित छ आज ।

‘हामीले यो विषयमा पहिला पनि धेरै कुरा गरिसक्यौँ मलक । कुनै नयाँ विषयमा प्रश्न छ भने सोध्नुस् ।’

सेतो रोबोक्रोमको गुलाबी बत्ती फेरि बल्यो । 

ऊ उत्तर सुन्न अधीर छ । हाँस्दै सोध्यो, ‘कृपया मैले सोधेको प्रश्नको जवाफ दिनुस् जैबरवोकी रोबोक्रोम ! पैरिजोमा उत्सव आजै हो ? उत्सव कति बजेदेखि सुरु हुन्छ ?’

‘पैरिजोमा उत्सव आजै हो मलक । कार्यक्रम पाँच बजे सुरु हुन्छ । ’ क्रोमबाट सन्तुलित जवाफ आयो । गुलाबी बत्ती फेरि झिलिक्क झिलिक्क बल्यो । 

मलकका आँखा खुसीले टल्के । ‘हामी पनि त उत्सवमा जान्छौँ नि, होइन र रोबोक्रोम ? त्यहाँ आज धेरै परिकारका व्यञ्जन बेच्न राखिएका हुन्छन् रे । हामी पनि त जाने हो नि ! होइन त ?’

उसको प्रश्नमा छुकछुके बालकको जस्तो उत्सुकता छ । उत्सवको कुरा मात्रैले ऊ रमाएको छ । उसका औँलाले टेबलमा बिस्तारै ताल दिए । 

‘उत्सवमा जानुभन्दा पहिला हाम्रो आजको काम सकिनुपर्छ मलक । हामी पैरिजोमा उत्सवमा जाने हो भने आफ्नो काम तुरुन्त सुरु गरौँ । फाइलहरू खुला छन् । कार्य सकेर मात्र हामी उत्सवमा जान सक्छौँ ।’ गुलाफी बत्ती झिलिक्क झिलिक्क बल्यो । 

रोबोक्रोमको निर्देशन मलकको कानमा पुगे, तर अर्थहीन भएर । उत्सव उत्साहले उसको ध्यानलाई अरू नै विषयमा अल्झाएको थियो । दुई दिनअघिसम्म उसलाई पैरिजोमा उत्सवबारे कुनै जानकारी थिएन । उसको दिनचर्या सामान्य तवरले चलेको थियो । जैबरवोकी रोबोक्रोमले पनि उत्सवको जानकारी दिएको थिएन । 

तर उत्सवबारे जानकारी पाएपछि उसको मन थाम्न नसकिने भयो । 

हुन त ऊ हप्तामा एकचोटि मात्र घरबाट निस्किन्छ । सधैँजस्तै त्यस दिन पनि घरनजिकैको पबमा गएको थियो ऊ । पबको सूचनापाटीमा पैरिजोमा उत्सवबारे जानकारी राखिएको रहेछ । थप कुरा पबमा भेट भएका साथीहरूबाट सुन्यो । 

त्यस दिन पबभित्र पैरिजोमा उत्सवगफ भीषण रूपले चुलिएको थियो । त्यहाँ उपस्थित साथीहरू उत्सवको सूचनाले निकै हौसिएका थिए । कोही तात्तातो खानाको कल्पना गर्दै जिब्रो पड्काउँदै थिए । कोही आँखा ठुल्ठुला बनाएर उत्सवमा हुने रमाइलोबारे गफ छाँट्दै थिए । कोही चित्तरन्जक कुरा गर्दै थिए । कोही उत्तेजित भएर ‘म यसो गर्छु, म उसो गर्छु’ योजना गर्दै थिए । 

‘त्यहाँ त च्वाँकहरू हेर्न पाइने भो । उनीहरूसित नाच्न पनि पाइन्छ होला !’

‘आज हामी आफ्नो कार्यप्रति एकाग्रचित्त छैनौँ मलक । हामीले आफ्नो काम अहिलेसम्म सुरु गरेका छैनौँ । हामीलाई थाहा छ, युटोपिया सरकार समयको महत्त्वप्रति निकै संवेदनशील छ ।

मलकलाई नाच्न मन पर्छ । उसले मनमनै सोच्यो, ‘मौका जुरे म पनि च्वाँकहरूसित नाच्छु ।’

‘त्यहाँ विश्वभरिका नयाँनयाँ व्यञ्जनहरू उपलब्ध हुन्छन् रे ! मन लागे जति किनेर खान पाइन्छ रे !

‘मिल इन अ पिल’को सरकारी खाद्य चक्की खाँदाखाँदा वाक्क भएको अर्को साथी बोल्यो । 

‘उत्सवमा त जे मन लाग्यो त्यही गर्न पाइन्छ । अनुशासन नियन्त्रण खुकुलो हुन्छ रे ।’

‘उत्सवको दोस्रो दिन सार्वजनिक बिदा हुन्छ । कुनै काम गर्नुपर्दैन । 

जति मानिस त्यति कुरा ! लामो समयपछि उत्सव हुँदै थियो । खबर सुनेर सबै खुसी थिए । 

मलकका लागि उत्सवमा हुने रमाइला कार्यक्रमका कुरा त्यति महत्त्वपूर्ण थिएनन् । खाद्य चक्की खाँदाखाँदा ऊ वाक्कदिक्क भइसकेको थियो । 

जिब्रोका स्वादतन्तु संज्ञाशून्य हुँदै गएको आभास भएको थियो उसलाई । हरररर बास्ना आएको कल्पना मात्रैले उसको जिब्रो रसायो । 

आफैँसित वाचा गर्‍यो, ‘जेजस्तो खाना भेटिन्छ, सबै चाख्छु । खानामा खोट लगाउने छैन । त्यहाँ राखेका वाफ उड्दै गरेका तात्तातो खाना रोज्छु । होइन, चिसो खाना पनि चाख्छु ।’

अर्को मनले भन्यो, ‘होइन, गुलियो मात्रै खान्छु ।’

उत्साहले मन अनियन्त्रित हुन थाल्यो । 

उसको विचार तुरुन्त परिवर्तन भयो, ‘होइन, ट्वाक्क नुन, खुर्सानी र मरमसला हालको पकवानका परिकार अराजक भएर सताउँदै थिए । ऊ बहकिन थाल्यो । रमाउन थाल्यो तर फेरि कल्पना मात्रै हो सम्झेर दिक्क पनि हुन थाल्यो ।

‘के के पाइन्छ होला त्यहाँ ? धेरै परिकार होलान् । म छान्न सकुँला र ?’ कुतूहलताको बाढी बग्न थाल्यो । 

‘रोबोक्रोम, पैरिजोमा उत्सवमा खानाका परिकारहरू बेच्न राखिन्छ भन्ने कुरा सुनेको छ ! हल्ला मात्रै हो कि, साँच्चै हो ? खाद्य यपको–खाद्यको धेरै दिन भयो । मैले त ताजा खानाको स्वाद बिर्सिसक्यो छ’ ! उसको कुतूहलता छेवाछेउल पोखियो । 

एकछिनको मौनतापछि रोबोक्रोमले जवाफ दियो, ‘खानाको व्यवस्थाको कुरा सत्य हो मलक । तर हामीले पहिलो आफ्नो काम सक्नुपर्छ । कार्य समाप्तिपछि मात्रै हामी उत्सवमा जान सक्छौँ ।’

‘विगतमा जस्तै, उत्सवको सूचना कहीँ सरकारले  जनतामाथि गर्ने नयाँ परीक्षण हो कि ?’

गुलाबी बत्ती झिलिक्क झिलिक्क बल्यो । 

‘उत्सवमा उपस्थित दर्शक सङ्ख्याबारे कसरी निश्चित हुन सकिन्छ जैबरवोकी रोबोक्रोम... ? सबैलाई पुग्ने खानाको व्यवस्था गर्ने कुरा सजिलो छैन । फेरि अहिलेको समय पहिलाजस्तो पनि त रहेन । पहिलोको समय पो... ! खै, मलाई विश्वास हुँदैन... । त्यतिका मानिसका लागि कसरी अढ्कल गरेर पकाउन सकिन्छ होला ?’

हर्ष र उल्लासका साथसाथै उसलाई सन्देह पनि भयो । 

‘विगतमा जस्तै, उत्सवको सूचना कहीँ सरकारले  जनतामाथि गर्ने नयाँ परीक्षण हो कि ?’

‘विज्ञानले धेरै प्रगति गरिसकेको छ मलक । यस्ता स–साना कुरामा चिन्ता लिनुपर्दैन । रंगशालाको मुख्य गेटमा मानव सेन्सर लागेको छ । गेटबाट भित्रिने प्रत्येक व्यक्तिको बारेमा चाहिने जति जानकारी उत्सवको केन्द्रीय कन्ट्रोल विभागमा आफैँ पुग्छ । हाम्रो धेरैजसो काम त वैज्ञानिक संयन्त्रले नै गर्छ । त्यसकारण चिन्ता लिनुपर्दैन । बरु हामी आजको कार्यबारे सोचौँ । कार्यप्रति हाम्रो जवाफदेहिता छ । आफ्नो कार्यमा एकाग्रचित्त भए पुग्छ । हाम्रो विगतका कार्यरिपोर्टहरूमा आलस्यपन र अनुशासनको कमी देखिएको छ । अब ढिलो नगरौँ । काम सुरु गरौँ ।’

रोबोक्रोमको एकनासे विद्युतीय स्वर गुञ्जियो । गुलाफी बत्ती एकचोटि मात्रै झिलिक्क गर्‍यो । रोबोक्रोमले चेतावनी दिएजस्तो सुनियो । 

मलकका मनमा अनुत्तरित प्रश्न मडारिँदै थिए । थप प्रश्न सोध्न मन हुँदाहुँदै पनि उसलाई सङ्कोच लाग्यो । किनकि उसका प्रश्न पकवान र परिकारसित मात्रै सम्बन्धित थिए । मनमा उठेका प्रश्नका अनुमानित उत्तर आफैँ सोच्दै चित्त बुझाउने प्रयास गर्‍यो । 

उत्सवमा उपस्थित दर्शकको आ–आफ्नो खुराकी क्षमता होला । खुराकी भन्ने कुरा आफ्नो शारीरिक बनोट र मेटाबोलिज्ममा भर पर्छ । केन्द्रीय कन्ट्रोल विभागले कसरी मेटाबोलिज्म अड्कल गरेर खाना उपलब्ध गराउन सक्ला ?

उसले आफ्नो ५६ किलो तौल र पाँच फिट इन्च अग्लो शरीरको खुराकी क्षमता आकलन गर्‍यो । त्यसपछि आफूले सक्नेभन्दा बढी खाना खाने कल्पना गर्‍यो । 

‘युटोपिया देशमा लामो समयदेखि युद्ध चलेको थियो । युद्धमा प्रयोग गरिएका रसायनिक बम प्रयोगको कारण मानवक्षतिसँगै

वातावरण, पशुपक्षी र कृषिलाई ठूलो क्षति पुगेको थियो । देशमा उब्जनी कम हुन थालेपछि युटोपिया सरकारले आफ्ना नागरिकहरूलाई ‘मिल इन अ पिल’ प्रोग्राम चलाएर कृत्रिम खाद्य चक्की उपलब्ध गराएको थियो । नयाँनयाँ वैज्ञानिक अनुसन्धान र आविष्कारले नागरिकहरूका जीवनमा थुप्रै परिवर्तन आएका थिए । 

‘जेजस्तो भेट्छु, खान्छु । गुनासो गर्नेछैन । भ्याएँ भने च्वाँकहरूतिर पनि नाच्छु ।’ मनमनै दोहरर्‍यायो । 

तातो खानाको कल्पना मात्रैले उसको आङ ततायो । जिब्रो रसायो । उसका स्वादकल्पनाहरू रमाउन थाले । 

००

‘आज हामी आफ्नो कार्यप्रति एकाग्रचित्त छैनौँ मलक । हामीले आफ्नो काम अहिलेसम्म सुरु गरेका छैनौँ । हामीलाई थाहा छ, युटोपिया सरकार समयको महत्त्वप्रति निकै संवेदनशील छ । तर हामी आफ्नो समय खेर फाल्दै छौँ । हामीले तुरुन्त काम सुरु गरेनौँ भने आजको काम सकिँदैन र हामी उत्सवमा जान पाउँदैनौँ । आजको पहिलो कार्यचेतावनी जारी भयो मलक । चेतावती जारी गरेकोमा दुःख व्यक्त गर्छौं ।’

रोबोक्रोमको चेतावनीपछि गुलाबी बत्ती एकचोटि मात्रै झिलिक्क बल्यो । 

‘युवक र युवतीहरूको नृत्य देखेर धेरै दर्शकका लुगाभित्र मुसा कुद्छन् होला । तर मेरा पेटका मुसाले त खानाको बास्ना सुँघ्नेबित्तिकै विद्रोहजुलुस निकाल्नेछन् सायद ।’ उसको आँत हररर भयो । मुसुक्क हाँस्यो मलक । 

चेतावनी सुनेर उसलाई नराम्रो लाग्यो । चेतावनीले उसको कार्य रिपोर्टमा नकारात्मक असर गर्छ भन्ने कुरा उसलाई थाहा छ । 

तर आज उसलाई काम गर्न पटक्कै मन छैन । मन नलागी नलागी अफ भएको माइक्रोल्यापटप फेरि अन गर्‍यो । उसले गर्नुपर्ने कामका फाइलहरू ल्यापटपका रिक्रनमा फेरि सरररर चिप्लिन थाले । 

ऊ प्रतिष्ठित भर्चुअल कम्पनीको लेखापाल भएर जागिर गरेको धेरै वर्ष भइसकेको छ । काम त्यति गाह्रो छैन । उसलाई सघाउन निजी रोबोक्रोम ऊसित छ । मलकले जेजस्तो प्रश्न सोध्छ, रोबोक्रोमसित उत्तर हुन्छ । लेखापाल भएकोले जोड, घटाउ, गुणन र भागमा अल्झेको छ उसको दिनचर्या । ज्ञानले परिपूर्ण सहयोगी रोबोक्रोमको सहयोगले उसको जीवन सहज बनेको छ । रोबोक्रोम नै उसको परिवार हो । 

पैरिजोमा उत्सवको रमाइलो खबरले उसको गणितीय परिधिमा घुम्ने दैनिकचर्यामा नयाँ उमङ्ग भरेजस्तो भएको छ । तर नजानिँदो चिन्ता पनि मनमा मडारिरहेको छ । 

‘उत्सवमा ढिलो पुगेँ भने मुख्यद्वार बन्द हुनसक्छ ।’

‘दर्शक उपस्थितिले बाक्लै हुनसक्छ । हुलमुल भयो भने ठाउँ नपाउँला ? बरु छिटो पुग्नु वेश !’

‘बेच्न राखिएका खाना दर्शकहरूलाई अपुग हुने हो कि ?’

‘युवक र युवतीहरूको नृत्य देखेर धेरै दर्शकका लुगाभित्र मुसा कुद्छन् होला । तर मेरा पेटका मुसाले त खानाको बास्ना सुँघ्नेबित्तिकै विद्रोहजुलुस निकाल्नेछन् सायद ।’ उसको आँत हररर भयो । मुसुक्क हाँस्यो मलक । 

एकाएक उसको कल्पना तरङ्ग भङ्ग भयो । 

‘पहिलो कार्यचेतावनी जारी भएको बीस मिनेट भइसक्यो मलक । तर काम सुरु भएको छैन । अब काम सुरु गरौँ । आजको काम सकिएन भने हामी उत्सवमा जान पाउँदैनौँ । हामीले आफ्नो कार्य तुरुन्त सुरु गर्नैपर्छ ।’

रोबोक्रोमको चेतावनीपछि गुलाबी बत्ती एकचोटि झिलिक्क बल्यो । 

मलकलाई रोबोक्रोमको चेतावनी मन परेन । 

‘काम गर्ने म तर यसको ‘हामी’ सम्बोधन सुन्दा दिक्क लाग्छ । यसको यान्त्रिक आज्ञप्तिले दिक्क बनायो ।’

ऊ बसेको ठाउँबाट जुरुक्क उठ्यो । सुसेल्दै कोठाको दुई फन्को लगायो । फन्को लगाउँदालगाउँदै टक्क अडियो । आफ्नो असी तलाभित्रको सिसैसिसाको अत्याधुनिक कोठाभित्रबाट बाहिरको संसार हेर्ने कोसिस गर्‍यो । झ्याल बाहिरको संसारलाई बाक्लो धुवाँलोले ढाकेको छ । 

‘हुस्सु हो कि धुवाँलो हो ? आज प्रदूषण धेरै छजस्तो छ । आधुनिक जीवनको सहजतालाई जति बुझ्ने प्रयास गरे तापनि बुझ्न नसकिने ।’

ऊ तर्कनामा टोलाउन थाल्यो...

युटोपिया देशको एम.ओ.के. सहरको सघन सेक्टर नं. ३७४ । त्यस सहरको घना जनसङ्ख्या भएको औद्योगिक बस्तीमा ऊ बस्दै आएको वर्षौं भयो । 

नागरिक सूचनाको हक र अधिकार नीतिको आदर गर्दै युटोपिया सरकारले ठाउँठाउँमा सौर्यऊर्जा जडित नियोन सूचनापाटीमा वायुमण्डल प्रदूषणसम्बन्धी जानकारी उपलब्ध गराएको छ । बाक्लो तुवाँलोको कारण सूचनापाटीमा प्रसारित पर्यावरणीय नियम, सन्देश र चेतावनी प्रायः देखिँदैनन् । तर पनि वर्षौंदेखि सुन्दै आएको निर्देशन उसलाई कण्ठाग्र छ— आर्टिकल डीपीए २१६९ का नियमहरूको पालना गर्नुहोस् । आफ्नो स्वास्थ्य आफ्नै हात ।

चरम प्रदूषणको कारणले गर्दा सरकारले सबै नागरिकलाई आ–आफ्ना निजी रोबोक्रमसित वातावरणसम्बन्धी पूर्वजानकारी लिएर मात्रै घरबाहिर निस्कनुपर्ने नियम जारी गरेको छ । प्राणघातक प्रदूषणको कारण एम.ओ.के. सहरमा सिआईडी नागरिकलाई तेल र डिजेल वितरणमा समेत रोक लगाइएको छ । युटोपिया सरकारले निजी सवारीका साधन पूर्ण निषेध गरेको छ । 

पर्यावरण विभागबाट प्रतिदिन प्रसारित हुने जनसन्देश उसका कानमा गुञ्जिन थाले...

जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर युटोपिया सरकारले सार्वजनिक यातायातको व्यवस्था गरेको छ । यातायात तालिकाका लागि आफ्नो रोबोक्रमसित सम्पर्क गर्नुस् । आर्टिकल डीपीए २१६९ को पालना गर्नुस् र हामीलाई मद्दत गर्नुहोस् । हामी जनताको स्वास्थ्यबारे सजग छौँ । 

‘जनता’ भनेको को हो ? सीआईपी (कमन महत्त्वपूर्ण नागरिक) ? भीआईपी (अत्यन्त महत्त्वपूर्ण नागरिक) ? दुवै जनता हुन वा होइनन् ? यी दुवैबीचको भिन्नता र समानताबारे उसलाई थाहा छैन । उसलाई धेरै राजनीतिक र नागरिक अधिकारबारे विषयबारे जानकारी छैन । 

उसलाई पब जान्न मन पर्छ । पबभित्र थरीथरीका मत्थुगन्थन सुन्न पाइन्छ । एउटा साथीले भनेको बेला भनेको कुरा पनि सम्झ्यो, ‘सामान्य जनसुविधाबाट वञ्चित सीआईपी नागरिकको योजना भीआईपी नागरिकलाई विलासिताका सबै सुविधा प्राप्त छ रे ।’

हुन त मातेका बेला पोखिएका कुरामा कति मात्रा आत्मअहं र कति मात्रा सत्य हुन्छ त्यो त सधैँ भेटिने साथीलाई थाहा हुन्छ । 

नियोन सूचनापाटीमा सरकारले हरित क्रान्तिको चर्को विज्ञापन गरे पनि रासायनिक युद्धको कारण खेतबारी सुख्खा रहेको कुरा उसले पबमै सुनेको थियो । प्रकृति, कृषिसँगसँगै जनावर  जन्तुहरुको भारी मात्रामा क्षति भएको कारण सरकारले सीआईपी नागरिकलाई खाद्य चक्की उपलब्ध गराएको कुरा पनि सुनेको थियो  तर कु कुरा मत्थु, कुन कुरा सत्य?

‘खाना पकाउने टन्टा सकियो । समय जोगियो । समयको बचत मात्रै होइन, यो मिठो, त्यो नमिठो भनेर जिब्रोले गुनासो पनि त गर्न पाएन नि !’ सोचेर हाँस्यो ऊ । 

सूचना पाउने उसको स्रोत एउटै मात्र छ रोबोक्रोम । उत्सवसम्म पुग्ने सार्वजनिक यातायातको समयतालिका समेत रोबोक्रोमलाई सोध्नुपर्छ ।

‘हामीले अझै आफ्नो काम सुरु गरेका छैनौँ मलक । मन अशान्त छ भने घाँसको चिया चक्की खाएर काम सुरु गरौँ । काम सुरु गरेनौँ भने दोस्रो कार्यचेतावनी जारी हुनसक्छ ।’ रोबोक्रोमको चेतावनीसँगै गुलाबी बत्ती झिलिक्क झिलिक्क बल्यो । 

चेतावनी सुनेर उसलाई रिस उठ्न थाल्यो । 

‘खाली काम... काम... काम ! मैले एक दिन काम नगर्दा कति नै प्रदूषण बढ्ला ? अनि सहरको कुनै भागमा बमवर्षा सकिएला त ? जनमानसमा भइरहेको क्षतिमा कुनै फेरबदल होला र ? एकदिन काम नगर्दा के हुन्छ ?’

उसले रोबोक्रोमलाई जवाफ त फर्कायो तर फेरि सोच्यो...

सूचना पाउने उसको स्रोत एउटै मात्र छ रोबोक्रोम । उत्सवसम्म पुग्ने सार्वजनिक यातायातको समयतालिका समेत रोबोक्रोमलाई सोध्नुपर्छ । पर्यावरण विभागले जस्तै यातायात विभागले पनि सबै सूचना रोबोक्रोमको डाटामा सिधै पठाउने व्यवस्था गरेकाले रोबोक्रोमसित तालमेल नमिलाई धरै छैन । 

रोबोक्रोम हर्बल चिया चक्की खाने निर्देशन सम्झ्यो । कोठाको अर्को कुनामा रहेको भित्ते दराजको घर्रा खोल्यो । भित्रबाट हर्बल चिया चक्की निकाल्यो । मुखमा हाल्यो ।

‘छि, तितो ! बेस्वादिलो !’ 

प्रश्न उठ्न थाले... । 

के युटोपिया समाजका भीआईपी नागरिकहरूले पनि सधैँ यस्तै चक्की खान्छन होला त ?

उत्तर उसलाई थाहा छैन । अत्याधुनिक सञ्चार युगमा पनि फिल्टर गरेर मात्र जानकारी पाउने भएकाले उसले समसामयिक विषयबारे सोधेका केही प्रश्नको जानकारी मात्र पाउँछ । मनका सबै प्रश्न सोध्ने आँट उसले कहिल्यै गर्दैन । 

चक्कीको तिक्तता उसको मुखमा फैलियो । 

फेरि आफ्नो ल्यापटप अगाडि बस्यो । कार्य सुरु गर्ने मनसायले कम्प्युटर स्क्रिनमा ध्यान केन्द्रित गर्ने प्रयास गर्‍यो । 

तर उसको मन फेरि पैरिजोमा उत्सवतिर केन्द्रित हुन थाल्यो । उत्सवमा पुग्ने व्यग्रताले गर्दा उसलाई कामको थालनी गर्ने जाँगर चलेन । 

तात्तातो खानाको परिकल्पनाले मनलाई फेरि उद्वेलित पार्न थाले । ल्यापटपको स्क्रिनमा थरीथरीका पकवान देख्न थाल्यो ऊ । 

वर्षौं पहिला आमाले पकाएजस्तै पकवान ! बाफ उड्दै गरेको पहेँलो क्रिमी सुप, रोबोक्रोमको रङजजस्तै लामा लामा नुडल्स, तुवाँलो उठेको सुरुवा, स–साना माछाजस्ता टुक्रा, लामालामा तारेका आलुका चाना । तर जति कोसिस गर्दा पनि ती परिकारको नाम ठम्याउन सकेन । स्मृति पुराना भएर हो वा अविच्छिन्न एक्लोपनले हो, सबै बिर्सेछ । 

अचानक सम्झ्यो... उड्दै गरेका चराचुरुंगी नदेखेको धेरै वर्ष भयो । पबमा सुनेको थियो चरा उड्ने ठाउँ रहेन रे । केही वर्ष अघिसम्म गगनचुम्बी भवनमा ठोक्किएर थुप्रै थुप्रै चराहरु सडकमा खसेका हुन्थे । सडकमा छटपटाउँदै  गरेका चराचुरुंगीका दृश्य सामान्य बनेका थिए । खेत र बाली नदेखेको पनि धेरै वर्ष भयो । खेती गर्ने माटो त प्रदूषणमुक्त छैन होला ? युटोपिया सरकारले कुनै नयाँ तरिका आविष्कार गरेको छ कि ?

रोबोक्रोमलाई नसोधिरहन सकेन । 

‘जैबरवोकी रोबोक्रोम, उत्सवमा पकाउने खानाको खेती कहाँ भयो होला ? प्रदूषणले गर्दा उब्जनी हुन छोडेको छ रे । यहाँसम्म कि किराफट्याङ्ग्रा, लामखुट्टे, चराचुरुङ्गी यस्तो प्रदूषणमा बाँच्न गाह्रो छ । अनि खेती कहाँ गरिँदै छ त ?’

प्रश्नको उत्तर अहिले दिन सकिँदैन मलक । हामीले आफ्नो कार्य अझै सुरु गरेका छैनौँ । नियमअनुसार कार्य समाप्तिपछि मात्रै हामी पैरिजोमा उत्सवमा सामेल हुन सक्छौँ । आजको दोस्रो कार्यचेतावती जारी भयो । तेस्रो कार्यचेतावनीले हामीलाई हानि पुर्‍याउँछ । त्यसैले हामी आफ्नो काममा लागौँ ।’

सर्वज्ञाता रोबोक्रोमको भावहीन चेतावनीले छातीमा प्रहार गरेझैँ भयो उसलाई । गुलाबी बत्ती झिलिक्क बल्यो । 

ऊ झसङ्ग भयो । 

‘मोराले दोस्रो कार्यचेतावनी पनि जारी गरेछ । तेस्रो चेतावनीको परिणाम राम्रो हुँदैन भन्ने कुरा उसलाई थाहा छ । एकछिन अघिसम्म उत्सवमा पुग्न उल्लासित उसको मन दोस्रो चेतावनी सुनेर उङ्दाउङ्दै सडकमा पछारिएको चराजस्तै भयो ।  

रोबोक्रोम त मेरो सहयोगी मात्रै हो । यसलाई मेरो इच्छानुसार प्रोग्रामिङ गरिएको छ । युटोपिया सरकारले नागरिक जीवन सुलभ बनाउन रोबोकेन्द्रबाट व्यक्तिगत आवश्यकता अनुसारको रोबोक्रोम उपलब्ध गराएको हो । सबै नागरिक आ–आफ्ना स्वचालित रोबोक्रोममाथि निर्भर छन् । रोबोक्रोम प्रोग्रामिङलाई क्रेता र किपरको स्वभाव, चाह, रुचि र व्यक्तित्व अनुसार प्रोग्रामिङ गरे पनि कु बेला उठ्ने ? कुन बेला सुत्ने ? कुन बेला घरबाहिर निस्कने ? कु बेला के काम गर्ने सबै नियन्त्रण उसले गर्छ । यसले मलाई मद्दत गर्नुपर्ने हो । शासन गर्ने त होइन नि । तर यसले... ?’  

उसले जैबरवोकी रोबोक्रोमतिर हेर्‍यो ।

‘यसलाई पनि त मेरो चाहनाअनुरूप नै प्रोग्रामिङ गरेको हो । तर यो नपत्याउँदो लघुयन्त्रले मलाई आफ्नो दास सम्झिन थाल्यो बा !’ 

रिस थाम्नै सकेन उसले । एकाएक झर्कियो ।

‘मलाई उत्सवबारे पूर्वजानकारी किन भएन रोबोक्रोम ? तपाईंले मलाई यस्ता जानकारी दिनुपर्ने होइन र ? म पबमा नपुगेको भए ? सूचनापाटी नहेरेको भए मलाई केही थाहा नहुने रहेछ । तपाईंले यस्ता कार्यक्रमबारे किन मलाई पूर्वजानकारी दिनुभएन ? सञ्चार जगत्का सबै सूचना थाहा पाउने मेरो नागरिक अधिकार हो । तपाईं मेरो सहयोगी हो । म तपाईंको किपर भएको हुनाले तपाईंले जानकारी लुकाउनु भनेको सञ्चार दुरुपयोग गर्नु हो । मैले रोबोकेन्द्रमा ‘म्यालफङ्सन’ को फिराद गरेँ भने तपाईंलाई रोबोमहाअभियोग लाग्न सक्छ । तपाईंलाई जङ्करोबो बनाएर जङ्कयार्डमा हुर्‍याउँछन् ।

’विचार गर्नुस् । मलाई नयाँ रोबोक्रोम पाउन गाह्रो हुँदैन ।’

उसको आक्रोश पोखियो । 

‘मैले तपाईंलाई सबै समाचार नदिनुका केही कारणहरू छन् मलक ।

पहिलो कारण ः कार्य रिपोर्टमा हाम्रो कार्यक्षमता औसत रहेको छ । त्यसकारण मनोरञ्जनका सूचना हाम्रो प्राथमिकतामा पर्दैनन् ।’

दोस्रो कारण ः सोधेका प्रश्नको मात्रै उत्तर दिने प्रावधान रहेकाले तपाईंले नसोधेका प्रश्नको उत्तर दिन हामी असमर्थ छौँ ।’

तेस्रो कारण ः केही सूचनाले हाम्रो मानसिक सन्तुलन खल्बल्याउने खतरा हुन्छ । यस्ता सूचनाले मानसिक तनाव बढ्छ । हामी व्यर्थमा उत्तेजित हुन्छौँ । तसर्थ सबै समाचार हाम्रा लागि उपयोगी नहुन सक्छन् । उत्तेज्यभाव स्वास्थ्यका लागि हानिकारक हुन्छ । 

अहिले पनि हाम्रो मुटुको गति अपेक्षाकृत रूपले बढ्दै छ ।

उच्च रक्तचापले हाइपरटेन्सन र अन्य घातक रोग निम्त्याउँछ ।

अर्को कुरा, आवेगमा आएर म्यालफङ्सन र रोबो महाअभियोग दाखिल गर्दा केन्द्रीय प्रशासन शाखाको समय खेर जान्छ । केन्द्रीय प्रशासन शाखालाई भ्रमित गरेको आरोपमा हामीमाथि कार्यवाही हुन सक्छ ।’

रोबोक्रोमले झिलिक्क झिलिक्क आँखा झिम्कायो । 

झोक्कियो ऊ, ‘जैबरवोकी रोबोक्रोम, तपाईंको भाषा र अनुवादको सफ्टवेयरलाई संशोधन गर्ने बेला भएछ ।

रोबोक्रोमको तर्क सुनेर मलकको माथा सन्कियो । मनमनै फोहोरी गाली दियो । 

‘जाबो, मुठ्ठीमा अटाउने यन्त्र ! जान्ने हुन्छ । यसको ठिठलाग्दो एकनासे यान्त्रिक निर्देशन सुन्दासुन्दा मान्छे त्यसै बिरामी हुनसक्छ । यस रोबोटलाई मानवभावना, उत्तेजना र इच्छाबारे के थाहा ? झन् यसको ‘हामी’ सम्बोधनले त रन्कै छुट्छ । ऊ र म बेग्लाबेग्लै !

कसरी ‘हामी’ ? आफू त रोबोट छ । मलाई पनि रोबोट सम्झन्छ । सधैँ नियन्त्रण गर्छ बा ! हरहमेला अर्डर दिन तयार हुन्छ ।’

झोक्कियो ऊ, ‘जैबरवोकी रोबोक्रोम, तपाईंको भाषा र अनुवादको सफ्टवेयरलाई संशोधन गर्ने बेला भएछ । आफ्नो सफ्टवेयर अपडेट र भाषा संशोधनको निम्ति रोबोकेन्द्रमा निवेदन हाल्नुस् । घाँसको चिया खाने होइन । सही शब्द हर्बल चियाचक्की हो । र अर्को कुरा, बोल्दा ‘हामी’ भन्ने होइन । तपाईं र म फरक हौँ । त्यसैले मलाई सम्बोधन गर्दा ‘तपाईं’ भन्नुस्, ‘हामी’ होइन ।’

‘अहिले युद्धको समय हो मलक । ठूलो परिमाणमा विनाश हुँदै छ । मानव चेतनामा असुरक्षा, भय र आतङ्क बढेको छ । मानव, जीव जन्तु र वातावरणको क्रमिक विकासोन्नतिको उद्देश्यले गरिएको समूहगत सम्बोधन हाम्रो भौतिक अस्तित्वका लागि अति आवश्यक छ । ‘म’ र ‘मेरो’जस्ता एकल सम्बोधनले हामीलाई कमजोर बनाउँछ । हामी एकाइमा विभाजित हुन्छौँ र कमजोर हुन्छौँ । समूहगत सम्बोधनले हाम्रो एकांकी जीवनलाई सहज बनाउँछ र मानव उन्नतिका बाधकहरू बिर्सन मद्दत गर्छ । आजको समयमा साझा सम्बोधनलाई भाषिक चश्माबाट हेर्नु सङ्कुचित बुझाइ हो ।’

जैबरवोकी रोबोक्रोमलाई तर्कमा जित्न सजिलो छैन ।

तर्क मात्रै बुझ्ने रोबोक्रोमसित असहमत हुँदा पनि कुरा गर्नु बेकार छ ।

‘हामी’ र ’हाम्रो’जस्ता साझा सम्बोधन प्रयोगमा ल्याएर युटोपिया सरकारलाई युद्ध चर्काउन सजिलो भएको थियो । ‘हामी’ र ’हाम्रो’ले गर्दा युद्धमा प्राण आहुति गर्न नागरिकको लर्को लागेको थियो । ‘हाम्रो देश’, ‘हामी शहीद’ र ‘हाम्री आमा’जस्ता साझा सम्बोधनले गर्दा नागरिकहरू युद्ध र संहारमा उत्प्रेरित भएका थिए ।

मन नलागी नलागी उसले ल्यापटपको एउटा फाइल खोल्यो । उसलाई रोबोक्रोमले दिएको चेतावनी चित्त बुझेन । तर रोबोक्रोमबिना आफ्नो जीवनको कल्पना पनि गर्न सक्दैन ऊ । एकछिनका लागि उसको ध्यान पैरिजोमा उत्सवबाट हटेर आफ्नो क्रोमपराधीन अस्तित्वमा केन्द्रित भयो ।

‘मेरो जीवनको औचित्य के ? रोबोटको निर्देशनबाट परिचालित हुने जीवनलाई मैले आफ्नो भन्न मिल्छ होला त ? आफ्नो चेतना, इच्छा र उत्तरदायित्व आफैँ बोध गर्न नसक्ने जीवन त मेरो होइन, अरूको नासो हो । ‘म’ र ‘मेरो’ अनुभूतिलाई विस्थापित गरेर रोबोक्रोमले ‘हामी’ सम्बोधनलाई वैधानिकता दिएको छ । मेरो ‘म’को उत्पीडनबारे कहाँ उजुरी गर्न जाने ? ‘म’को ‘इरेजर’लाई मानवअधिकार हननको केस बनाउन मिल्छ कि मिल्दैन ? के मैले रोबोक्रोमका विरुद्ध शक्ति दुरुपयोगको मुद्दा दायर गर्न पाउँछु ? खै, अरुले के गरेका छन् ? तर यस्ता स–साना जानकारी पनि मैले रोबोक्रोमसितै लिनपर्ने बाध्यता छ । मेरो स्वतन्त्र अस्तित्वको परिकल्पना समेत रोबोक्रोमले गर्दा हास्यास्पद बनेको छ । हुन त उसलाई मेरो व्यक्तिगत आवश्यकताअनुसार प्रोग्रामिङ गरिएको हो । तर पनि उसले नै मेरो कार्यक्षमताको मूल्याङ्कन गर्छ । मलाई निर्देशित चेतावनी जारी गर्छ । मुठीमा अटाउन सक्ने लघुयन्त्रबाट निर्देशित मेरो मानवअस्तित्व अर्थहीन बनेको छ !’

स–साना सूचना र जानकारीका लागि समेत ऊ रोबोक्रोममा निर्भर छ । आफ्नो बँधुवा अस्तित्वको आभास साथै रोबोक्रोमको हैकमले आजित उसको मनमा विद्रोहहुन्डरी चल्न थाल्यो ।

‘रोबोक्रोम, मैले एक दिन काम नगर्दा अपराध हुन्छ र ? उम्लिरहेको विद्रोह पोख्यो ।

‘यस विभागमा हामी विस्तृत छलफल गर्ने सक्छौँ मलक । तर आज समय छैन । दोस्रो कार्यचेतावती जारी भइसकेको अवस्था छ । कार्यमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

लघुयन्त्रको सन्तुलित आवाज कोठाभित्र गुञ्जियो । ल्यापटप र रोबोक्रोमको प्रोग्रामिङ मिलेको हुनाले टाइप गर्नेबित्तिकै काम सुरु भएको सङ्केत रोबोक्रोमलाई हुन्थ्यो । 

आफूलाई संयमित गर्ने भरसक कोसिस गरे तापनि उसे आफूलाई रोक्न सकेन । उसको आक्रोश उम्लिएर पुनः पोखियो । 

‘मेरो अन्तिम प्रश्नको जवाफ दिनुस् है जैबरवोकी रोबोक्रोम । के हामीले गरेका विद्रोहका निर्णयहरू सही थिए ?’

‘कुन निर्णयको कुरा हो यो मलक ?’

‘मैले हाम्रो पारिवारिक संरचना र अरु सम्बन्धको कुरा गरेको हो ।’ अनकनाउँदै सोध्यो । 

‘हाम्रो शासन व्यवस्था हामीले सर्वसम्मतिले चुनेका हौँ मलक । परिवारभित्रको असमान शक्ति सन्तुलन, वैवाहिक संरचनाको विभेदीय प्रणाली, समाजको शोषण, असमानता र डरलाग्दो हिसाबले बढ्दै गएको जनसङ्ख्याको समस्याबारे हामीले व्यापक छलफल गरेका थियौँ । हाम्रा सीमित प्राकृतिक स्रोतबारे पनि सार्वजनिक विमर्श भएकै थियो र अहिले पनि हुँदै छ । हामी अहिले युटोपिया शासन प्रणाली रोजेका हौँ ।

७०००० पिप भरिएको घाउ फुटेर बगेजस्तै थियो उसको अनुत्तेजित प्रतिवाद । हुन त रोबोक्रोमको ‘हामी’ सम्बोधन कहिले शासक बोलेजस्तो, कहिले हितैषी बोलेजस्तो सुनिन्थ्यो ।

पुरानो शासन व्यवस्थालाई निरन्तरता दिने वा नयाँ शासन व्यवस्थाको जनहिताय सार्वजनिक विमर्शमा हामीले पटकपटक भाग लिएका हौँ । हामीले पटक पटक युटोपिया सरकारको पक्षमा भोट खसालेका हौँ । पुरानो शासन व्यवस्था फाल्ने सहमति गरेका हौँ ।

वर्तमान शासन व्यवस्था र प्रणाली हामीले आफैँ रोजेका हौँ । यी सबैका प्रमाणका स्क्यानकपी हाम्रो कम्प्युटर स्क्रिनमा उपलब्ध छन् ।’ गुलाबी बत्ती झिलिक्क झिलिक्क बल्यो । 

‘स्कनकपी हेर्ने आवश्यकता छैन रोबोक्रोम । मलाई राम्ररी याद छ । आफ्नो मानवअधिकारका लागि मानार्थ नागरिकको हैसियतले मैले स्वचालित प्रशासनको पक्षमा मत खसालेको थिएँ । तर मेरो आफ्नै मतले मलाई नै तमसुक बँधुवा बनाउँछ भन्ने भानसम्म भएन । थाहा पाएको भए... सायद... । आज म सम्बन्धविहीन भुट्टा भएको छु । यो सिसैसिसाको चारदिवारीभित्र बन्दी भएको छु । नितान्त एक्लो ! पहिला थाहा पाएको भए यस्तो जीवन रोज्ने नै थिइनँ । 

७०००० पिप भरिएको घाउ फुटेर बगेजस्तै थियो उसको अनुत्तेजित प्रतिवाद । हुन त रोबोक्रोमको ‘हामी’ सम्बोधन कहिले शासक बोलेजस्तो, कहिले हितैषी बोलेजस्तो सुनिन्थ्यो । द्वयार्थभाषी रोबोक्रोमसित सहानुभूतिको अपेक्षा गर्नु बेकार थियो । किनकि उसलाई त केवल नियम सुनाउन आउँथ्यो वा चेतावनी दिन मात्र । 

‘हाम्रो गुनासो आधारहीन छ मलक । हामी एक्लै छैनौँ । हामी सिसाको चारदिवारिभित्र कैद पनि छैनौँ । हामीसित कुशाग्र साथी र सहयोगी रोबोक्रोम छ । हाम्रो यो कोठा त्रिआयामिक गुणहरू– सन्तुलन, अनुपात र लयलाई मनन गरेर तयार गरिएको छ । बाइस फुट लामो, बाइस फुट उचा र बाइस फुट चौडा । 

हाम्रो चाहनाअनुरूप नै यो डिजाइन भएको हो । नकारात्मक सोचले स्वास्थ्यलाई हानि पुर्‍याउँछ मलक ।’

‘मेरो सोच नकारात्मक होइन । मैले सत्य कुरा गरेको हुँ । तपाईं नै भन्नुस् रोबोक्रोम के तपाईं मेरो दौँतरी हो ? तपाईं कुन अर्थमा मेरो सहयोगी ? के हामी भावना साटासाट गर्न सक्छौँ ? मेरो भविष्यको कल्पना नाताहीन भए पनि सम्बन्धहीन थिएन । मनोरञ्जनहीन थिएन । परसञ्चालित र पराधीन थिएन । सास लिनुभन्दा पहिला, कोठाबाट बाहिर निस्कनुभन्दा पहिला वायुको घनत्व, तापक्रम, अणु शुद्धि अशुद्धिबारे तपाईंसित पूर्वजानकारी लिएर निस्कने बाध्यता छ । प्रतिदिनका सानासाना जानकारी पनि तपाईकै नियन्त्रणमा छन् । तपाईंको अनुमतिबेगर म घरबाहिर निस्कन सक्दिनँ । तपाईंको जानकारीबिना म आफ्नो सास लिने मास्क कस्न सक्दिनँ । हामी कसरी साथी भयौँ त ? मेरो जीवन परतन्त्र बनेको छ ।’ उसका परेली भिज्न थाले ।

‘बढी उत्तेजना स्वास्थ्यका लागि हानिकारक हो मलक । हाम्रो रक्तचाप बढ्दै छ । आक्षेप र आवेग दुवैले हाम्रो कार्यको उत्पादनशीलता घटाउँछ । यसले कार्यक्षमता र गुणवत्तामा नकारात्मक प्रभाव पार्छ । हाम्रो कार्य रिपोर्टिङ राम्रो भयो भने हामी अर्को उत्सवमा जान सक्छौँ मलक । आफ्नो उत्तेजनालाई नियन्त्रण गर्नुस् ।’

‘यसले मेरो मनको कुरा कहिल्यै बुझेन । मलाई अर्को उत्सवमा जानु छैन ।’ उसको दिमागभरि पैरिजोमा उत्सव थियो ।

रिस थामिने लक्षण देखिएन । एकपछि अर्को गर्दै असन्तोषका गुम्फनगाँठा खुल्न थाले ।

‘जैबरवोकी रोबोक्रोम, मेरो अर्को प्रश्नको पनि जवाफ दिनुस् । मेरा आमाबुबाले राखेको नाम मलकेश हो । तर मेरो नाम किन नागरिक मतगणना सूचीमा फेरियो ? मलाई आफ्नै नाम प्यारो थियो ।’

आफ्नो स्वर अपेक्षाकृतरूपले चर्को भएको आफैँले थाहा पायो उसले ।

‘युटोपिया जनसङ्ख्या कमिटीले धेरै सोच विचार गरेर हाम्रो नाम परिवर्तन गरेको हो मलक । निरङ्कुश पारिवारिक संरचनाको विघटनपछि त्यससँग जोडिएका सम्पूर्ण मूल्य र मान्यता विघटित भएका छन् । हामीले पहिला बहुआयामिक अर्थको औचित्यबारे छलफल गरेका थियौँ । आज त्यही कुरा याद दिलाउँछौँ । अरेबियन भाषामा मलकको अर्थ अलौकिक हो । यसले नर र मादाको विभेद मेटाउँछ । हिब्रु भाषामा यसको अर्थ नरका लागि राजा र मादाका लागि रानी हो । युटोपिया समाजमा धर्मको रुढिवादितालाई नामेट पारिएको छ । तर पनि पुरातनपन्थी धार्मिक ग्रन्थ बाइबलका अनुसार हाम्रो नामको अर्थ सर्वज्ञ र सर्वत्र भेटिने दैवीय दूत हो । हामीले यस विषयमा वार्तालाप गर्दा हाम्रो मानसिक सन्तुलन खलबलिएको भान हुँदै छ । यसको गम्भीर कारण हुन सक्छ । आजको हाम्रो तीन घण्टा पचपन्न मिनेटको अमूल्य समय खेर गयो मलक ।’

रोबोक्रोम झिलिक्क झिलिक्क बल्यो । 

‘काम... काम... काम... र अमूल्य समय ? आफ्नो विद्युतीय डाटाको सुगा रटाइ बन्द गर्नुस् रोबोक्रोम । मेरो बहुलअर्थी नामको गुणगान गर्नुभयो । तर आफ्नो नामबारे तपाईंलाई थाहा छ ? धेरै वर्षअघि लुइस करोल भन्ने लेखकको साह्रै निम्नस्तरीय कविताको शीर्षक थियो, ‘जैबरवोकी’ । ज्वालामुखी फुटेसरह पड्क्यो मलक । रिसमा टेबुलमा राखेका सामान उसले हुर्‍यायो । 

सन्तुलित स्वरमा रोबोक्रोमले सैद्धान्तिक जानकारी दियो र गुलाबी आँखा पुनः झिम्कायो । 

‘हाम्रो मानसिक सन्तुलन खलबलियो मलक । यसका दुइटा कारण हुन सक्छन्, आनुवंशिक कारण वा वातावरणीय प्रदूषणको कारण । मस्तिष्कलाई आक्रोशित गर्ने रसायनको मात्रा किन अचानक बढ्यो ? यसबारे जाँच गर्न मानसिक चिकित्सकसित परामर्श लिनुपर्ने आवश्यकता देखियो । मस्तिष्क परीक्षणका लागि सैद्धान्तिक दृष्टिकोणभन्दा प्रयोगवादी दृष्टिकोण उत्तम मानिन्छ । चिकित्सा क्षेत्रमा भएका केही पछिल्ला प्रयोगवादी दृष्टिकोण सफल रहेका छन् ।

हाम्रो आक्रोशको कारण बुझ्न न्युरो फिजिसियनसित विमर्श गर्नु अति आवश्यक देखिन्छ । हामी आजै परीक्षणका लागि निवेदन दिन्छौँ । आफ्नो मानसिक सन्तुलन कायम राख्न हामी सीआईपीले समेत सजिलै बुझ्न सक्ने न्युरोविज्ञानका ई–बुक्स रिफर गर्छौं । रूढिवादी धार्मिक र तर्कहीन आध्यात्मिक चिन्तनका पुस्तकलाई हामी बौद्धिक चिन्तन श्रेणीमा राख्दैनौँ । साथै कुनै पनि विसंगतपूर्ण ज्ञानलाई हामी सिफारिस गर्दैनौँ । तर नागरिक इच्छाको कदर गर्न युटोपिया सुशासनमा हरेक नागरिक आफ्नो समस्याको निदान खोज्न स्वतन्त्र छ मलक ।’

सन्तुलित स्वरमा रोबोक्रोमले सैद्धान्तिक जानकारी दियो र गुलाबी आँखा पुनः झिम्कायो । 

उत्सवमा पुग्ने उत्कण्ठा उत्कर्षले अचानक नयाँ समस्या जन्मायो भन्ने कुरा बल्ल थाहा भयो मलकलाई । मानवीय जोश र उत्साह बुझ्न नसक्ने रोबोक्रोमसित निहुँ खोज्न नहुने उसले । गल्ती भयो । रोबोक्रोमसित सहमति गर्नैपर्छ । नत्र विरोध गरेको ठहरिन्छ । कुरा त बिग्रिसक्यो । अब के गर्ने होला ?

उसको अघको आक्रोश ग्लानिमा परिवर्तन हुन थाल्यो । पराश्रितलाई रोज्ने अधिकार कहाँ ? रोबोक्रोमलाई जवाफ दिन सकेन । 

रोबोक्रोम बोल्दै गयो, ‘तपाईंले सल्लाहको समर्थन गर्नु भएन मलक । हामीलाई थाहा छ कि मस्तिष्कको कार्यप्रणाली अत्यन्त जटिल हुन्छ । मस्तिष्कमा विभिन्न रसायन उत्पन्न हुन्छन् । किनकि हाम्रा मस्तिष्कमा सांस्कृतिक, ऐतिहासिक, पर्यावरणीय, पारम्परिक, सामाजिक, आर्थिक र भौगोलिक अनुभवका अवशेष रहेका हुन्छन् । हामीले अरू विषयमा प्रगति गरे पनि मानव संवेदनाका मानवचित्रलाई प्रोगामिङ गरेका छैनौँ । हाम्रो मस्तिष्कमाथि आक्रोश र विद्रोहजस्ता भाव उत्पादन गर्ने सूत्रको पनि अध्ययन जरुरी देखियो । तसर्थ तपाईंले ज्ञानेन्द्रिय, चेतनास्तर, रेटिना, मोलिक्युल, विगतका स्मृति, वर्तमानका चाहना र सुषुप्त अवस्था रहेका आकांक्षा र महत्त्वाकांक्षाहरु सबैको विस्तृत परीक्षण आवश्यक छ । मानसिक सन्तुलन खलबलिएका बेला अहिले दिमागलाई शान्त गर्न आवश्यक छ । हाम्रो कम्प्युटरमा ‘सैडोस इन द ब्रेन र अल अबाउट ब्रेन भन्ने दुइटा ई–बुक्स छन् । यी दुवैको अध्ययन गर्दा तपाईंलाई आराम हुनसक्छ । आजको कार्यका लागि अब तेस्रो चेतावनी जारी गर्ने आवश्यकता रहेन । मानसिक सन्तुलन खलबलिएको स्थितिमा हामी कार्य गर्न असक्षम भएका छौँ । हामीले आजको चार घण्टा चालीस मिनेटको अमूल्य समय व्यर्थ फाल्यौँ ।’

रोबोक्रोमको कुरा सुनेर अचानक उसलाई आफ्नो त्रिआयामिक कोठामा ऐँठनजस्तो हुन थाल्यो । निसास्सियो ऊ । अत्यासले अँठ्याएको मनलाई उत्सवको कुरो सोचेर फकाउने प्रयास गर्न थाल्यो । 

‘कति साथी भेला हुन्छन् होला आज उत्सवमा ! कति थोक परिकार पाकेको हुन्छ होला !’

कल्पना गर्‍यो, ‘टेबुलमा सजाइराखेको व्यञ्जनहरू ...तातो, चिसो, मिठो, अमिलो, पिरो । नाम... नाम... !’ अहँ, कुनै नाम सम्झन सकेन । स्वाद सम्झने प्रयास गर्‍यो । अहँ, सकेन । 

खानाको कल्पनामा रमाउन थालेको उसले जैबरवोकी रोबोक्रोमको चेतावनी चटक्कै बिर्सेछ । कति समय बित्यो थाहै भएन उसलाई । 

‘मस्तिष्क मानचित्रको मयलफङ्सनको कारण हामी दोहोरो संवाद गर्न असमर्थ छौँ मलक । हाम्रो काम अधुरो रह्यो । आजको समय खेर गयो । हार्दिक समवेदना मलक ।’

गुलाफी आँखा झिलिक्क झिलिक्क झिम्क्यो ।

उसलाई थाहा छ जैबरवोकी रोबोक्रोमलाई चार्ज नगर्दा पनि असी घण्टासम्म लगातार बोल्न सक्छ । तर उसलाई यो पनि थाहा छ अब रोबोक्रोमले मानसिक सन्तुलन र मस्तिष्क विश्लेषणसम्बन्धी कुरा मात्रै गर्छ । आफ्नो क्षणिक विस्फोटको निर्थकता बुझेर आफैँसित आक्रोशित हुन थाल्यो ऊ । आजको चार घण्टा चालीस मिनेट खेर गएको शोकार्तमा रोबोक्रोमले संवेदना सुनाउँदा उसलाई आफ्नै मृत्युको संवेदना सुनाएजस्तो लाग्यो ।

‘रोबोक्रोम ।’ बिस्तारै बोलायो ।

‘जैबरवोकी रोबोक्रोम ।’ रोबोक्रोमले प्रायःजसो पूरा नाम लिएर बोलाएपछि मात्रै जवाफ दिन्थ्यो ।

अहँ, गुलाफी आँखा झिम्केनन् ।

निराश उसले निभेको माइक्रोकम्प्युटर फेरि खोल्यो । ‘सैडोस इन द ब्रेन र अल अबाउट ब्रेन’ सररर चिप्लँदै आएर स्क्रिनमा टक्क अडिए ।

आफ्नो कार्य सुरू गरूँ ? वा यी किताब पढुँ ? दोधार भयो उसलाई । स्क्रिनमा कामको फाइल खोज्यो । भेट्टाएन । किताब पढ्न मन लागेन ।

धरमर मनस्थितिमा सिसाको भित्ता नजिक गएर उभियो । बाहिर हेर्न थाल्यो । कहिलेकाहीँ प्रदूषण कम हुँदा सहरका अन्य अग्ला अग्ला भवन हेर्न सकिन्थ्यो । तर आज बाहिर धुवाँजस्तो बाक्लो तुवाँलो मात्रै देख्यो ।

सोच्न थाल्यो– यो सिसाका त्रिआयामिक लासपेटिकाजस्तो बाकसघरमा बस्ने रहर, तुवाँलोले ढाकेको सहरको माया र आकांक्षा र आधुनिक विकासको अन्धदौडले मेरो सोचाइ र बुझाइलाई नजानिँदो पाराले कुन हदसम्म पराश्रित बनायो यसबारे म अहिले अनुमानसम्म पनि गर्न सक्दिनँ ।

उसले केही दिनअगाडि पढेको युटोपिया स्वास्थ्य बुलेटिनको लेख सम्झ्यो...

एम. ओके. सहर र अन्य वरिपरि क्षेत्रका पन्चान्नब्बे प्रतिशत बासिन्दा घाँटी, नाक, आँखा र फोक्सोको समस्याबाट पीडित छन् । फोक्सोको क्यान्सरका बिरामीको सङ्ख्यामा उल्लेखनीय रूपले बढोत्तरी भएको छ ।

’प्रदूषित वायुमण्डलमा सास फेर्न बाध्य फोक्सोले कति धानोस् त ?’ 

उसलाई पैरिजोमा उत्सवमा जानुछ । जसरी पनि पुग्नुछ । तर कसरी ? विद्रोहीहरूसँग चलेको युद्ध र सुरक्षाको जानकारी पनि रोबोक्रोमबाट मात्रै प्राप्त हुन्छ ।

विचार गर्न थाल्यो...

‘रोबोक्रोमको अनुमतिविना म यस कोठाबाट निस्कन सक्दिनँ । कोठाबाहिरको प्रदूषण, वायुघनत्व, यहाँसम्म कि भूस्तर ओजोनबारे पूर्वजानकारी लिएर मात्रै म आफ्नो फेसमास्क कस्न सक्छु । फ्याक्ट्रीहरूबाट निस्कने रासायनिक ग्यासले गर्दा पर्यावरण प्रदूषण धेरै बढेको छ । वायुमण्डलमा राखिएका हनिकारक जैविक अणु, प्राणघातक रसायन मात्रा, नाइट्रोजन डाइअक्साइडको मात्रा, ओजोनका प्रदूषित वायु कण, कार्बन मोनोअक्साइड र फ्याक्ट्रीबाट निस्केका सल्फर डाइअक्साइडको प्रचुर उत्पादनका कारण मानव र प्रकृति दुवैलाई क्षति पुगेको छ । एयर क्वालिटी कन्ट्रोलले नागरिक स्वास्थ्य सुरक्षाका लागि नियम जारी गरेका छन् । नियम उल्लङ्घन गर्नेलाई सजाय तोकिएको छ । एयर क्वालिटी कन्ट्रोलबाट वातावरणको पूर्वजानकारी लिनुपर्छ । तर रोबोक्रोमविना यो सम्भव छैन ।’

सम्झ्यो उसले स्वास्थ्य निर्देशन...

आर्टिकल डीपीए २१६९ को नियमहरूको पालना गर्नुहोस् । 

आफ्नो स्वास्थ्य आफ्नै हात । 

अर्को मनले तर्क गर्‍यो, ‘फेसमास्क लगाउँदा सबै रोबोक्रोममार्फत एयर क्वालिटी कन्ट्रोलसित सम्पर्क गर्नुपर्ने कुरा जायज हो । तर आज रोबोक्रोमको मद्दत लिन्नँ । आज न त्यसले फेसमास्क लगाउँछु । जान्छु उत्सवमा । मन ढिलो हुन्छ ।’ 

तर फेरि सोच्यो, ऊ कोठाबाहिर निस्केर लिफ्टबाट तलसम्म त जान सक्छ । तर उसको भित्रको मुख्य ढोका रोबोक्रोमको सेन्सरले मात्र खोल्छ । रोबोक्रोम जसको चाबी थियो । रोबोक्रोमविना ऊ अब बाहिर निस्कनै सक्दैन । 

एकाएक ऊ आत्तिन थाल्यो । सास फेर्न गाह्रो भयो । उसलाई लाग्यो ऊ माक्सविना बाहिर निस्केको छ र उसको फोक्सोभित्र धुलो, धुवाँ र नाइट्रोजन डाइअक्साइड टन्न भरिएको छ । एकाएक छाती चस्किन थाल्यो । भित्र कताकता बालुवा घस्रेजस्तो, चिलाएजस्तो, दुखेजस्तो... खोइ कस्तो कस्तो... सास लिन गाह्रो हुन थाल्यो । 

‘लौ, कोठाबाहिर निस्कन नपाउने भइयो ।’

ऊ चुकचुकायो र झन्झन् आत्तिन थाल्यो ।

सुस्तरी बोलायो उसले, ‘जैबरवोकी रोबोक्रोम ।’ 

गुलाफी बत्ती झिलिक्क झिलिक्क गरेन ।

‘मलाई माफ गर्नुस् जैबरवोकी रोबोक्रोम । मेरो आवेग अनुचित थियो । मैले आफ्नो काम खुरुखुरु गर्नुपर्ने । समय खेर फाल्न नहुने । म आज र भोलिको काम भोलि निर्धारित समयभित्र सकाउने वाचा गर्छु । आफ्नो अनुचित व्यवहारका लागि माफी पनि माग्छु । मलाई माफ गर्नुस् । मलाई तपाईंको मद्दत चाहिएको छ । मलाई एयर क्वालिटी कन्ट्रोलसित बाहिरको वायुको तापक्रम र प्रदूषणसम्बन्धी जानकारी लिइदिनुस् । मलाई उत्सवसम्म पुग्ने यातायातको सूचना तालिका पनि चाहिन्छ । प्लिज... ! रोबोक्रोम मलाई तपाईंको मद्दत चाहिएको छ । प्लिज... !’ धिपधिपे आशामा गुहार मागेजस्तो सुनिन्थ्यो उसको द्रवित स्वर ।

तर कोठा चकमन्न भइरह्यो ।

‘कालजित हुने लक्ष्य लिएको म दिगभ्रमित भएर यन्त्रदासमा परिणित भएँ । पूर्ण स्वतन्त्र हुने चाहमा आफैँले रोजेको थिएँ मैले एब्सोल्युट पावर भएको सत्ता र एब्सोल्युट पावर भएको शासक । तर कहाँ चुकेँ म ? वाञ्छनीय विशिष्ट मानवताका लागि आफैँले रोजेको थिएँ समत्वमूल्य र मान्यता तर आज रोबोक्रोमविना भएको छु म मृततुल्य महामानव हुने शक्तिदौडमा व्यस्त स्वप्नद्रष्टा अन्ततः कैद छु आफ्नै अत्याधुनिक असी तलामाथिको त्रिश्रायामिक सुविधायुक्त

कोठाभित्र ।

मनमा प्रश्न उठ्न थाले...

‘किन र कसरी उत्तेजित भएँ ? किन बेफ्वाँकमा रोबोक्रोमसित बहस सुरु गरेँ ?

तर तुरून्तै अर्को विचार पलायो...

रोबोक्रोमले मलाई उत्सवमा जान नदिन षड्यन्त्र पो गरेको हो कि ? उसले किन मलाई उत्सवको जानकारी पहिला दिएन ? असंवेदनशील र असहिष्णु रोबोक्रोमले ममाथि सुनियोजित ढङ्गले शासन गर्न थालेछ । उसैले मलाई आज उत्तेजित गरायो । रोबोटकेन्द्रबाट सञ्चालित रोबोक्रोमले मलाई सञ्चालित गर्न थालेछ । मलाई कठपुतली बनाएछ । कठपुतली होइन, स्खलित कठपुतला । मौजुदा रोबोआदर्श पछ्याउने र रोबोस्टिमुलेसनबाट सञ्चालित आधुनिक कठपुतला !

म भनेको मलक प्लस राजा इक्वयल टु यान्त्रिक निर्देशनबाट परिचालित फगत कठपुतला !

००

उदरक्षुधा र अवचेतनमा गुम्सिएको रतिक्षुधाले रन्थनिएको मलकले आफ्नो त्रिआयामिक कोठाभित्र कैयौँ फन्को मार्‍यो ।

एक फन्को... अर्को फन्को... त्यसपछि अर्को फन्को... त्यसपछि अर्को फन्को... !

अर्धचेतन स्थितिमा ऊ फन्को मार्दै गयो । कोठाभित्रको मौन एक्लोपनको अट्टाहस सुनेर बौलाएको थियो ऊ ।

शोकार्त ! अतृप्त ! नितान्त एक्लो । 

सोच्न थाल्यो... 

न कसैको साथ छ । न कसैको सहानुभूति । गुनासो गर्ने ठाउँ छैन । उजुरी गर्ने ठाउँ छैन । सम्बन्धहीन जीवन मेरो आफ्नै रोजाइको परिणाम हो । नरवादी अभिलिप्साले मलाई अन्ततः वैज्ञानिक परीक्षणको मुसा बनाइछाड्यो । हैकमवादको निर्बाध भोगचलन गरे पनि अतृप्त मेरो चाहले मलाई अन्ततः महामानव हुने उत्कण्ठा लिएर आकाशमा उडायो तर आज भने सिसा फुटेर असी तलाबाट भुइँमा पछारिएजस्तो भएँ छु । 

धेरै वर्षपछि उसलाई आमाको याद आयो । 

‘के आमा पनि आफूलाई घरभित्रकी कैदी भएको सोच्थिन् ?’

आमाको यादले मुटु कटक्क काटियो । 

समयबोध भएन । बाहिर हेर्न थाल्यो ।  

अधिसम्म तुवाँलोबाहेक केही देखिएको थिएन । तर अहिले भने सौर्य ऊर्जा प्रक्षेपणमार्फत आकाशमा फिल्मको पर्दाजस्तो विशाल सेतो पर्दा तानिएको देखियो । वैज्ञानिक प्रविधिले भ्रमउत्सवको सुरुवात गर्न सङ्केत दियो । सेतो पर्दामा स्वास्थ्यको विज्ञापन देखियो । 

आर्टिकल डी.पी.ए. २१६९ का नियमहरूको पालना गर्नुहोस् । 

आफ्नो स्वास्थ्य, आफ्नै हात । 

बिस्तारै पर्दाको रङ चकलेटी हुँदै गयो । मानौँ कसैले आकाशमा चकलेट सिरपको ड्रम घोप्ट्याइदिएछ । ऊ सानो हुँदा आमाले खान दिएको गुलियो चकलेट सिरपजस्तै । तर अहँ, सम्झन उसले चकलेटको नाम र ब्रान्ड । बाक्लो तुवाँलोमा पनि चकलेटी रङ कति खुलेको !

केही मिनेटपछि चहकिलो इन्द्रेणीले आकाशलाई ढ्याम्मै छोप्यो । तुवाँलोयुक्त आकाशमा इन्द्रेणी लोभलाग्दो देखियो । हर्ष र उल्लासको प्रतीक इन्द्रधनुष पैरिजोमा उत्सव आरम्भ भएको सङ्केत थियो । केही समयपछि इन्द्रधनुषी रङहरू फिक्का हुँदै गए र बिस्तारै अलप भए । 

सम्मोहित उसले आफ्ना व्यक्तिगत गुनासा बिस्र्यो । 

त्यसपछि एकएक गर्दै राष्ट्रनेता, राष्ट्रनिर्माता, राष्ट्रका शहीद, राष्ट्रका विद्वान् र महान् प्रकृतिविद्हरूका अनुसार आकाश ढाक्ने गरी प्रक्षेपित भए । 

देशका सपुत, देशका शहीद, विज्ञानपुत्र, विकासपुत्र, भूमिपुत्र, अस्त्रशस्त्रपुत्र र अन्य धेरै सपुत र पुत्रहरूका अनुहारले आकाश ढाक्यो । 

बिस्तारै आकाशको एक कुनाबाट गाढा हरियो र पहेँलो मिश्रित रङ फिजिन थाल्यो । दुरुस्तै निबुवाको सर्वतजस्तै । आकाशमा प्रक्षेपित सपुत र पुत्रहरूको भरिलो अनुहार हेर्दै उभिएको मलकको पेट हुँडलिएर आयो । अचानक पेटबाट अमिलो, तेजाबजस्तो पानी घाँटीलाई पोल्दै हुलुक्क मुखसम्म आइपुग्यो । 

कोठाको कुनामा रहेको वासबेसिनमा गएर उसले मुखभरिको तेजाब थुक्यो । 

पिच्च !

ऊ फर्केर आयो । सिसाका भित्तासँगै टाँसिएर उभियो र एकटकसँग आकाशको रङ हेर्न थाल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्चना थापा
अर्चना थापा
लेखकबाट थप