बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओल्गापुरी स्कुलमाथि स्थानीयको उजुरी, सार्वजनिक जग्गा मिचेको आरोप

बिहीबार, १२ असार २०८२, १७ : ५१
बिहीबार, १२ असार २०८२

सारांश

  • ओल्गापुरी स्कुलले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको आरोप लागेको छ।
  • विद्यालयले मापदण्ड विपरीत वाल बनाएको र फोहोर पानी कुलोमा पठाएको भन्दै स्थानीयले उजुरी दिएका छन्।
  • विद्यालयका सञ्चालकले भने उजुरीकर्ताको स्वार्थ पूरा नभएपछि उजुरी दिएको आरोप लगाएका छन्।

काठमाडौँ । ओल्गापुरी स्कुलमाथि सार्वजनिक जग्गा मिचेर संरचना बनाएको आरोप लागेको छ ।

ललितपुरको चुनिखेलमा रहेको उक्त स्कुलले मापदण्ड विपरीत सार्वजनिक जग्गा मिचेर वाल बनाएको, राजकुलो मिचेर वाल बनाएको र आकाशे पानी बाटोमा पठाइएको तथा विद्यालयभित्रको फोहोर पानी कुलोमा पठाएर दुर्गन्धित बनाएको भन्दै विद्यालयको जग्गासँग जोडिएका सँधियारहरूले उजुरी दिएका हुन् । 

ललितपुर महानगरपालिका वडा नम्बर २२ मा रहेको उक्त विद्यालय करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपाल युथ फाउन्डेसन नामक गैरसरकारी संस्थाको सञ्चालनमा रहेको उक्त विद्यालयले व्यावसायिक तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । 

५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालयले संरचना निर्माण गर्दा समेत मापदण्ड नपुर्‍याएको र राजकुलोबाट छोड्नुपर्ने न्यूनतम चौडाइ समेत कायम नगरेको उजुरीकर्ताको आरोप छ ।

1-468bfbe4-38e5-4b41-b41c-14e7205ce1f0

एक जना उजुरीकर्ता भन्छन्, ‘हामीले राजकुलोबाट कम्तीमा १३ फिट नछोडी कुनै संरचना बनाउन पाइँदैन, त्यो स्कुलले कुलोलाई समेत आफ्नै कम्पाउन्डमा गाभेर वाल लगाएको छ, बर्खामा बग्ने पानी चाहिँ सडकमा बग्नुपर्ने अवस्था छ ।’

उक्त विद्यालयसँगै जोडिएको बाटो गत वर्षको वर्षामा भासिएको थियो । भासिएको बाटो बनाउन मिलेर बनाउन सँधियारहरूले विद्यालयसँग आग्रह गरेको थियो । तर, आफूसँग यसको लागि बजेट नभएको भन्दै यसमा सहभागिता जनाउन विद्यालयले अस्वीकार गरेको बताइएको छ । तर, आफूले बनाएको बाटोमै पिलर लगाइदिएको भन्दै बिना बस्नेत, राकेश शाह र विक्रान्त प्रधान ललितपुर महानगरपालिका वडा नम्बर २२ मा उजुरी दिएका हुन् । उक्त उजुरीमा वडा कार्यालयबाट आवश्यक निरीक्षण गरी कारबाही गर्न माग गरिएको छ । 

उजुरी

तर, ओल्गापुरी स्कुलका सञ्चालन निर्देशक रिस्व गोर्खाली भने उजुरीकर्ताले स्वार्थ पूरा नभएपछि उजुरी गरेको हुनसक्ने बताउँछन् । ‘उहाँहरूले माथिपट्टिको जग्गासम्म जाने सडकको लागि पैसा माग्नुभएको थियो, हामीसँग बजेट नभएकोले दिन सकेनौँ, हामीसँग त्यसरी खर्च गर्न पैसा पनि हुँदैन । त्यही भएर उहाँहरूले उजुरी दिनुभयो होला,’ गोर्खाली भन्छन्, ‘हामी गैरनाफामूलक संस्था हौं, हाम्रो सम्पत्ति अन्ततः सरकारकै हो । हामीले जग्गा मिच्ने, मापदण्ड पालना नगर्ने भन्ने कुरा नै हुँदैन ।’

1-468bfbe4-38e5-4b41-b41c-14e7205ce1f0

राजकुलोमा वाल लगाइएको र फोहोर पानी पठाएको भन्ने आरोपबारे गोर्खाली भन्छन्, ‘तपाईँहरू आफैँ आएर हेर्न सक्नुहुन्छ ।’ललितपुर महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष सागर तुलाधर सो सम्बन्धमा उजुरी आएको र यसबारे छलफल भइरहेको बताउँछन् । ओल्गापुरी विरुद्ध उजुरी आएको थियो । मैले कुरा पनि गरेको थिएँ, यसलाई उतै गएर हेर्नुपर्छ भन्ने थियो । मैले भोलि आउँछु भनेको छु,’ वडाध्यक्ष तुलाधरले भने । 

उक्त विद्यालयको सञ्चालन परराष्ट्रमन्त्री रहेकी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले गरेको भन्ने चर्चा हुने गरेको छ । यद्यपि संस्था तथा विद्यालयको व्यवस्थापनमा उनको नाम भने देखिँदैन । 

ujuri

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप