आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
कविता

मेरा बा

आइतबार, १५ असार २०८२, १३ : १६
आइतबार, १५ असार २०८२

मेरा बा पौरखी छन् मेहनती छन्
यति मात्र होइन साहसी पनि
जस्तोसुकै कठिन परिस्थिति होस्
हाँसीहाँसी सहिदिन्छन् बा
नथाक्छन् न भाग्छन्
डटेर सामना गर्छन्
हरेक चुनौती र समस्याहरू
जीवनका लक्ष्य र गोरेटाहरू
पछ्याइरहन्छन् अनवरत
हरेक बिहानीमा हलगोरु नारेर
खेतबारीमा दौडिने
मेरा बाका पाइलाहरू
तातो घाममा कहिल्यै रोकिएनन्
न चिसो मौसममा रोकिए
मनभरि अनेकौँ रहर बुन्दै
निथ्रुक्क भिजेको तन
र चिसिएको मनका बिच
मुस्कान छरिरहन्छन्
जीवन रङ्गीन बनाउनकै निमित्त
बाले समय भोग गरेको
थाहा पाएकै छैन आजसम्म
उनलाई अल्छ्याइँले छुनै सक्दैन
उनी झिसमिसेमा निस्किन्छन्
सञ्जेमा फर्किन्छन्
भोक तिर्खा सबै बिर्सन्छन्
काममा ध्यान रहन्छ हरघडी
बा दुःखको भित्तामा
खुसीको महल ठड्याउँछन्
सपना होलान् बाका पनि
तर ती सबै थन्क्याएर
सन्तानको खुसीमा
आफ्नो जीवन खोज्छन्
सन्तानलाई उज्यालो देखाउने रहरमा
आफ्ना दिनहरू बालिरहन्छन्
बाका फुटेका खुट्टा
हातभरि उठेका ठेला
चिसोले कठाङ्ग्रिएको तन
पर्वाह छैन उनलाई
आफू र आफ्नो जीवनको
सन्तानको मुहारमा उज्यालो छर्न पाए
साराका सारा भुलिदिन्छन्
आफ्ना दुःख र पीडाहरू
आफ्ना खुट्टामा ठेस लाग्दा पनि
ओठमा मुस्कान छरिरहने बा
सन्तानका जिन्दगीका
आधार बनिदिन्छन्
बाको परिश्रम र मेहनतले
सन्तानको भाग्य निर्माण हुन्छ
सायद यही ठान्दछन् उनी
बालाई मैले आजसम्म
रोएको देखेको छैन
मनभित्र गुम्सिएका पीडाका बिच
मुहारमा खुसी छरिरहन्छन्
रहर बाका पनि थिए होलान्
सपना त बाका पनि थिए होलान्
तर बाले आफ्ना लागि मेहनत गर्दै गरेनन्
खुसीका बोट लगाए तर टिप्दै टिपेनन्
कमाए सन्तानकै लागि
रमाए सन्तानकै खुसी देखेर
मेरा बाको गन्तव्य भकारो थियो
खेतबारीका पाटा थिए
बाको तिर्खाले केवल पानी पायो
भोकले गुन्द्रुक र ढिँडो पायो
आङले भोटो र कछाड पायो
नियालेर हेर्दा बाको जीवनले
केही पाएन मात्र दुःख पायो
संघर्षका पर्याय मेरा बा
मेरा आदर्श हुन् मेरा सर्वस्व हुन्
मेरा विधाता हुन् भगवान् हुन् ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुना धनञ्जय
मुना धनञ्जय
लेखकबाट थप