बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उपनिर्वाचनकाे तयारीमा दलहरू

रुपन्देही ३ : राप्रपा र रास्वपाले थाले उपनिर्वाचनको तयारी

बिहीबार, १९ असार २०८२, २० : ४९
बिहीबार, १९ असार २०८२

सारांश

  • रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राप्रपा र रास्वपाले तयारी थालेका छन्।
  • राप्रपाले उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिलाई तयारी थाल्न निर्देशन दिएको छ र उम्मेदवारको नाम पठाउन आग्रह गरेको छ।
  • रास्वपाले पनि उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ र प्राइमरी इलेक्सनको अवधारणा प्रस्ताव गरेको छ।

काठमाडौँ । कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैले तयारी थालेका छन् ।

राप्रपाबाट निर्वाचन प्रतिनिधिसभाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । राप्रपाले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट तयारीको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । 

बैठकले जिल्ला कार्यसमितिलाई निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको र सम्भावित उम्मेदवारहरूको नाम असार मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ । 

समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलगायतलाई समावेश गरिएको श्रेष्ठले बताए ।

त्यसैगरी, रास्वपाले पनि रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अगाडि बढाएको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्न प्रस्तावित विधिमाथि छलफल गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उक्त विधिमार्फत आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनोट प्रक्रिया अन्तिम निर्णयमा पुर्‍याउनेछ ।

’केही उम्मेदवारहरूको नाम प्रस्ताव भइसकेको छ, केही आउन बाँकी छन् । तर अहिले व्यक्तिको नाममा प्रवेश गरिएको छैन,’ बुर्लाकोटीले बताए, ’योग्य उम्मेदवार छनोट गर्न विधि बनाएर जानेलगायत स्थानीय सदस्यहरूको समेत संलग्नतामा प्राइमरी इलेक्सनको अवधारणा प्रस्ताव गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप