झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित
सारांश
- झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ, जसले गर्दा किसानहरू चिन्तित छन्।
- गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको छ, र मलको अभावले किसानहरूलाई समस्या पारेको छ।
- उत्पादकत्व बढ्दै गएको भए तापनि, मलको अभाव र रोपाइँमा ढिलाइले चुनौती थपेको छ।
बनियानी । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।
हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ”, उनले भने । डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुखेसो गरे । रोपाइँ नहुँदा बीउ पहेँलिएको छ ।
गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरे ।
मल अभाव
झापामा गत वर्ष झैँ यस वर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए ।
झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए । मागअनुसार आपूर्ति भएको छैन । गत वर्ष मागका आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उनले बताए । गोबरको प्रयोग बढाउन सके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टले बताए ।
झापामा बर्खे धानको उत्पादकत्व हरेक वर्ष बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आव २०७९/०८० मा चार दशमलव ८९ र गत आवमा ५ दशमलव ०५ पुगेको केन्द्रले जनाएको छ ।
जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार पाँच सय हेक्टरबाट घटेर ७५ हजार चार सय ६९ हेक्टर भए पनि उत्पादकत्व भने वृद्धि भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए ।
झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छभने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण