बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किन कविता

'कविता लेखिरहनु छ, सङ्ग्रह निकाल्नु छैन'

शनिबार, २१ असार २०८२, १९ : २७
शनिबार, २१ असार २०८२

सारांश

  • कवि राजु उवरकोटीले कविता विधामा वर्तमान समयको प्रवृत्ति र प्रतिस्पर्धाप्रति असन्तुष्टि व्यक्त गरे।
  • उनले प्रतियोगिताहरूले कविताको ओज कम गरेको र नयाँ पुस्ता मोबाइलमा कविता लेख्ने गरेको बताए।
  • उवरकोटीले आफ्ना तीन कविताहरू: विद्योत्तमा, धर्तीको सन्देश, र क्रान्तिको कन्दमूल प्रस्तुत गरे।

‘पाण्डुलिपिहरू बोकेरै जिन्दगीभर हिँडिरहन मन छ,’ कवि राजु उवरकोटी वर्तमान काव्य समाजसँग तिक्तता पोख्छन् । पुल्चोक क्याम्पसमा स्नातक तेस्रो वर्ष पढिरहेका उनलार्ई सधैँ कविता लेखिरहनुछ । तर सकभर पुस्तक प्रकाशन गर्नु छैन । किन ? यसका विभिन्न कारण छन् ।

जसमध्ये प्रमुख एक हो कविता विधा कर्मकाण्ड बन्यो । समकालीन साहित्यभन्दा समाज धेरै अगाडि बढिसकेको उनी बताउँछन् । कार्यक्रमका हिसाबले यतिवेला कविताको माहोल उत्कृष्ट छ, प्रकाशनका हिसाबले स्वर्ण युग हो, पुरस्कार वितरणका हिसाबले अभूतपूर्व छ तर यथार्थ ? यसबारे केही बोलिराख्न पर्ने जरुरी नभएको उनी बताउँछन् ।

कविता बिगार्न कता–कता प्रतियोगिताहरूको पनि धेरथोर भूमिका रहेको उनी बताउँछन् । प्रतियोगितामा विजयी कविताहरू चिरआयुका छैनन् । सर्त नै समसामयिकता हुन्छन् प्रतियोगिताका । तर आजको समसामयिकता भोलि नै फेरबदल हुनसक्छ । देश, माटो, आमा, बुवा, प्रकृति कहिलेकाहीँ भेदभावजस्ता शीर्षक तोकेर लेखाइने या भनौँ छनोट भएको कविता यस्तै विषयमा हुने भएकाले कविताको ओज नहुने उनी बताउँछन् । अनि कसरी आउँछन् बलशाली कविता ? उनी प्रश्न गर्छन् ।

तर यदाकदा उनी आफैँ पनि प्रतियोगिताको भिडमा उभिन्छन् । तर अक्सर प्रतियोगितामा छनोटमा नपर्ने कविको सूचीमा उनी पर्छन् । प्रतियोगिताले कविता बचाउँदैन भन्नेमा स्पष्ट उनी यसरी आफैँ पनि सहभागी भैराख्नुको थैलो खोल्छन्, ‘प्रतियोगिताको पुरस्कारले इन्जिनियरिङ पढ्ने सपना थियो । यो पूरा नहुने रहेछ, अहिले बुझ्दैछु ।’

कवितालाई पछिल्ला कविहरूले युगबोधतिर डोहोर्‍याउन नसकेको उनको भनाइ छ । त्यो भिडमा आफू पनि रहेको स्वीकार गर्न उनी हिच्किचाउँदैनन् । नयाँ कविहरू नाममा त छन्, तर कवितामा भने नरहेको स्वीकार गर्न अप्ठ्यारो मान्न नहुने उनी बताउँछन् ।

तत्काल पुस्तक मोह नराखेका उनीसँग हाल दुई वटाजति सङ्ग्रह बन्ने कविता भने छन् । डायरीमा कविता कति छन् ? यस प्रश्नमा उनी जेनजी जवाफ दिन्छन् । अर्थात् अबको पुस्ता डायरीमा होइन, मोबाइलमा कविता लेख्छ । उसो त नवपुस्ता मात्रै होइन । अब श्रवण मुकारुङ, मनु मञ्जिल, कुमार नगरकोटी, दिनेश अधिकारीलगायतले समेत मोबाइलबाटै कार्यक्रमहरूमा कविता वाचन गर्न सुरु गरिसकेको असत्य होइन ।
उवरकोटी ६ कक्षामा पढ्दा २०७० सालदेखि कविता लेख्न थालेका हुन् । नेपाली विषयको गुरुबाट उनले कविता लेख्ने प्रेरणा पाए । चार कक्षामा पढ्दा सिद्धिचरण श्रेष्ठको कविता थियो । त्यसवेला आफूहरूलाई शिक्षकले कविता कण्ठ गर्न लगाउने गरेको उनी सम्झन्छन् । कण्ठ गर्न नसकेपछि १०–१२ सिर्कना खाएको अनुभव पनि उनीसँग छ । तर कण्ठ गर्न नसक्दाको पिटाइले हो वा कविताको मिठासले कुन्नि विस्तारै उनीभित्र काव्यरस बढ्दै गयो । नयाँ नयाँ कविता पढ्दै गए । अनि फरक फरक कविताले हरेक पटक प्रेरणा मिल्यो । कक्षा नौमा पढ्दा उनले पहिलो सङ्ग्रह पढे, भूपि शेरचनको– घुम्ने मेचमाथि अन्धो मान्छे । त्यसपछि त उनी कविताप्रति झनै आकर्षित भए ।

त्यसवेला डायरीमा सय बढी कविता लेखेका उनले २०७७ पछि भने मोबाइलमै लेख्न थाले । हाल उनीसँग कति कविता छन् ? अंकै तोकेर उनी भन्न सक्दैनन् । 

प्रज्ञा प्रतिष्ठानबाट निस्किने पत्रिकामा छापिएको ‘मरेपछिको मस्तिष्क’ हो ।  कविता के हो ? उनी भन्छन्, ‘यो सहज र भारी दुवै उत्तर हुनसक्ला, कविता मेरा लागि जीवनको महत्त्वपूर्ण पाटो हो । हिँड्दा पनि सोचिबस्छु केही नयाँ फुर्ला कि भनेर । म कविता मात्रै लेख्छु, पठन त अन्य विधा पनि गर्छु ।’ कवितामा केही नयाँ भन्न, नयाँ शिल्प र तरिका ल्याउन, दृष्टिकोण र विषय ल्याउन, चिन्तन चेतना हुनु उनी जरुरी ठान्छन् । नत्र उद्देश्यविहीन कविता त्यति विशेष लाग्दैन उनलाई । आफ्नो लागि र आत्मरतिका लागि लेखिएको हो भने पनि त्यो उद्देश्य हो । तर त्यसले हृदय झङ्क्रित पार्न मस्तिष्क हल्लाउनु जरुरी हुने उनी बताउँछन् ।

कविता नै किन त भन्ने प्रश्नमा उनी अगाडि भन्छन्, ‘म समय चिन्न कविता पढ्छु । मानव र युगको संवेदनशीलता बुझ्न कविता पढ्छु । भन्न मन त यस्तै छ,  तर सायद यो सतही र बनावटी जवाफ हुन् कि !’
‘मैले एउटा दुईटा कविता मनपरेको किताब भन्नु भनेको नभन्नु नै हो,’ प्राडा अभि सुवेदीको उक्त विचारमा समर्थन गर्ने उनका मन पर्ने कवितासूचीको अग्रभागमा नयाँ कविता त्यति पर्दैनन् । लक्ष्मीप्रसाद देवकोटाका ‘हुरीको गीत’, ‘पागल’, ‘भूतलाई झटारो’, ‘एक सुन्दरी वेश्याप्रति’, लेखनाथ पौड्यालका ‘उडेको चरासित’, ‘साहित्य र फुटबल’, ‘सत्य सन्देश’, गोपालप्रसाद रिमालका ‘आमाको सपना’, ‘प्रति’, भूपि शेरचनाका प्रायः सबै, त्यसमा पनि ‘कवि हुनु’, ईश्वरबल्लभको ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ उनलाई मन पर्ने कविता हुन् । वैरागी काइँलाका प्रायः कविता, हरिभक्त कटुवाल र मोहन कोइराला उनका प्रिय कवि हुन् । कणाद महर्षि र खुमनारायण पौड्याललगायत पनि उनलाई मन पर्ने कवि हुन् ।

इन्जिनियरिङ पढेर कवितामा रमाइरहेका उनी इन्जिनियरिङलाई पनि कला, सिर्जना, विचार, समाजको आधार र जग मान्छन् । यसैले धेरै इन्जिनियर विद्यार्थीले कला क्षेत्रमा राम्रो गरिरहेको उनको बुझाइ छ । 

आजको श्रृङ्खलामा प्रस्तुत छन् कवि राजु उवरकोटीका तीन कविताः

विद्योत्तमा
यदाकदा कथाहरू चल्छन् 
धारा प्रवाह दृष्टान्तहरू बग्छन्
सजिन्छ अनेक व्यक्तित्व प्रत्येक पटक
र बन्दछ निर्मल शान्त आकृति हरेक कल्पनामा ।

विद्योत्तमा ,
कथाहरूले जे भने पनि सत्य त तिमीसँग छ 
ममता प्रेमको क्षेत्रमा समेटिँदैनन् केही भावना 
मैमत्ताले मत्तिएको मस्तिष्कहरू छन् यहाँ ।

मस्तिष्कः
छोएर, 
हेरेर, 
सुनेर,
ज्ञान बनाउँदै आएको थियो ! 


“शब्द लहरीमा कालिदास भन्दा धेरै तिमी छ्यौ !“
कुनै काव्यशास्त्रमा अझै देखिएन ! न–देख्न चाह्यौँ !

तिम्रो अहम्ले कोरेको सुन्दर समयाकाश 
–“कालिदास“
दर्शनले देखाएको बाटोमा तिम्रा मनो–पदचापहरू
समेटिएको दृश्य यहाँ काव्य बनेर आइपुगेका छन् !

अहम्को रङ्गिन संसारको कुना कुनाबाट 
जब कोही उज्यालो हेर्न खोज्छ 
देख्छ अरण्य बागको हर्षोल्लास ! 

सामीप्यमा 
अर्धनारेश्वरको चेतना पाउँछन् कालिदासहरू
समयमा सजिन्छन् ः नीर–आशामा आशा भएर 
निस्तेजमा सूर्य भएर/नीर्जनमा मेघ भएर !

तिम्रै त थियो मोहित मनको राजा
जो धरोहर बनिरहेछ अलङ्कारको / रसाधारको 
समर्पित समर्पणको हृदयाभाषामा ।

ए क्षणिक मन काली 
विवेक उज्याली स्वरुप सुन्दरी 
बोधार्थका सिमानामा स्व–मनमोहिनी 
अङ्कमालमा अनन्तको अनङ्गसाथ प्यारी !

इतिहासको प्रागकथामा
“परीक्षामा जितेको कसले थियोे ?“
भूमण्डलको मनभरि
–काव्यले सधैँ सुवास छरिरहेछ ! 


नाट्य सूत्रधारमा सधैँ प्रतिविम्बित चेतनाको 
लुप्तगुप्त सूत्रधार 
–ऊ तिम्रै भएपछि यात्रारत छ अझै !

हार्नेहरूले प्रेम गरेपछि कोही कालिदास बन्न सक्ने रहेछ !

विद्योत्तमा ...
कालिदासले तिमीलाई कहिल्यै “काली “ भनेका थिए ? 

(२०८१ पुसमा पूरा गरेको । बाल्यकालदेखि सुन्दै आएको कालिदासको कथा, कथाका साथै विद्योतमासँगको वादविवाद र महाकालीले दिएको मिथकलगायतको विषय विद्योत्तमा र कालिदासको साहित्यमा जोडिने सोचेर लेखेको ।)


धर्तीको सन्देशः सम्भावनाको जीवनलाई ?

जीवन–बोधको लामो यात्रामा 
सभ्यताले उन्दै आएको 
ज्ञान, चेतना र बोधको माला 
सुम्पेका छौँ सम्भावित तिमीहरूलाई ।

उनेका मालाहरू 
बुनेर जीवन वृत्तचित्रमा 
त्यहाँ केही आवाज भरेका छौँ! 
जीवनको सुन्दर सार्थकता ।

हुनुको बोधमा मग्न भएपछि
पाएका केही निष्कर्ष र मीमांशाको 
चित्र र चलचित्र छन् तिमी सम्भावनालाई । 

हामी हुनुमा अर्थ बनाउने कार्यचित्र छन् तिम्रा लागि 
समेटिएका जीवत्वको ध्वनि
धारा प्रवाहित संसार चित्र ।

हे अनन्त आकाश सागर यात्री 
तिम्रो जीवनको आधार कस्तो छ ? 
श्वासप्रश्वास मै के तिम्रो पनि जीवन–बोध छ ?

आवाज दृश्य चित्रमा
हामीसँग भएको सुन्दर पक्षको आदर्श छन् 
जीवनजल, जीवनस्वाद 
जीवनस्पर्श र सजीव महसुसको एकएक आकारहरू ! 

धर्तीको भाषा र सम्बोधन मात्र
तिमीलाई सुनाउनु त धेरै थियो ! 
सुन्दरता मात्र सुनाउने सन्देश 
पर्खिरहेको छ तिमीलाई ...

तिमीले पाइगएमा 
ज्ञान, चेतना र बोधको माला
त्यहाँ तिम्रा लागि 
सभ्यता यन्त्रको भित्र पुर्‍याउन 
नयाँनयाँ मन्त्रबिजहरू छन् यन्त्र सतहमा ।

बुझिगएमा हाम्रो सु–सन्देशहरू 
“तिमीलाई मीठो भ्रम दिन सफलता पाएको कल्पना“ 
कति पो हुने छ हामीलाई ! 

हामीमा तिमीले 
द्वेष, घृणा र अहंकार नदेख्दा 
तिमीलाई डाह लाग्न सक्छ ! 

तैपनि आत्म स्वीकारोक्ति त गर्नैपर्छ मैले
जीवनमा सार्थकताको आकारमा भ्रम छर्नु 
मान्छे सभ्यताको सारंश सुनाउँदै छ आफ्ना सन्ततिलाई ! 

(२०८१ माघमा लेखेको । क्रान्तिका कविता लेखिरहँदा धेरै कुरा छुट्ने गरेको सोचेर छुटेका कुरा लेख्ने प्रयास गरेको । केही कुरा यथास्थितिवादी हुन जरुरी ठानेर ।)


क्रान्तिको कन्दमूल 

जन्मिएका विचारहरूले
जङ्गलमा जग हालेरै फैलिन्छु सोचे कि ? 
जीवन बुझेरै त ?
मान्छेले जङ्गल आफ्नो हो भन्यो ।

जमिनमा जराको जन्मान्तर सदा जोडिएको छ 
अन्तर सम्बन्धमा सधैं दृश्यलाई खोज्नु नै किन ? 
सजीव जीवले संघर्षका 
अनेक कथा बनाएपनि 
सधैं भइरह्यो अलिखित 
अन्तरयुद्धमा सहअस्तित्वको वृतान्त ।

भूमिकाहरूमा बाँच्नु बचाउनुको कथा अकथनीय !

क्रान्तिको इतिहास लेखिए पनि 
हामी अझै खोज्दै छौँ तत्व जगको परिवेश ।

निभाउनुपर्ने सारा भूमिकामा 
को अडिग रह्यो ? को भड्कियो ?
एकएक मिलेर संसार बनेको जङ्गलमा 
निभाउनु पर्ने सारा भूमिकामा 
सधैँ उभिएकै त छन् ः वन्यजन्तुहरू ।

विभाजनको अनेकन कथा होला अदृश्य 
जसरी जीवनको हलचल फरक हरेकको !

छन् ती अवसरमा आधारमा 
चराचर जगमा खेलीरमी 
फरक जीवनको फरक परिस्थितिले
मागेको विवेकको भरपुर सत्व लिएर 
प्रकृतिको हृदय भएरै बाँचेका छन् 
जतिसुकै तल्लो आयामको चेतना भनौँ हामी ! 


कामरेडहरू 
जीवनको स्पन्दन त पत्थरको नि हुनसक्छ 
हेर्नुस् न जीवन्त सजिएको लेउ पत्थरहरूमा ।

पत्करलाई
रुखको अन्तिम निसानी उनीहरू नै हुन् 
रुखकै फैलावट बन्नेछन् फेरि पनि !

पत्करमा बाँचिरहेका जीवन 
तीमुनि बाँचिरहेका जीवन
जीवनदेखि जीवनसम्म !

कामरेड,
कहिल्यै छाम्नुभयो पत्थर ? 
अपनाउनु भएथ्यो सजगता ?
पत्कर पत्रमा पाइला चलाइरहँदा...
छाम्नु त तपाईंले आफ्नै छाती पनि भएन सायद 
बागी यात्रा सधैंको कथा हो ऋतंभराको !

ती रुखहरू जो छहारी बनेथे तपाईँहरूको 
सोध्दैनन् ः
आज सत्ताको हरेक अङ्गहरू 
कुन ऋतुको स्थिरताले ? किन उजाड छन् ?


बम, बारुद र गोली सहेर
पुनः पुनः बहाइरहेछ हावा 
स्वार्थ आगमा जल्नु जङ्गलले जान्न नसक्ने कुुरा हो ।

जन्मान्तसम्मको यात्रामा हुने रुखको
मृत्युमा समेत उपयोगिता साँच्नु 
क्रान्तिकै नव–नाम सदा 
एक सत्य जङ्गल कथा ।

क्रान्ति र जङ्गलको सहअस्तित्वमा 
स्वीकार्य सन्देश त धेरै हुन सक्थ्यो 
समयबोधको युगीन गीत अर्कै गाउन सकिन्थ्यो
ठम्याउनु पर्ने स्पर्श आभाषको जीवन्त पल 
जङ्गलको जीवन्तता र परिवर्तनको चक्रसँगै
विचारले पाउन सक्ने कति महसुसहरू छुटे ?

क्रान्तिको कल्पवृक्षबाट समयले 
– नयाँ कन्दमूल मागिरहेथ्यो 
क्रान्ति मस्तिष्कहरूबाट करोडौं शिरफूलहरूले 
– नयाँ कन्दमूल अझै चाहिरहेछन् ।

(२०८१ असोजमा लेखेको । नासाले पठाएको भोएजर्स प्रोब्स, जसमा धरतीभन्दा बाहिरका विकसित सभ्यता छ भन्ने सन्देश छ । जहाँ धेरै सकारात्मक पक्ष र सौन्दर्यको प्रस्तुति छ । त्यो विषयमा काव्य विचरण गरिहेर्न मन लाग्दा लेखेको ।)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप