अध्यक्ष ओलीकै प्रस्तावमा विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किनुहुन्छ : रघुवीर महासेठ
सारांश
- एमाले सचिव रघुवीर महासेठले केपी ओलीको सहमतिमा विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने बताए।
- महासेठले ओली र भण्डारीबीच कुनै अन्तरविरोध नभएको र भण्डारीको सक्रियतालाई पार्टीले नरोक्ने जिकिर गरे।
- महासेठले मिडियामा आएका अन्तरविरोधका हल्ला निराधार रहेको र आफू कुनै कित्तामा नरहेको स्पष्ट पारे।
काठमाडौँ । नेकपा एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले पार्टी अध्यक्ष केपी ओलीकै सहमतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने दाबी गरेका छन् । आइतबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा महासेठले अध्यक्ष ओली र भण्डारीबिच कुनै अन्तरविरोध नभएको पनि जिकिर गरे ।
‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा उहाँ आउनुहुन्छ । हाम्रो संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कुनै बन्देज लगाएको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । सचिवालय बैठकमा पनि यसबारे छलफल भएकै हो । उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने किन रोक्ने ? संविधान र विधानले रोक्ने अधिकार दिएकै छैन’, उनले भने– ‘पूर्व राष्ट्रपतिले पार्टीभित्र अन्तर्विरोध बढाउने काम गर्नुभएको छैन । हाम्रा एक दुई जना साथीहरूले अन्तर्विरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्व राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको छ, त्यो पनि राम्रो होइन ।’
भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउन सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किने घोषणा मात्र गरेकाले कसरी अगाडि जाने विषयमा कुनै जानकारी नगराएको महासेठले बताए । अहिले अध्यक्ष ओली र भण्डारीबिच बाहिर जुन खालको अन्तर्विरोध भएको हल्ला चलिरहेको छ, त्यो निराधार रहेको उनले जिकिर गरे ।
‘अहिले बाहिर जुन प्रकारको बजार हल्ला छ । प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच अन्तर्विरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेको छ । मिडियामा दिनहुँ कित्ताकाटको समाचार आइरहेका छन् । यसको कुनै सत्यता छैन । कुनै अन्तर्विरोध छैन’, उनले भने ।
साथै उनले मिडियाले आफूलाई पनि कित्ताकाट गरेकोमा असन्तुष्टि जनाउँदै कुनै कित्तामा नरहेको स्पष्ट पारे । जबसम्म अध्यक्ष ओली रहन्छन् तबसम्म उनकै निर्देशन अनुसार अगाडि बढ्ने भन्दै महासेठले अध्यक्षको चयन कित्ताकाट गरेर होइन महाधिवेशन गरेर हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण