मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन्

आइतबार, २२ असार २०८२, १३ : ०८
आइतबार, २२ असार २०८२

सारांश

  • चन्द्र भण्डारीले सभापति देउवालाई निर्वाचनमा गठबन्धन गरेकोमा व्यङ्ग्य गर्दै हँसिया धेरै बनाएर घाँस काट्न नसकेको र गाईभैँसी भोका भएको टिप्पणी गरे।
  • उनले गठबन्धनका कारण धेरै नेताहरू टिकटबाट वञ्चित भएको र कांग्रेसले जनताको काम नगर्दा जनविश्वास गुमाएको आरोप लगाए।
  • भण्डारीले आगामी रुपन्देही-३ मा गठबन्धन नगर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन सुझाव दिए।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाई भैँसी भोकै रहेको बताएका छन् । 

‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दा खेरि हँसियाले घाँस काट्न सकेनन्,’ भण्डारीले भने, ‘त्यसकारणले गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या ।’

आफूलाई निर्वाचनमा टिकट दिएकोमा धन्यवाद दिँदै भण्डारीले योग्यलाई टिकट दिन आग्रह गरे । कांग्रेसले जनताका काम नगरेकाले अहिले गाउँ गाउँमा कांग्रेसप्रति जनविश्वास नरहेको पनि भण्डारीले बताए ।

‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नुपर्दैन,’ भण्डारीले भने, ‘हामीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन सकेनौँ । अहिलेसम्मको निचोड मेरो विचारमा यही हो ।’

उनले आगामी कात्तिक १७ गतेका लागि मिति तोकिएको रुपन्देही–३ मा गठबन्धन नगर्न सुझाव दिए । भण्डारीले भ्रातृ संस्थाका अहिलेका समिति भङ्ग गरेर पार्टीले जिम्मेवारी लिएर महाधिवेशन गरिदिनुपर्ने बताए ।

उनले भने- ‘भ्रातृ संस्थाको अधिवेशन केन्द्रमा केन्द्रीय सभापतिले गराउनुस् । प्रदेशमा प्रदेश सभापतिलाई दिनुस् । जिल्लामा जिल्ला सभापतिलाई दिएर यो अधिवेशन गराउनुस् । यो झगडा गराएर केही पनि फाइदा छैन । अहिलेका कुनै पनि भ्रातृ संस्थाका समितिको काम छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप