बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मस्कको राजनीतिक घोषणा

अमेरिकामा नयाँ राजनीतिक दल गठन गर्न छन् अनेक चुनौती

मस्कको नयाँ पार्टीबारे के भन्छन् अन्तर्राष्ट्रिय सञ्चार माध्यम ?
आइतबार, २२ असार २०८२, १५ : ५३
आइतबार, २२ असार २०८२

सारांश

  • एलन मस्कले अमेरिकी राजनीतिक दल 'अमेरिका पार्टी' गठन गर्ने घोषणा गरेका छन्, जसले रिपब्लिकन र डेमोक्रेटिक दलहरूलाई चुनौती दिनेछ।
  • यो पार्टी ८०% असन्तुष्ट अमेरिकी मतदाताहरूको आवाज प्रतिनिधित्व गर्ने दाबी गरिएको छ, तर यसको नेतृत्व र संरचनाबारे मस्कले केही खुलाएका छैनन्।
  • मस्कको यो निर्णय ट्रम्पसँगको विवाद र उनको पूर्व समर्थनको अन्त्यपछि आएको हो, जसले उनलाई रिपब्लिकन पार्टीलाई चुनौती दिन प्रेरित गरेको देखिन्छ।

वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले आफ्नै राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद सुरु भएको केही हप्तापछि उनले यो घोषणा गरेका हुन् । 

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ‘अमेरिका पार्टी’ गठन गर्ने उल्लेख छन् । यो पार्टीले अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक दलहरूको दुई–दलीय राजनीतिलाई चुनौती दिने विश्लेषण गर्न लागिएको छ । 

यो पार्टीलाई मस्कले ती ८० प्रतिशत अमेरिकी मतदाताको आवाजको रूपमा वर्णन गरेका छन्, जो अहिलेका प्रमुख दल  रिपब्लिकन र डेमोक्रेट दुबैबाट सन्तुष्ट छैनन् । 

यद्यपि, यो पार्टीको नेतृत्व कसले गर्छन् अनि यसको संरचना कस्तो हुनेछ भनेर पनि मस्कले केही भनेका छैनन् । 

अहिलेका लागि आफूले केवल २ वा ३ सिनेट सिट र ८ देखि १० हाउस जिल्लाहरूमा मात्र ध्यान केन्द्रित गर्ने मस्कले आफ्नो पार्टीबारे घोषणासँगै भनेका छन् । अमेरिकामा हरेक दुई वर्षमा सबै ४३५ अमेरिकी प्रतिनिधि सभाका सिटहरूको लागि चुनाव हुन्छ । यसबाहेक, छ वर्षको कार्यकाल पूरा गर्ने सिनेटका १०० सदस्यहरूमध्ये लगभग एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन् । मस्कको नजर यी सदस्यहरूमाथि छ । 

  • किन यो निर्णयमा पुगे मस्क ?

ट्रम्पसँगको विवाद पछि मस्कले एक्समा एउटा सर्वेक्षण गरेका थिए । यसमा उनले मानिसहरूलाई अमेरिकामा नयाँ राजनीतिक दल हुनुपर्छ कि पर्दैन भनेर सोधेका थिए । यसमा धेरैजसो प्रयोगकर्ताले नयाँ पार्टीलाई समर्थन गरेका थिए । ‘हामी लोकतन्त्रमा होइन, अनावश्यक खर्च र भ्रष्टाचारले देशलाई बर्बाद गर्ने पार्टी प्रणालीमा बाँचिरहेका छौं । आज ‘अमेरिका पार्टी’ गठन घोषणा गरिएको छ ताकि तपाईं फेरि आफ्नो स्वतन्त्रता प्राप्त गर्न सक्नुहोस्,’ उनले  पोस्टमा लेखेका छन् । 

शनिवारसम्म अमेरिकी संघीय निर्वाचन आयोगमा औपचारिक रूपमा पार्टी दर्ता भएको देखाउने कुनै कागजात प्रकाशित भएको छैन ।  २०२४ को राष्ट्रपतीय चुनावमा मस्क ट्रम्पका प्रमुख समर्थक थिए र ट्रम्पको जितका लागि लगभग २५ करोड डलर खर्च गरेका थिए । चुनाव पछि, मस्कलाई ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डज)को प्रमुख बनाइयो । यसको काम संघीय बजेटमा ठुलो मात्रामा कटौतीको सुझाव दिनु थियो । मे महिनामा मस्कले ट्रम्प प्रशासन छोडे अनि ट्रम्पको कर र खर्च योजना ‘बिग, ब्यूटिफुल’ विधेयकको सार्वजनिक रूपमा आलोचना गर्न थाले । 

b28e6530-5a2d-11f0-9ec8-73c6b3190e9a.jpg

यसपछि मस्क र ट्रम्प बिचको मतभेद सुरु भयो । ट्रम्पको यो विधेय कांग्रेसबाट मुस्किलले पारित भयो । यस हप्ता राष्ट्रपतिले यसलाई कानुनको रूपमा हस्ताक्षर गरे । मस्कले यो विधेयकलाई देशलाई टाट पल्टाउने विधेयक भनेका छन् । यसको प्रतिक्रियामा ट्रम्पले पनि टेस्ला, स्पेसएक्स जस्ता मस्कका कम्पनीहरूलाई दिँदै आएको अनुदान कटौती गर्ने र उनलाई देशबाट निकाल्ने धम्की दिएका छन् । यस विधेयकमा ठुलो सरकारी खर्च र कर कटौती समावेश छ । यसले आगामी १० वर्षमा अमेरिकी बजेट घाटामा ४३ ट्रिलियन भन्दा बढी थप्ने अनुमान गरिएको छ । 

  • साँच्चैको कोसिस हो कि दबाब दिने रणनीति हो ? 

सीएनएन, सीबीएस र न्यूयोर्क टाइम्स जस्ता प्रमुख अमेरिकी मिडिया संस्थाहरूले मस्क र ट्रम्प बिचको तिक्ततालाई यो पार्टीको घोषणाको कारण मानेका छन् । ट्रम्प समर्थकबाट आलोचकमा बन्नु मस्कको राजनीतिक अडानमा ठुलो परिवर्तन हो भनेर वासिङ्टन पोस्टले लेखेको छ । यस अघि मस्क रिपब्लिकन पार्टीतिर झुकाव राख्थे । यो परिवर्तन ‘डज’को आलोचनापछि आएको हो । 

न्यूजवीक पत्रिकाले आफ्नो रिपोर्टमा मस्क र ट्रम्प बिचको सार्वजनिक बहसको उल्लेख गरेको छ । यी दुई बिच एक्स र ट्रुथ सोसलमा चर्काचर्की भएको थियो । ‘ट्रम्पको दाबी थियो कि मस्कको विरोध विद्युतीय सवारी साधनहरूमा कर छुटको अन्त्यसँग सम्बन्धित थियो, जसले टेस्लालाई हानि पुर्‍याउन सक्छ,’ यसले लेखेको थियो । कतारको मिडिया संगठन अल जजीराले राजनीतिक विज्ञ थोमस गिफ्टलाई उद्धृत पार्टी खोल्ने मस्कको योजनालाई ‘चाल’ भनेको छ । मस्कले वास्तवमा पार्टी बनाउन नचाहेको बरु रिपब्लिकनहरूलाई दबाब दिन खोजेको उसको बुझाई छ । 

थोमस गिफ्टले अल जजीरालाई भने, ‘यो मस्कको चाल हो । डेमोक्रेटिक र रिपब्लिकन दलहरूको बलियो संगठनात्मक शक्तिलाई पार गर्न धेरै गाह्रो छ भन्ने कुरा उनलाई राम्ररी थाहा छ ।’ 

पार्टी गठन गर्न सम्भव भए पनि अमेरिकी कांग्रेसमा सिट जित्नु पूर्णतया फरक कुरा भएको गिफ्टले बताए ।  यस विषयमा सीबीएस न्यूजले चुनाव विज्ञ ब्रेट क्यापलसँग कुरा गरेको थियो । क्यापलले भने, ‘अमेरिकी कानूनले डेमोक्रेट र रिपब्लिकनलाई फाइदा पुर्‍याउँछ । मस्कले कानुनी चुनौतीहरूको सामना गर्नुपर्नेछ, जस्तै मतपत्र पहुँचको लागि हस्ताक्षर । राष्ट्रिय पार्टी गठन गर्न धेरै वर्ष लाग्न सक्छ, त्यसैले २०२६ को लागि उनको योजना अव्यवहारिक देखिन्छ ।’ 

  • मस्कसामु रहेका चुनौतीहरू 

मस्कले पार्टीको घोषणा त गरेका छन् तर अमेरिकाको दुई–दलीय प्रणाली, राज्य–वार मतपत्र प्रणाली, दर्ता प्रक्रिया, कोष जुटाउने र मतदाता समर्थनको अभाव जस्ता समस्याहरू छन् । मस्कसँग स्रोतहरू त छ तर राजनीतिक धैर्य र  संगठनको अभाव ठुलो बाधा हुन सक्ने विज्ञहरू भन्छन् । मस्कले ठुला निर्णयहरू गर्न आफ्नो स्रोतहरू प्रयोग गर्न सक्छन् भनेर देखाएको भए पनि आफ्नो वचन पूरा नगर्ने उनको इतिहास लामो इतिहास भएको कुरालाई न्यूयोर्क टाइम्सले उद्धृत गरेको छ । 

मस्कले डजको नेतृत्व गर्दा उनले धेरै सरकारी योजना र बजेटमा कटौती गरेका थिए । तर पछि ट्रम्पसँग झगडा हुँदा, उनले घरेलु नीतिहरूसँग सम्बन्धित राष्ट्रपतिको ठुलो विधेयकप्रति असन्तुष्टि व्यक्त गरे । गत महिना, मस्कले सामाजिक सञ्जालमा यो कानुनलाई ‘घृणित र भयानक’ समेत भएको टिप्पणी गरे ।  यसले पहिला देखि नै चुलिएको बजेट घाटालाई झनै बढाउने मस्कको तर्क थियो । 

अमेरिकी चुनाव प्रणाली ‘विजेताले सबै लिन्छ’को सिद्धान्तमा आधारित छ, जसमा तेस्रो पक्षहरूलाई ठाउँ बनाउन धेरै गाह्रो छ ।  ‘अमेरिकासँग बहुदलीय प्रणालीलाई प्रभावकारी हुन अनुमति दिने संस्थाहरू छैनन् । अन्य लोकतन्त्र भन्दा फरक, २०–३० प्रतिशत भोटले पनि तपाईंलाई कुनै सिट प्राप्त हुँदैन, त्यसैले साना दलहरूको लागि बाँच्न धेरै गाह्रो छ,’ जर्जटाउन विश्वविद्यालयका प्राध्यापक हान्स नोएलले भने । 

मस्कले शनिबार एक्समा आफ्नो योजना अर्काे वर्षको मध्यावधि चुनावलाई लक्षित गर्ने भनेका थिए ।  उनले आफ्नो रणनीतिलाई ग्रीक कमान्डर एपामिनोन्डासको युद्ध रणनीतिसँग तुलना गरेका थिए । जसमा सबै शक्ति एक विशेष स्थानमा केन्द्रित गरेर शत्रुलाई पराजित गरिएको थियो । मस्कले विभिन्न राज्यहरूमा संघीय उम्मेदवारहरू खडा गर्न चाहन्छन् वा भविष्यमा तेस्रो पक्षको राष्ट्रपति पदको उम्मेदवार खडा गर्न चाहन्छन् भने पनि उनले प्रत्येक राज्यमा फरक मतपत्र नियमहरू पालना गर्नुपर्नेछ । राज्यहरू र संघीय निर्वाचन आयोग (एफईसी)मा नयाँ दल दर्ता गर्ने फरक नियमहरू छन् । प्रायः यसमा निवासको प्रमाण र मतदाताहरूबाट निवेदनहरूको हस्ताक्षर जस्ता सर्तहरू समावेश छन् ।

म्याक म्याककोर्कल ड्यूक विश्वविद्यालयको सेफोर्ड स्कूल अफ पब्लिक पोलिसीक प्राध्यापक हुन् । उनले पहिले डेमोक्रेटिक पार्टीको सल्लाहकारको रूपमा पनि काम गरेका थिए । वासिङ्टन पोस्टसँगको कुराकानीमा, प्रोफेसर म्याककोर्कलले यी नियमहरू ठुलो चुनौती बन्न सक्ने बताएका छन् । तर, मस्कसँग पैसा भएका कारण उनले यो काम गर्न सक्ने सम्भावना भने उनले औँल्याएका छन् । 

मस्कसँग रिपब्लिकन पार्टीको लागि समस्या सिर्जना गर्न सक्ने तेस्रो पक्ष सिर्जना गर्न पर्याप्त आर्थिक शक्ति छ ।  तर उनले त्यस्तो जोखिम लिनेछन् कि लिने छैनन् भन्ने निश्चित नभएको अल जजीरासँगको कुराकानीमा एसेक्स विश्वविद्यालयको सरकारी विभागमा प्राध्यापक नताशा लिन्डस्ट्याडले बतायन् । 

591ddc50-5a2e-11f0-9ec8-73c6b3190e9a.jpg

नयाँ पार्टीको लागि अमेरिकी मतदाताहरूमा धेरै उत्साह भएको पनि उनले औँल्याइन् । ‘यो विधेयकले अमेरिकालाई सयौँ अर्ब डलर ब्याजमा मात्र खर्च गर्न बाध्य पार्नेछ । मानिसहरूले यो बुझ्दै जाँदा, उनीहरू केही नयाँ चाहन थाल्नेछन् । परम्परागत दलहरू विरुद्ध सार्वजनिक आक्रोश चरम सीमामा छ, र मस्कले यसको फाइदा उठाउन सक्षम हुन सक्छन्,’ उनले भनिन् । 

  • दुई–दलीय प्रणालीभन्दा बाहिरको अमेरिकी इतिहास

अमेरिकामा दुई प्रमुख दलहरू (रिपब्लिकन र डेमोक्रेट) बाहेकका राजनीतिक दलहरू लामो समयदेखि अस्तित्वमा छन् । तर हालका वर्षहरूमा उनीहरूलाई सीमित राष्ट्रिय समर्थन प्राप्त भएको छ । अन्तिम पटक १९६८ मा जर्ज वालेस नामक तेस्रो–दलीय उम्मेदवारले राष्ट्रपति चुनावमा इलेक्टोरल भोट जितेको थियो । पाँच दक्षिणी राज्यहरूले अमेरिकी स्वतन्त्र पार्टीका उम्मेदवार जर्ज वालेसलाई मतदान गरेका थिए । अर्बपति व्यापारी रस पेरोटले १९९२ मा लगभग १९ प्रतिशत लोकप्रिय मत प्राप्त गरे । तर कुनै पनि इलेक्टोरल कलेज भोट प्राप्त गर्न सकेनन् । 

यस्तै १९१२ मा प्रोग्रेसिभ पार्टीका थियोडोर रुजवेल्टले लोकप्रिय मतको २७ दशमलव ४५ र ८८ इलेक्टोरल भोट जितेका थिए ।  जुन अमेरिकी इतिहासको सबैभन्दा राम्रो तेस्रो पक्ष प्रदर्शन मध्ये एक हो । 

  • अमेरिकामा नयाँ राजनीतिक दल गठनको चुनौती

अमेरिकामा नयाँ राजनीतिक दल गठन गर्नेबारे सुन्दा जति सजिलो छ, वास्तवमा यो काम त्यति नै गाह्रो छ । मस्कको ‘अमेरिका पार्टी’को हालैको घोषणाले फेरि एक पटक नयाँ दलले अमेरिकी राजनीतिमा साँच्चै पाइला राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाएको छ । नयाँ दलले गर्नुपर्ने पहिलो कुरा औपचारिक नामको निर्णय गर्नु हो । यसलाई घोषणापत्र र संगठनात्मक संरचना पनि चाहिन्छ । पार्टी अध्यक्ष, कोषाध्यक्ष र अन्य पदाधिकारीहरू राख्नु पर्छ ।  यो संरचना राज्य र राष्ट्रियस्तरमा काम गर्न डिजाइन गरिएको हो । 

यदि कुनै दलले अमेरिकामा राष्ट्रपति, सिनेट वा प्रतिनिधि सभा जस्ता संघीय चुनाव लड्न चाहन्छ भने यसले संघीय निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ । साथै, पार्टीले कोष जुटाउने र खर्च गर्ने पारदर्शी नियमहरू पनि पालना गर्नुपर्छ । अमेरिकामा सबैभन्दा ठुलो चुनौती भनेको मतपत्रमा पहुँच हो । अर्थात् चुनावी मतपत्रमा पार्टीको नाम राख्नु । यसका लागि प्रत्येक राज्यका फरक–फरक कानुनी नियमहरू छन् । धेरै राज्यहरूमा, हजारौँ वैध नागरिकहरूको हस्ताक्षर सङ्कलन गर्नु अनिवार्य छ । 

केही राज्यहरूमा गत चुनावमा निश्चित प्रतिशत मत प्राप्त गर्नुपर्ने अवस्था छ । पार्टी चलाउन, उम्मेदवारहरू उठाउन र प्रचार गर्न धेरै पैसा चाहिन्छ । यसका लागि, निजी दाताहरू र समर्थकहरूबाट कोष जुटाउनु पर्छ । 

साथै, खर्चको सीमा र अभियानमा पारदर्शिता कायम राख्न निर्वाचन आयोगको कडा नियमहरू पालना गर्नुपर्छ । यस बाहेक, राष्ट्रपति चुनाव अभियानको क्रममा टिभीमा हुने राष्ट्रिय बहसमा भाग लिन, उम्मेदवारले सर्वेक्षण सर्वेक्षणको आधारमा १५ प्रतिशत राष्ट्रिय समर्थन जुटाउनुपर्छ । एलोन मस्कसँग पैसाको कमी छैन । तर नयाँ पार्टी गठन गर्न र चुनाव लड्न उनको लागि सजिलो हुनेछैन । 

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप