शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘क्रिकेटको उर्वर भूमिमै पूर्वाधार र लगानीको खडेरी’

सोमबार, २३ असार २०८२, १० : ११
सोमबार, २३ असार २०८२

सारांश

  • सुदूरपश्चिमका खेलाडीले अन्डर-१६ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरे, जसले भविष्य उज्ज्वल देखाएको छ।
  • सुदूरपश्चिममा पूर्वाधार र लगानीको अभाव मुख्य चुनौती रहेको र सरकारको सहयोग आवश्यक छ।
  • राष्ट्रिय टिमका लागि ए र बी टिम बनाउनुपर्ने र खेलाडीलाई अवसर दिनुपर्ने कुरा उठाइएको छ।

धनगढी । नेपाली क्रिकेटले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटले पाएको सफलतामा सुदूरपश्चिम प्रदेशबाट उत्पादित खेलाडीहरूले पनि महत्त्वपूर्ण योगदान दिएका छन् । सुदूरपश्चिम प्रदेशले नेपाली क्रिकेटमा एकपछि अर्को प्रतिभावान् खेलाडी दिइरहेको छ ।

हालै एसीसी इस्ट जोन कपमा नेपालको १६ वर्षमुनिको (अन्डर–१६) टोलीले उपाधि जित्दा सुदूरपश्चिमका खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो । यही सन्दर्भमा सुदूरपश्चिममा क्रिकेटको अवस्था, चुनौती र सम्भावनाबारे सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरासँग सविता बुढाले गरेको कुराकानीको सम्पादित अंश–

  • सुदूरपश्चिमले क्रिकेटमा राम्रा खेलाडी उत्पादन गरिरहेको छ । तर पनि लगानी र पूर्वाधारका चुनौती छन् । समग्रमा अहिले क्रिकेटको अवस्था कस्तो देख्नुहुन्छ ?

म क्रिकेट क्षेत्रमा लागेको लगभग २८–३० वर्ष भइसक्यो । जिल्लाको नेतृत्व गरेर कैलाली जिल्ला क्रिकेट सङ्घको अध्यक्ष हुँदै अहिले प्रदेशको उपाध्यक्ष पदमा कार्यरत छु । नेपालको अन्डर–१६ टोलीले हालै इस्ट जोन कप जित्यो । यो नेपाली क्रिकेटका लागि निकै ठुलो र सुखद खबर हो । यसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ भन्ने सन्देश दिएको छ ।

सुदूरपश्चिम प्रदेश त राष्ट्रिय टोलीका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने नर्सरी नै हो, तर जति खुसी छौँ, त्यति नै चुनौती पनि छन् । हाम्रा खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्, तर उनीहरूले जुन अवस्थामा सङ्घर्ष गरेर यहाँसम्म पुगेका छन्, त्यो निकै कठिन छ ।

  • चुनौतीको कुरा गर्नुभयो, खासमा सुदूरपश्चिम क्रिकेटको मुख्य समस्या के हो ?

हाम्रो सबैभन्दा ठुलो र प्रमुख समस्या भनेको पूर्वाधारको अभाव हो । खेलाडी उत्पादन गर्ने र उनीहरूलाई अभ्यास गराउने स्तरीय मैदान नै सुदूरपश्चिममा छैन । तपाईँहरूले पनि देख्नुभएकै छ, हामीले कस्ता मैदानबाट खेलाडीहरू उत्पादन गरेर राष्ट्रिय स्तरसम्म पुर्‍याइरहेका छौँ । नेपाल क्रिकेट सङ्घ (क्यान), प्रदेश र स्थानीय पदाधिकारीहरूले आफ्नो ठाउँबाट सहयोग गरिरहनुभएको छ, तर यो पर्याप्त छैन ।

हामीलाई प्रदेश र केन्द्र सरकारको विशेष सहयोग चाहिन्छ । धनगढीको फाप्लामा एउटा राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने कुरा छ । यदि त्यो मैदान समयमै बन्यो भने हामीले अहिलेभन्दा पनि अझ धेरै र अब्बल खेलाडीहरू उत्पादन गर्न सक्छौँ । खेलाडीमा प्रतिभा र भविष्य छ, तर मैदान नहुँदा हामी पछाडि परिरहेका छौँ ।

  • नेपालको क्रिकेट विकासमा मुख्य बाधा के–के हुन् जस्तो लाग्छ ?

पहिलो बाधा नै पूर्वाधार (मैदान) हो । दोस्रो, आर्थिक अभाव हो । सरकारले क्रिकेटमा पर्याप्त लगानी गर्न सकेको छैन । प्रदेश सरकारहरूले पनि आफ्नो बजेटमा क्रिकेटलाई प्राथमिकता दिन सकेका छैनन् ।

अहिले क्यानले आईसीसीबाट आउने रकम र नेपाल टी–२० लिगजस्ता प्रतियोगिताबाट उठाएको केही पैसाले तल्लो स्तर (ग्रासरुट) मा लगानी गरिरहेको छ । केही निजी क्षेत्र र दाताहरूको सहयोग पनि छ, तर यो दिगो समाधान होइन । जबसम्म सरकारले नै केन्द्रीय बजेटमा क्रिकेटका लागि भनेर ठोस रकम छुट्ट्याउँदैन, तबसम्म पूर्वाधार र खेलाडी उत्पादनमा सोचेजस्तो प्रगति गर्न गाह्रो हुन्छ ।

  • सुदूरपश्चिमबाट धेरै खेलाडी राष्ट्रिय टिमको ढोका ढकढक्याइरहेका छन्, तर अवसर पाउन वर्षौँ कुर्नुपर्ने बाध्यता छ । खेलाडीहरूलाई अवसर दिन र प्रतिभा पहिचान गर्न सङ्घले के गरिरहेको छ ?

यो एकदमै गम्भीर विषय हो । हामी जिल्लास्तरमा प्रतियोगिताहरू गरेर खेलाडी छनोट गर्छौँ । जस्तै, बैतडी जिल्लामा मात्रै १०–१२ वटा क्लब छन् र सयौँ खेलाडी खेल्छन्, तर जिल्लाको टिममा १४ जना मात्रै अट्छन् । फेरि ९ वटा जिल्लाबाट आएका खेलाडीमध्ये प्रदेशको टिममा पनि १४ जना मात्रै छानिन्छन् । अन्त्यमा राष्ट्रिय टिममा पनि १४ जना नै पर्छन् ।

यसले गर्दा धेरै प्रतिभावान् खेलाडी अवसरबाट वञ्चित हुन्छन् । राम्रो खेल्दाखेल्दै पनि कोही छुट्न सक्छ । यसको समाधानका लागि राष्ट्रिय स्तरमा ‘ए’ र ‘बी’ टिम बनाउन सकिन्छ । यसले गर्दा धेरै खेलाडीले खेल्ने मौका पाउँछन् र उनीहरूको प्रतिभा खेर जाँदैन ।

  • हालै उपाधि जितेको अन्डर–१६ टोलीलाई अब कसरी अगाडि बढाउनुपर्छ जस्तो लाग्छ ?

यो टोली हाम्रो भविष्य हो । राज्यले उनीहरूलाई विशेष नजरमा राख्नुपर्छ । क्यानले उनीहरूलाई तुरुन्तै ‘कन्ट्रयाक्ट’मा ल्याउनुपर्छ । मासिक तलब वा भत्ताको व्यवस्था गरेर उनीहरूलाई क्रिकेटमै टिकाइराख्नुपर्छ । यसो गर्दा उनीहरू आर्थिक कारणले खेल छोड्न बाध्य हुँदैनन् । अहिले पनि हाम्रो प्रदेशका ५ जना खेलाडी (३ पुरुष र २ महिला) लाई क्यानले मासिक १५ हजार दिएर कन्ट्रयाक्टमा राखेको छ । यही मोडल अन्डर–१६ का खेलाडीहरूका लागि पनि लागु गर्नुपर्छ ।

  • क्रिकेटको विकासका लागि अब कसले के गर्नुपर्ला ? अवसर नपाएर पलायन हुने अवस्थामा रहेका खेलाडीहरूलाई के भन्नुहुन्छ ?

खेलाडीहरू पलायन नै भएका त छैनन्, तर कोही आर्मी, पुलिसजस्ता विभागीय टिममा गएका छन्, जुन राम्रो हो । तर, क्रिकेटमै भविष्य बनाउन चाहनेहरूका लागि राज्यले लगानी गर्नैपर्छ । राम्रो मैदान बनाइदिनुपर्छ । हामीले आफ्नो तर्फबाट खेलाडी उत्पादन गर्ने काम गरिरहेका छौँ र गरिरहने छौँ ।

खेलाडी भाइहरूलाई म के भन्न चाहन्छु भने हरेस नखानुहोस् । अवसर पाउन ढिला हुन सक्छ, तर मेहनत गर्दै जानुभयो भने एक दिन राष्ट्रिय टिममा खेल्ने मौका अवश्य पाउनुहुनेछ । हामी सबै मिलेर लाग्यौँ भने नेपाली क्रिकेटको भविष्य सुन्दर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप