शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

संविधान संशोधनका लागि काँग्रेसले कार्यदल गठन गर्ने, पूर्वराजा ज्ञानेन्द्रले मनाए जन्मदिन

मङ्गलबार, २४ असार २०८२, ०० : ००
मङ्गलबार, २४ असार २०८२

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

१. संविधान संशोधनका लागि कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

सत्तारुढ दल नेपाली काँग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । एक साता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

२. निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रले मनाए जन्मदिन

पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार निर्मल निवासमा आफ्नो जन्मदिन मनाएका छन् । सो अवसरमा उनलाई शुभकामना दिन राप्रपाका नेताहरूसहित सर्वसाधारण निर्मल निवासमा पुगेका थिए ।

३. स्पेन भ्रमणबारे के भने ओलीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । उनले भ्रमणका उपलब्धिबारे चर्चा गरे ।


४. त्रिवि उपकुलपतिका लागि तीन जना सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।

 

५. कुलिङ पिरियडबारे छानबिन गर्न समिति गठन

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ । ७ सदस्यीय संसदीय विशेष छानबिन समितिमा रहने सांसदहरूको नामसमेत टुङ्ग्याइएको छ ।

 

६. सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त 

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका तीनै जनालाई राष्ट्रपति पौडेलले न्यायाधीशमा नियुक्त गरेका हुन् ।

 

७. चार कम्पनीलाई एकै पटक राखियो कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक चार कम्पनी कालो सूचीमा राखेको छ । ती चारवटै कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, डीजी इगल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालि, शिवम् कन्स्ट्रक्सन र ग्रीन लिफ प्रालि छन् ।

८. २७ गते आउला त काठमाडौँको बजेट ?

काठमाडौँ महानगरपालिकाले अझै आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेको छैन । महानगरपालिकाको आन्तरिक कलहका कारण बजेट ल्याउन नसकेको हो । यद्यपि, पुराना विवाद तत्काल बिर्सिएर कार्यपालिका बोलाउने ‘फिक्स्ड’ भएको महानगर स्रोतले जनाएको छ । सोही अनुसार असार २७ गते बजेट ल्याउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

९.नागढुंगा–मुग्लिन सडक

सरकारले पूर्वाधार आयोजना समयमा सम्पन्न गर्न नसक्ने प्रवृत्तिको पछिल्लो उदाहरण बनेको छ, नागढुंगा–मुग्लिन सडक । संघीय राजधानी भित्रिने प्रमुख सडक निर्माणको गति कछुवाको चालमा छ । म्याद थप्नु सामान्य प्रक्रियाजस्तै भएको छ ।

१०. भिजिट भिसामा विदेश जाने नेपालीलाई हवाई टिकटमा नयाँ नियम

विदेश जाने नेपालीलाई हवाई टिकटमा नयाँ नियम लागु गरिएको छ । भिजिट भिसामा वैदेशिक यात्रामा जाने नेपाली नागरिकलाई नियमन गर्ने मापदण्डमा दुईतर्फी टिकट अनिवार्य गरिएको हो ।

११. आर्थिक चलखेलमा फेक डकुमेन्ट

फेक डकुमेन्ट बनाएर आर्थिक चलखेलमा धमाधम विदेश विद्यार्थी पठाउने कार्यमा चितवनस्थित ‘एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज’ नामक कन्सल्टेन्सी संलग्न भएको आरोप लागेको छ ।  आम्दानीको स्रोत, व्यवसाय दर्ता, बैंक स्टेटमेन्ट लगायतका फर्जी कागजात बनाउनेमा उक्त कन्सल्टेन्सीको नाम जोडिएको हो ।

१२. परिवारकै बलबुतामा चम्किँदै सुदूरपश्चिमका युवा क्रिकेटर

नेपाली क्रिकेटमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडी उल्लेख्य छन् । हालै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा पनि सुदूरपश्चिमेली तीन खेलाडीले नेपाली टिममा आफ्नो योगदान गरे ।

तर, यस्ता क्रिकेटरले राज्यबाट खासै प्रोत्साहन र सुविधा पाउन नसकेको गुनासो सरोकारवालाले गरेका छन् । यी खेलाडी आफ्नै परिवारको बलबुताबाट खेल जीवनमा संघर्षरत छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप