तीनकुने घटना : दुई जनालाई धरौटीमा छाड्दा न्यौपानेलाई किन थुनामा पठाइयो ?
सारांश
- काठमाडौं जिल्ला अदालतले राजावादी प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा सतीश न्यौपानेलाई थुनामा पठाएको छ।
- फरार रहेका सतीश न्यौपाने, विनञ्यजन थापा र राजेन्द्र जिसी अदालतमा उपस्थित भएका थिए, जसमध्ये थापा र जिसी धरौटीमा रिहा भए।
- न्यौपानेलाई पत्रकार सुरेश रजकको मृत्यु भएको घरमा आगजनी गरेको आरोपमा थुनामा पठाइएको हो।
काठमाडौँ । गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको छ ।
जसमध्ये प्रमुख आरोपी दुर्गा प्रसाईँसहित आठ जना यसअघि पुर्पक्षका लागि थुनामा रहेकोमा बुधबार थप एक जनालाई जिल्लाले थुनामा पठाउने आदेश गरेको छ ।
बुधबार फरार प्रतिवादीहरू सतीश न्यौपाने, विनञ्यजन थापा र राजेन्द्र जिसी अदालतमा उपस्थित भएका थिए । न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा बयान र थुनछेक बहसपछि थापा र जिसीलाई १५/१५ हजार रुपैयाँ धरौटी तिराएर पुर्पक्षका लागि थुनामुक्त गर्न आदेश भएको छ ।
न्यौपानेलाई भने थुनामा पठाउने आदेश भएसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन् ।
किन पठाइयो कारागार ?
धरौटीमा छुटेका थापा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ अभियानमा तथा जिसी शाही शक्ति सङ्गठनमा आबद्ध रही प्रदर्शन, लुटपाट र तोडफोडमा संलग्न रहेको दाबी गर्दै तयार प्रहरी प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो ।
यद्यपि दुवैले अदालतमा आफूहरू कुनै संस्थामा नरहेको र तीनकुनेको हिंसात्मक गतिविधिमा संलग्न नरहेको इन्कारी बयान दिएका छन् । इन्कारी बयान दिए पनि हाललाई कसुरदार हैनन् भनी मान्न नसकिने भन्दै अदालतले धरौटीमा पुर्पक्ष गर्न आदेश गरेको हो ।
यस्तै अर्का प्रतिवादी न्यौपानेलाई भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी पुर्पक्ष गर्न बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालयमा पठाउन आदेश भएको छ । उनी एटीएफको पूर्व अध्यक्ष र हालको केन्द्रीय सदस्य हुन् । उनलाई पत्रकार सुरेश रजक मृत फेला परेको घरमा आगजनी गरेको आरोपमा थुनामा पठाइएको हो ।
अदालतमा न्यौपानेले राजसंस्था पुनर्स्थापनाको लागि भनी राखिएको तीनकुने घटना कार्यक्रममा समर्थनको लागि गएको बयान गरेका थिए । उक्त आन्दोलनको अवस्थामा एभिन्यूज टेलिभिजनका पत्रकार अनिल रायमाझीले आफ्नो साथी तीनकुनेस्थित घरमा फसेको छ भनी भनेपछि आफू उद्धारका लागि त्यहाँ गएको दाबी न्यौपानेले गरेका थिए । तर उक्त घरभित्र आफूले कोही कसैलाई नदेखेपछि बाहिर निस्किएको उनले बताएका थिए ।
तर उक्त स्थानमा आगो लगाउने, ढुड्डा हान्ने, तोडफोड गर्ने कुनै कार्यमा संलग्न नरहेको दाबी गरेका थिए । इन्कारी बयान गरे पनि एटीएफको पूर्व अध्यक्ष रहेको र हाल केन्द्रीय सदस्य रहेको तथा तीनकुने स्थित आन्दोलनमा सरिक भएको तथ्यलाई स्वीकार गरेको आधार न्यौपानेलाई थुनामा पठाउन अदालतले लिएको छ ।
आपराधिक उपद्रव, तोडफोड र आगजनी लगायतको घटनामा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन गर्दा सिसिटिभी फुटेज र भिडिओ पेस गरेको थियो । ती भिडियोमा पनि पत्रकार सुरेश रजकको मृत्यु भएको घटनास्थल घर सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनको गेटमा ताला फोड्दै गरेको देखिएकाले पनि उनलाई थुनामा पठाउनुपर्ने ठहर अदालतले गरेको हो । ताला फोडेर माथिको तलासम्म गएको न्यौपाने आफैँले पनि स्वीकारेका छन् ।
रजकलाई उद्धार गर्न आफू गएको दाबी उनले गरे पनि रजकलाई देखेको वा भेटेको भन्ने बयानबाट खुलेको थिएन । उक्त घटनामा अभियोजन भएका दण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, सुशील बराल समेतका सह(अभियुक्तहरुले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा फौजमा आबद्ध गोकर्ण शाही, सतीश न्यौपाने, भिम भन्ने हेमराज थारु लगायतका व्यक्तिहरूले भुइँतलाको ताला फोडेर प्रवेश गरी आगजनी तोडफोड गरेको बताएका थिए । अन्य प्रतिवादीले समेत न्यौपानेको नाम पोलेकाले उनी कसुरमा संलग्न छैनन् भनी भन्न नसकिने पूर्णपाठमा उल्लेख गरिएको छ ।
उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान र सङ्गठित अपराध ऐन अन्तर्गतको कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । हाल प्राप्त प्रमाणबाट न्यौपाने कसुरदार हुन् भन्ने अवस्था देखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल थुनामा पठाउन आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण