बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाहीको पहल गरिने

बिहीबार, २६ असार २०८२, १२ : ५७
बिहीबार, २६ असार २०८२

सारांश

  • राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज गीतमा विकृति फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
  • संस्थाले अश्लील गीत र भिडियो बनाउने युट्युब च्यानल र व्यक्तिलाई कारबाहीको लागि पहल गर्ने जनाएको छ।
  • सञ्चारकर्मी नेपालले तीज पर्वको नाममा विकृति रोक्न सरोकारवाला निकायलाई अनुरोध गर्ने भएको छ।

काठमाडौँ । तीज गीतका नाममा विकृति र अश्लीलता फैलाउनेलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कारबाहीको पहल गर्ने भएको छ । सञ्चारकर्मी नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गीत सङ्गीत निकाल्ने र प्रयोग गर्ने युट्युब च्यानल लगायतलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

‘पवित्र नेपाली पर्वहरूमध्ये एक प्रमुख सांस्कृतिक पर्व तीज नजिकिँदै गर्दा विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीत–सङ्गीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ– ‘तीज मूलतः नारी सशक्तीकरण, धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक सम्मानको पर्व हो । यस पर्वको साङ्गीतिक प्रस्तुतिमा मौलिक लोक धुन, सन्देशमूलक भाव र समुचित भाषा– शैलीले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ ।’ 

पछिल्ला वर्षहरूमा केही स्वार्थ लोलुप कलाकार, युट्युबर तथा व्यावसायिक उत्पादन घरानाहरूले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादा विपरीत अश्लील र विकृत गीत–सङ्गीत उत्पादन तथा प्रसारण गरिरहेको कार्य  निन्दनीय भएको समेत सञ्चारकर्मी नेपालले ठहर गरेको छ । 

सञ्चारकर्मी नेपालले तीज पर्वको नाममा उत्पादन हुने कुनै पनि विकृति, कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन अनुरोध गर्दै आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेहरूलाई आवश्यक कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्युरो, कलाकार सङ्गठन लगायत सम्बन्धित निकायहरूमा औपचारिक अनुरोध गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

515222833_4040655629480711_4978404482087693008_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप