बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

अनुशासन समितिको कारबाहीले कांग्रेसमा तरङ्ग, नियमविपरीत रहेको दाबी

बिहीबार, २६ असार २०८२, १४ : ३०
बिहीबार, २६ असार २०८२

सारांश

  • नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीका २३ नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।
  • समितिको निर्णय पार्टी नियमावली विपरीत भएको भन्दै नेताहरूले आलोचना गरेका छन्।
  • कांग्रेसको इतर समूहले अनुशासन समितिको निर्णयलाई अस्वीकार गर्दै यसको प्रतिरोध गर्ने बताएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेपछि उक्त निर्णयको आलोचना भइरहेको छ । समितिले बुधबार पार्टी नियमावलीको नियम २८ को उपनियम (१) विपरीत पार्टीका २३ नेता कार्यकर्तालाई तीन महिनादेखि एक वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भन्दै आलोचना भएको हो । 

पार्टी नियमावलीको नियम २८ को उपनियम (१)मा ‘अनुशासन समितिले विधान र नियमावलीको अधीनमा रही उजुरी दर्ता भएको छ महिनाभित्र उजुरी उपर छानबिन गरी निर्णय गर्नेछ । यो नियमावली प्रारम्भ हुँदाका बखत अनुशासन समिति समक्ष विचाराधीन उजुरी उपर नियमावली प्रारम्भ भएको छ महिनाभित्र निर्णय गर्नु पर्नेछ,’ भन्ने वाक्यांश छ । 

तर, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना नेतृत्वको अनुशासन समितिले २०७९ मा भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै उजुरी परेको तीन वर्षपछि मात्रै कारबाही गर्ने निर्णय गरेपछि आलोचना भइरहेको छ ।

अनुशासन समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टी नियमावली विपरीत अनुशासन समितिले बहुमतले कारबाहीको निर्णय गरेको बताए । ‘नियमावलीअनुसार उजुरी परेको ६ महिनाभित्र समितिमा परेको उजुरी उपर छानबिन गरी निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, समितिले उजुरी परेको तीन वर्षमा बहुमतले निर्णय गरेको छ,’ गौतमले रातोपाटीसँग भने, ‘त्यसमा हाम्रो सहमति छैन । समितिको निर्णयमा लिखित असहमति दर्ज गरेका छौँ ।’

नियमावलीको नियम २८ मा पार्टी नेता कार्यकर्ताले कस्तो काम गरेमा उजुरी दिन सक्ने भन्ने व्यवस्था उल्लेख छ । ‘पार्टीको कुनै पनि सदस्य, पदाधिकारी वा निकायले विधान र नियमावलीको उल्लङ्घन गरी अनुशासन विपरीत काम गरेको अवस्थामा पार्टीका कुनै पनि सदस्य, पदाधिकारी वा निकायले उजुरी दिन सक्नेछ,’ नियम २८ मा लेखिएको छ । 

रातोपाटीलाई प्राप्त एउटा उजुरीमा मिति २०७९ लेखेर महिना र गते भने लेखिएको छैन । नवलपरासी (ब.सु.प.) निर्वाचन सम्बन्धमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरी, प्रदेशसभा सदस्य, लुम्बिनी प्रदेश र महासमिति सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवार लालबहादुर गुरुङले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाहीको माग राखेर उजुरी दिएका थिए । त्यो उजुरीको आधामा समितिले बुधबार खनाललाई साधारण सदस्यसमेत नरहने गरी एक वर्ष कारबाही गर्ने निर्णय गरेको छ । 

Nc Ujuri

समितिमा संस्थापनबाट संयोजक ढुङ्गानासहित केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने र ध्रुव वाग्ले छन् । इतर समूहबाट केन्द्रीय सदस्यहरू सञ्जय गौतम र राजीव कोइराला छन् । २३ नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णयमा इतर समूहका सदस्यहरू गौतम र कोइरालाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । गौतमले निर्णयमा आफूहरूले लिखित असहमति राखेको जानकारी दिए । 

ढुङ्गाना नेतृत्वको अनुशासन समितिले बुधबार २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो । ढुङ्गानाले विज्ञप्ति नै निकालेर त्यो जानकारी गराएका थिए । 

517073442_1301970387957212_2567957214244647041_n

कारबाहीमा प्रदेश महामन्त्री, जिल्ला सभापति र पूर्वमन्त्रीसमेत छन् । पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राईलाई र पूर्वमन्त्री तथा कास्कीका पार्टी महासमिति सदस्य कुमार खड्कासहितलाई एक वर्ष साधारण सदस्यसमेत नरहने गरी समितिले निलम्बन गरेको हो । 

कारबाही गरिएकाहरू पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार बनेकाका प्रस्तावक र समर्थक होइनन् । निर्वाचनमा सबैभन्दा पहिला पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाका प्रस्तावक र समर्थकलाई कारबाही गर्ने कांग्रेसको नीति भए पनि उनीहरूलाई निलम्बन नगरेर संस्थापन पक्षका नेताको उजुरीका आधारमा असहयोग गरियो भन्दै इतर समूहका नेता कार्यकर्तालाई कारबाहीको डण्डा चलाइएको हो । 

अनुशासन समितिका सदस्यसमेत रहेका इतर समूह नेता गौतम भन्छन्, ‘सबैभन्दा पहिला हाम्रो पाटीमा निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाका प्रस्तावक र समर्थकलाई कारबाही गर्ने परम्परा छ । अहिले प्रस्तावक र समर्थकलाई कारबाही गरिएको छैन । अन्य नेताहरूलाई छानीछानी असहयोग गरेको भन्दै स्वार्थका आधारमा कारबाहीको डण्डा चलाइएको छ ।’

इतर समूहका नेता डा. शेखर कोइरालाको आह्वानमा बिहीबार बिहान उनको सचिवालय विशालनगरमा बसेको बैठकले अनुशासन समितिले बुधबार पार्टी नियमावलीविपरीत गरेको कारबाही नमान्ने निर्णय गरेको छ । 

बैठकपछि डा. कोइरालाको सचिवालयबाट जारी सूचनामा लेखिएको छ, ‘कारबाही विधान विपरीत र एकतर्फी भएको । शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने । राजनीतिक रुपमा यसलाई सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने ।’ 

अनुशासन समिति संयोजक ढुङ्गानाले समितिले गर्नुपर्ने निर्णय गरेर कारबाही गरेको विधानअनुरूप छ कि विपरीत छ भन्ने हेर्ने विषय पत्रकारको भएको बताए । ढुङ्गानाले रातोपाटीसँग भने, ‘हामीले गर्नुपर्ने निर्णय गरेर कारबाही गरेका छौँ । विधान अनुरूप छ कि विपरीत भन्ने हेर्ने काम पत्रकारको हो । त्यो तपाईंहरू आफै हेर्नुस् ।’

संस्थापन पक्षीय अनुशासन समिति सदस्य ध्रुव वाग्लेले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्ने नियमावलीमा उल्लेख भए पनि त्यो भन्दा बढी समयपछि कारबाही गर्न नमिल्ने भन्ने उल्लेख नभएको बताए । ‘उजुरी परेको ६ महिनाभित्र कारबाही गर्ने उल्लेख छ । उजुरी परेको ६ महिनाभन्दा बढी समय भएपछि कारबाही गर्न मिल्दैन भनेर विधान नियमावली कतै लेखेको छैन,’ सदस्य वाग्लेले रातोपाटीसँग तर्क गरे, ‘विधानमा त पार्टीका आयोग र विभाग महाधिवेशन भएको ६ महिनाभित्र टुङ्गो लगाइसक्नुपर्ने भन्ने उल्लेख छ । तर, अहिले पनि विभागका प्रमुख र सदस्य नियुक्त भएर काम गर्न सुरु गरिरहेकै छन् त ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप