गण्डकीले सुधार्यो बजेट खर्च, तीन वर्ष यताकै उच्च
सारांश
- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७० प्रतिशत बजेट खर्च गरेको छ।
- अघिल्लो आर्थिक वर्षको तुलनामा यो खर्च ४ प्रतिशतले बढी हो, पुँजीगत खर्च ७६.७३ प्रतिशत पुगेको छ।
- ऊर्जा मन्त्रालयले सबैभन्दा धेरै ९० प्रतिशत बजेट खर्च गर्यो भने अर्थ मन्त्रालयले सबैभन्दा कम खर्च गर्यो।
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट खर्चमा सुधार गरेको छ । गण्डकीले विनियोजित बजेटको करिब ७० प्रतिशत खर्च गरेको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश सरकारले चालु वर्ष विनियोजित बजेटको ६९.५४ प्रतिशत रकम खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि कुल ३२ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा प्रदेश सरकार मातहतका विभिन्न कार्यालयले २२ अर्ब ९३ करोड रुपैयाँ खर्च गरेका छन् । यो खर्च प्रतिशत अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०८०/८१ मा सरकारको बजेट खर्च ६६.४३ प्रतिशतमा सीमित थियो । चालु आर्थिक वर्षको वित्तीय प्रगतिमा सबैभन्दा उल्लेखनीय पक्ष पुँजीगत (विकास) खर्चको अवस्था हो । सरकारले चालु खर्चभन्दा पुँजीगत खर्च बढी गर्न सफल भएको छ ।
तथ्यांकअनुसार कुल पुँजीगत खर्च ७६.७३ प्रतिशत छ भने चालु खर्च ६०.४३ प्रतिशत छ । सरकारले पुँजीगततर्फ विनियोजन गरेको १९ अर्ब ५४ करोडमध्ये १४ अर्ब ९९ करोड खर्च गरेको छ । यस्तै, चालुतर्फको १३ अर्ब १३ करोड बजेटमा ७ अर्ब ९३ करोडमात्र खर्च भएको छ ।
ऊर्जा अगाडि, अर्थ पछाडि
बजेट खर्चमा मन्त्रालयगत कार्यसम्पादन भने मिश्रित देखिएको छ । प्रतिशतका हिसाबले सबैभन्दा धेरै बजेट खर्च गर्नेमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय छ । उक्त मन्त्रालयले आफ्नो ४ अर्ब ३० करोडको बजेटमा करिब ९० प्रतिशत खर्च गरेको छ । त्यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ८१.७९ प्रतिशत खर्च गरेको आर्थिक मामिला मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिज्यालले जानकारी दिए ।
सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो १२ अर्ब ७१ करोड बजेटको ७७ प्रतिशत अर्थात् ९ अर्ब ७२ करोड खर्च गरेको छ, तर सबैभन्दा कम खर्च गर्नेमा स्वयं अर्थ मन्त्रालय नै देखिएको छ ।
अर्थ मन्त्रालयले आफ्नो १८ करोड ३९ लाख बजेटको जम्मा ४९ प्रतिशतमात्र खर्च गर्न सकेको छ । मुख्यमन्त्री कार्यालयको खर्च ५३ प्रतिशत रहँदा कृषि मन्त्रालयले ६८ प्रतिशत र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ७१ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश स्थापनापछि गण्डकीले ८ वटा बजेट कार्यान्वयन गरेको छ । हालसम्म सरकारले प्रतिशतका हिसाबले सबैभन्दा धेरै बजेट खर्च २०७७/०७८ मा गरेको छ । यो वर्षको खर्च प्रतिशत ७३.६३ थियो । त्यसपछिको वर्ष २०७८/०७९ मा बजेट खर्च प्रतिशत सामान्य घटेर ७३.५१ पुग्यो । आर्थिक वर्ष ०७९/०८० मा यो घटेर ६५.७६ मा झर्यो । आर्थिक वर्ष २०८०/८१ मा केही सुधार गर्दै ६६.४ प्रतिशत पुर्यायो । चालु वर्षमा अझै सुधारेर करिब ७० प्रतिशत खर्च पुगेको छ ।
प्रतिशत घटबढ भए पनि खर्च रकम उस्तै
प्रदेश सरकारले गर्ने बजेटको खर्च प्रतिशत बर्सेनि तलमाथि भैरहेको छ । तर खर्च भएको रकम अंकमा भने खासै फेरबदल देखिँदैन । तथ्यांक विश्लेषण गर्दा सरकारको खर्च हैसियत २२ अर्ब हाराहारीमात्रै छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा खर्च रकम २२ अर्बदेखि बढीमा २३ अर्बसम्म मात्रै छ । प्रतिशतमा उतारचढाव देखिए पनि खर्च रकम समान हुनुले सरकारको बजेट निर्माण प्रक्रियामा समेत प्रश्न तेर्स्याउँछ ।
४ वर्षको खर्च रकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण