बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कस्तो आयो काठमाडौँ महानगरको बजेट ? (सबै अपडेट एकैठाउँमा)
महानगरको बजेट

LIVE UPDATES : कस्तो आयो काठमाडौँ महानगरको बजेट ? (सबै अपडेट एकैठाउँमा)

आइतबार, २९ असार २०८२, १५ : ५३
Live

काठमाडौँ महानगरपालिकाले सहरी पूर्वाधारलाई उच्च प्राथमिकता दिएर बजेट ल्याएको छ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आइतबार नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।  

जसअनुसार उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।  

सामाजिक समावेशीकरणलाई टेवा पुर्‍याउने महानगरको लक्ष्य : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भएको छ । 

स्थानीय भाषा, संस्कृति तथा सम्पदाहरूको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु–याउने, बढ्दो बेरोजगार दरलाई न्यूनीकरण गर्न स्वदेशमै सीप तथा तालिम दिई स्वरोजगार बनाई बिदेसिने दर घटाउने जस्ता लक्ष्यहरू पनि लिएको छ । 

‘आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न उपलब्ध श्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिने, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने जस्ता विषयलाई जोड दिने छौँ,’ महानगर उपप्रमुख सुनिता डङ्गोलले भनिन् , ‘सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरू मार्फत योगदान, खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध  गराउने लक्ष्य लिएका छौँ ।’

यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ) :

काठमाडौँ महानगरपालिकाको आम्दानी १० अर्ब, खर्च १३ अर्ब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम मिति असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च भएको हो । 

यो खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । यो वर्ष महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । यो खर्च क्रमशः ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत बराबर हो । 

असार २७ गतेसम्म महानगरपालिकाले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।

उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।

महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । 

माफी माग्दै सुनिताले भनिन् ‘काठमाडौं महानगर फेरि एकढिक्का भएको छ’

उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् । 

काठमाडौँ महानगरको बजेट भाषण, LIVE

काठमाडौँ महानगरको बजेट भाषण

 

एक वर्षमा काठमाडौं महानगरपालिकाले गर्‍यो ५५ किलोमिटर कालोपत्रे

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ५५.४ किलोमिटर कालोपत्रे गरेको छ । 

काठमाडौं महानगरले आगामी आवको नीति कार्यक्रम ल्याउने क्रममा आज सार्वजनिक गरेको चालुको आर्थिक वर्षको प्रगति विवरणमा ५५ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ । 

यस्तै १०.३१ किलोमिटर सडक ढलान भएको छ भने १२.२५ किलोमिटर ढल निर्माण भएको छ । यस्तै महानगरले ४२.४७ किलोमिटर ब्लक छापेको छ ।

एक वर्षमा बालेनले निवारण गरे ४८ विवाद

काठमाडौं । काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ मा आएको विभिन्न विवादहरु निरुपण भएको छ । 

महानगरका मेयर बालेन्द्र शाह(बालेन)को इजलासमा आएको १३५ वटा विवाद मध्ये ४८ वटा निरुपण भएका छन् । 

यस्तै न्यायीक समितिको इजलासमा पेश भएको २८१ वटा विवादमध्ये ७७ वटाको मिलापत्र प्रमाणित भएको छ ।

काठमाडौं महानगरले 'सेफ फुड' अभियान चलाउने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले 'सेफ फुड' काठमाडौं अभियान चलाउने भएको छ ।

 आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले उपभोक्ताको हितको लागि सेफ फुड काठमाडौं अभियान चलाउने बताएका हुन् ।

१० तस्बिरमा हेर्नुहोस् काठमाडौँ महानगरपालिकाको नगर सभा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा आइतबार बसेको छ । 

नगर सभाबाट मेयर बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर सुनिता डंगोलले बजेट ल्याउने कार्यक्रम छ । 

महानगरमा भएको विवादका कारण ढिलागरी बजेट ल्याउने नगर सभा बैठक बसेको हो। 

बालनेले गुरागाईंलाई नगर सभामा पनि गरेनन्  सम्बोधन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ । 

आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा नीति तथा कार्यक्रम पढ्न सुरु गरेका हुन् ।

तर नगरसभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन् । 

काठमाडौँ महानगरको नगर सभा सुरु

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ ।

१७ औँ नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।

काठमाडौँ महानगर : बजेट नगरसभामा पेस गर्न कार्यपालिकाको सिफारिस

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्न निर्णय गरेको छ । आज २ बजे बस्ने नगर सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्‌लेले बताए । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्नेछिन् । 

महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ । 

काठमाडौँ महानगरपालिकाको बजेट आउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउँदै छ । आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । 

शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए ।  बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो । 

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ ।

महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे कार्यपालिका बैठक एक मिनेटमै सकिएकाे हाे ।

नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया