मन्त्री प्रकाशमान सिंहको एक वर्ष : बजेटमा मनोमानी, काम भन्दा भाषण बढी
सारांश
- सहरी विकासमन्त्री प्रकाशमान सिंहको एक वर्षे कार्यकाल कामभन्दा भाषणमा बढी बितेको आरोप लागेको छ।
- आगामी आर्थिक वर्षको बजेटमा गणेशमान सिंहको नाममा पूर्वाधार निर्माणका लागि ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
- मन्त्री सिंहले धरहरा सञ्चालनमा ल्याए पनि पूर्ण रूपमा निर्माण सम्पन्न गर्न नसकेको र अन्य योजनाहरूमा पनि ढिलाइ भएको बताइएको छ।
काठमाडौँ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको एक वर्षे कार्यकाल काम भन्दापनि भाषणमा बढी बितेको छ । अर्काेतर्फ आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट विनियोजन गर्दा मनपरी गरेको आरोप उनीमाथि छ ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आफ्ना बुबा तथा नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको नाममा स्मृति भवनदेखि विभिन्न पूर्वाधारहरू निर्माणका लागि ७८ करोड रुपैयाँ विनियोजन गरेका छन् । उनले सिंहको नाममा पार्क, स्मृति भवन, खानेपानी ट्यांकी, अध्ययन प्रतिष्ठान र सडक पूर्वाधार निर्माणसम्मका योजनाहरू पारेका हुन् ।
उनले उल्लेखनीय काम गर्न नसकेको सार्वजनिक रुपमै टिप्पणी हुँदै आएपनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भने राष्ट्रिय सहरी नीति पारित हुनु, धरहरा र भ्युटावर सञ्चालनमा आउनु, कीर्तिपुर क्रिकेट मैदान निर्माणले गति लिनु तथा रोकिएका अन्य ठुला आयोजनाहरू अघि बढ्नुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
मंसिर २८ गते मन्त्रिपरिषद्ले सहरी नीति स्वीकृत गरेको थियो । तर नीतिमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउन भने मन्त्री सिंहले कुनै पहल गरेको देखिँदैन ।
यस्तै धरहरा सञ्चालनमा आए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न गर्न नसक्नु उनको कमजोरी देखिन्छ । यस्तै सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद् भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन । साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भनिएको दमक भ्यु टावर अहिले जग्गा विवादमा परेको छ ।
उपत्यकाका नदी स्वच्छता, सार्वजनिक जग्गा संरक्षणको पहल गरेको विभिन्न सार्वजनिक कार्यक्रममा भाषणमार्फत दाबी गर्दै आए पनि कुने पहल भएको देखिँदैन ।
उपत्यकाका नदी प्रणाली सुधार्ने, कोरिडोर सडक स्तरोन्नति र विस्तार, नदी सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर ३ अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । तर काम भने भएको देखिँदैन । काठमाडौँ उपत्यकामा सामान्य वर्षा हुँदै डुबान हुने गरेको छ । यस्तो समस्या समाधानका लागि कुनै पहल भएको छैन ।
उपत्यकाका अतिक्रमित सार्वजनिक जग्गा संरक्षणका लागि काम अघि बढाएको मन्त्री सिंह दाबी गर्दै आएका छन् । तर अतिक्रमित जग्गा संरक्षणका कुनै काम भएको जानकारीमा आएको छैन ।
- के के भए काम ?
मन्त्री सिंहले पुरानै काम सम्पन्न भएकोमा आफ्नो उपलब्धि ठानेका छन् । धरहरा, दमस्थित व्यापारिक कम्प्लेक्स, अछामस्थित ऐतिहासिक दरबार निर्माण सकिनु ठुलो उपलब्धि मानेका हुन् । यस्तै सार्वजनिक जग्गा संरक्षणअन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटी प्लाजा गरी दुई वटा पार्क निर्माण सकिएको, चितवनको रत्ननगर, सुनसरीको लौकही सभाहल, नेपालगञ्जको सिटिहल स्थानीय तहलाई हस्तान्तरण गरिएको उनको एक वर्षका उपलब्धिहरूमा समावेश छन् ।
उपत्यकाका ४ स्थान जितपुरफेदी, डुकुछाप,इशान नयाँ शहरर ताथबी चलाबुमा सहरी विकास मन्त्रालयअन्तर्गत जग्गा एककीरण भएको मन्त्रालयको छ ।
यसैगरी नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका डिपिआर तयार भई वातावरण प्रभाव मूल्यांकन स्वीकृत भएको छ ।
सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडान कार्य, कुर्सी जडान भइरहेको छ । यो रंगशाला थप गरिएको म्यादभित्र सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीलाई जरिवाना तिराउँदै काम भएको छ ।
सहरी नीति स्वीकृत सहरी विकास विधेयकको मस्यौदा तयार भइसकेर अहिले सरोकारवालाहरूसँग परामर्शको क्रममा रहेको मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । त्यस्तै, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक,नगर विकास कोष सम्बन्धी विधेयक, बागमती सभ्यता सम्बन्धी विधेयक, वस्ती विकास सम्बन्धी विधेयक र ती विधेयकसँग सम्बन्धित नियमावली तयार भइरहेको छ ।
- आगामी लक्ष्य २६ स्थानमा पार्क बनाउने योजना
आगामी आर्थिक वर्षमा उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने योजना अघि सारेका छन् ।
यसैगरी २ सय वटा नयाँ झोलुङ्गे पुल,१ सय वटाको मर्मत गर्ने, ४० वटा नयाँ मोटरेबल पुल बनाउने, ३० वटाको मर्मत गर्ने योजना छ । यसैगरी २४९ वटा सिँचाइ आयोजना सम्पन्न गरी ३७ सय हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य राखिएको छ । १ सय किमी सडक निर्माण र २ सय किमी सडक कालोपत्रे गर्ने, ६० वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिनेछ ।
त्यस्तै, भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाइनेछ । उपत्यकाका नदी कोरिडोरमा १० किमी सडक स्तरोन्नति गर्ने,सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
उपत्यकाको व्यवस्थित शहरीकरणका लागि हरियाली प्रवर्द्धन, आकाशे पानी सङ्कलन, वन तथा पोखरी संरक्षण गर्ने योजना छ । टुकुचा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाउने, बल्खुदेखि गोकर्णसम्म सीसी क्यामरा र स्ट्रीटलाइट जडान गर्ने, धोवीखोला र विष्णुमती खोला कोरिडोरमा ढल प्रणाली सुदृढीकरण, सडक निर्माण, नदी नियन्त्रणको काम गर्ने योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण